नेपाली हवाई इतिहासकै सबैभन्दा ठूलो हवाई दुर्घटना ! किन बचाउन सकिएन धेरै यात्रु ?



त्रिभुवन विमानस्थलभित्र नेपाली हवाई इतिहासकै सबैभन्दा ठूलो हवाई दुर्घटना भएको छ । बंगलादेश नागरिक उड्डयन प्राधिकरणको नियमनभित्र पर्ने युएस–बंगला एयरलाइन्सको ‘बम्बाडिएर (डिएच८डी)’ जहाज दुर्घटना हुँदा ४९ जनाको निधन भएको छ ।

चालक दलका चार सदस्यसहित ७१ यात्रु सवार विमान दुर्घटनामा २२ घाइते भएका छन् । यसअघि विमानस्थलभित्र साना–ठूला हवाई दुर्घटना भए पनि यति ठूलो संख्यामा मानिसले पहिलोपटक ज्यान गुमाएको विमानस्थलका महाप्रबन्धक राजेन्द्रकुमार क्षेत्रीले जानकारी दिए ।

यसअघि विमानस्थलभित्रै २० फागुन २०७१ मा टर्किस एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । उक्त दुर्घटनामा कसैले पनि ज्यान गुमाउनुपरेको थिए । विमानस्थल आसपासमा चरा ठोक्किएर या अन्य कारणले फोर्स ल्यान्डिङ हुने गरे पनि इतिहासमै पहिलोपटक विमानस्थलभित्र धेरै मानिसले ज्यान गुमाएका हुन् ।

हवाई विज्ञ वीरेन्द्रबहादुर सिंहका अनुसार सन् १९९० यता विमानस्थलभित्र नेपाल एयरलाइन्सको एक ट्विनअटर जहाज दुर्घटना हुँदा पाइलटले ज्यान गुमाउनुबाहेक यात्रुले पहिलोपटक ज्यान गुमाउनुपरेको हो ।

किन बचाउन सकिएन धेरै यात्रु ?

विमानस्थलभित्रै भएको दुर्घटनामा पनि धेरै यात्रुले ज्यान गुमाए । सामान्यतया विमानस्थलभित्र आकस्मिक अवस्थामा उद्धारका लागि सबै उपकरण र जनशक्ति तयारी अवस्थामा हुन्छन् ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार चालकले इमर्जेन्सी घोषणा नगरेका कारण ‘ग्राउन्ड’मा रहेका दमकल र एम्बुलेन्सलाई तत्काल परिचालन गर्न सकिएन । जहाज दुर्घटनास्थलनजिकै नेपाली सेनाको उद्धार टोली रहेकाले दमकलले दुर्घटनालगत्तै आगो निभाउन थाले पनि एम्बुलेन्स भने करिब १० मिनेटपछि पुगेका थिए ।

Comment