यूएस-बांग्ला विमान दुर्घटनामा ४९ जनाको मृत्युको , ‘एक घर फर्किए, २१ को उपचार हुँदै’



यूएस-बांग्ला एअरलाइन्सको विमान सोमवार दुर्घटना हुँदा घाइते भएका एक जना उपचारपछि घर फर्किएका छन् भने अन्य २१ जनाको काठमाण्डूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन् । अस्पतालमा भर्ना भएका घाइतेमध्ये १० नेपाली, १० बांग्लादेशी र एक जना माल्दिभ्सका नागरिक भएको जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार छेत्रीले दिएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार दिनेश हुमागाईँ नाम गरेका नेपाली बाँसबारीस्थित न्यूरो अस्पतालबाट उपचारपछि घर फर्किएका छन् । बांग्लादेशको ढाकाबाट ६७ यात्रु र चार चालकदलका सदस्यसहित उडेको यूबीजी २११ बीएस २११ उडान नम्बरको उक्त विमान सोमवार अपराह्ण २:१८ बजे अवतरणका क्रममा धावनमार्गनजिकै रहेको खुल्ला चौरमा दुर्घटनाग्रस्त भएको थियो ।

उक्त विमानमा ३३ जना नेपाली, चालकदलका सदस्यसहित ३६ जना बांग्लादेशी, एक जना चिनियाँ र एक माल्दिभ्सका नागरिक सवार थिए । यसैबीच बांग्लादेशबाट घाइते तथा मृतक आफन्तहरू र एक मन्त्रीसम्मिलित उच्चस्तरीय टोली मङ्गलवार राजधानी आइपुगेका छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बांग्लादेशी टोलीले नेपाली पक्षसँग साँझ भेट्ने कार्यक्रम रहेको थियो ।

शिक्षण अस्पतालमा चार वटा टोली शवपरीक्षण र अन्य आवश्यक प्रक्रियामा संलग्न छन् । घटनामा परी मृत्यु भएकाहरूको शव परीक्षणका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ । अस्पतालका डा प्रमोद श्रेष्ठले मङ्गलवार ११ वटा शवहरूको परीक्षण गरिएको तर मृतकको पहिचान गर्न नसकिएको बताए । शवपरीक्षण र अन्य आवश्यक प्रक्रियाका लागि चार वटा टोली खटिएका छन् । शिक्षण अस्पतालमा मृतकका आफन्तहरू जम्मा भएका थिए ।
विधिविज्ञान परीक्षणका लागि मृतकहरूको औँठाछाप र दाँतको ढाँचाको पनि अध्ययन हुँदैछ । तर परीक्षण गरिएका ११ शवमध्ये नौ वटामा मात्र औँठाछाप सङ्कलन गर्न सकिएको छ । पूरै जलेका शव हेरेर मात्रै पहिचान गर्न नसकिने हुँदा डीएनए परीक्षण आवश्यक रहेको भन्दै त्यसपछि मात्र मृतकका आफन्तलाई हस्तान्तरण गर्न सकिने डा श्रेष्ठले बताए । उनका अनुसार सबै शवको परीक्षण र अन्य नमुना सङ्कन गर्न कम्तीमा थप तीन दिन लाग्न सक्छ ।

Comment