सक्छस् भने बलात्कारी लाई फाँसी दे सरकार, सक्दैनस् भने त्यसको तलको च्वाट्टै काटी दे



लेखिका : ज्वाला संग्रौला

कैलालीमा बोक्सीको आरोपमा एउटी अबोध किशोरी निर्घात कुटिँदा, पिटिँदा र लुछिँदा कहाँ लुकेका छन् त्यहाँबाट चुनाब जितेर डाँडामाथी उक्लिएका राजनैतिक छेपाराहरु? ठाउँठाँउमा पटक पटक किशोरीहरु बलात्कृत भैरहँदा कानमा तेल हालेर कुन कुनामा निदाएको छ हाम्रो ढोंगी समाज? छोरी चेलीहरु यसरी नै अनेक बहानामा परापुर्व कालदेखि नै थिलथिलो बनाइए तर हाम्रो समाजले यो कहिले सोचेन कि तिनै छोरी सृष्टिकर्ता हुन् , जन्मदाता हुन् र समाजको आधा अंश हुन्।

परम्पराले पनि तिनै छोरीलाई डस्ने, सँस्कारले पनि तिनै छोरीलाई रेट्ने, कहिले बलात्कारको शिकार त कहिले बोक्सीको आरोपमा लछारपछार, कहिले छाउपडी गोठको चिसो भुँईमै मर्नु पर्ने त कहिले दाईजो नल्याएकोमा पति र परिवारको झोंकमा जल्नु पर्ने..!!हाम्रा हजुरआमाहरुले ऊ बेला हजुरबुबाहरुको मृत्यु हुँदा जिँउदै चितामा जलेर पनि सहेकै हुन्, ८ बर्षको उमेरमा पराईको आँगन पनि लिपेकै हुन्, जे भन्यो त्यो खुरुखुरु मानेकै हुन्। तर अब त समय धेरै बदलियो, धेरै कुराहरुमा हाम्रो सोचपनि बदलियो, मोर्डनाईज्ड सोसाईटीको संरचना निर्माण भैसक्यो तर महिलाहरुलाई हेर्ने सोच भने जहाँको त्यहिँ रह्यो।

यहाँ परम्परा हरुले जितिरहँदा कति चेलिहरुका जीबनहरुले हारिरहे, बैंसले उन्मत्त भएका धन्दुकारी बोकाहरुले कति बालिकाहरुको भविष्य लुटेर बिजोग बनाईदिए,ताल परे बाउले नै छोरीलाई बलात्कार गरेर घाँटी थिचेका अनेकौ घटनाहरु हाम्रो आँखै अगाडि छन् तर पनि हामी मौन छौं।

आउनुहोस् अब यस्ता सामाजिक कुरीति, अन्याय र अत्याचारको खुलेर बिरोध गरौँ। महिलाहरुलाई बोक्सीको आरोप या त अरु नै अनेक बहानामा यातना दिएर पीड़ित बनाउने दानवीय सोच भएका मसानहरुलाई हदै सम्मको कारबाहीको माग गरौँ र सबैभन्दा महत्वपूर्ण कुरा त के भने यी बलात्कारी कालले लान बिर्सेर धर्तीमा अल्मलिरहेका डाँगाहरुलाई सकिन्छ भने फाँसीको फन्दामा घाँटी लट्काउने कानुन बनाउन संबिधान संसोधनको लागि सरकार समक्ष दबाब सृजना गरौं।

लु अब हामी सबै मिलेर एउटा पृथक र जनहितकारी बिचारको क्रान्ति गरौँ।एउटालाई मार्दा हजारौंको बाँच्न पाउँने अधिकार सुरक्षित हुन्छ भने मृत्युदण्ड कुनै पाप होईन मान्यवर।संबिधानले बलात्कारी र हत्यारालाई मृत्युदण्डको सजाय तोकिदियो मात्रै भनेपनि समाजमा 80 प्रतिशत अपराध त्यसै घटेर जान्छ।

सक्छस् भने बलात्कारी लाई फाँसी दे सरकार, सक्दैनस् भने त्यसको तलको च्वाट्टै काटी दे..! मैले पटक पटक यै बोल्या छु..! हजुरहरुले पनि यसरी नै बोल्नु पर्यो।एकदिन नारी दिवसका दिन ठाडो घाँटी ला’र कुर्लेर , आमाका नाममा गीत कबिता लेखेर मात्र पुग्दैन,पहिला एउटी छोरीले यो समाजमा सम्मानसाथ बर्षको ३६५ दिन नै आरामले बाँच्न पाउने बाताबरण बनाऔं त्यसपछि ठूला कुरा गर्दै गरौंला..!

Comment