पूर्वराष्ट्रपति भण्डारीद्वारा दुर्घटनाप्रति दुःख व्यक्त — OSNepal

पूर्वराष्ट्रपति भण्डारीद्वारा दुर्घटनाप्रति दुःख व्यक्त

LC (KTM) July 12, 2024 0

काठमाडौँ, २८ असार : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोका कारण निम्तिएको दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जालमार्फत नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा दुई यात्रुवाहक बसलाई पहिरोले बगाउँदा करिब पाँच दर्जन यात्रु बेपत्ता तथा कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी ११ जनाको मृत्युको घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो ।

“यस वर्षको मनसुन सुरु भएयता ओखलढुङ्गा, ताप्लेजुङ, अर्घाखाँची, मकवानपुर, दोलखा, काठमाडौँ, रसुवा, गोरखा, तनहुँ, रुकुम पश्चिम, बैतडीलगायत देशका विभिन्न स्थानमा भएका बाढी–पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु”, पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ । उहाँले बेपत्ता यात्रुको यथाशीघ्र खोजी तथा उद्धार एवं घाइतेको उपचारका साथै मनसुनजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि गरिने पूर्वतयारीका साथै राहत एवं उद्धारमा जुट्न आग्रह गर्नुभएको छ ।

“वैज्ञानिक–प्राविधिक अध्ययनका आधारमा जोखिम विश्लेषण गरी त्यस्तो स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना समावेश गर्न सम्बन्धित निकायको ध्यान आकृष्ट गर्दछु”, सन्देशमा उल्लेख छ । उहाँले बाढीपहिरो र डुबानजस्ता प्राकृतिक विपद्बाट सुरक्षित रहन र आवश्यक सतर्कता अपनाउन समेत सबैमा अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर