कास्की, १२ कात्तिक-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सहकारी अपचलनमा संलग्न जो कसैलाई कारवाही हुनुपर्ने र बचतकर्ताले आफूले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्ने बताउनुभएको छ ।
समाजवादी प्रेस संगठन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले, “दोषी कसैले उन्मुक्ति नपाउन्, निर्दोशी कोही पनि नफसुन् । राजनीतिक पूर्वाग्रहका आधारमा केही पनि काम हुनुहुँदैन । सरकारले बचतकर्ताको पैसा पाउने वातावरण बनाउनुपर्दछ ।”
एकीकृत समाजवादी पार्टीले अहिले अन्य कुनै पार्टीसँग पनि मिल्ने सोच नराखेको र स्थिति पनि नबनेको अध्यक्ष नेपालले बताउनुभयो । विचार मिल्ने शक्तिसँग मोर्चा बनाएर जान आफूहरू तयार रहेको उहाँले स्पष्ट पार्नुभयो । “विषयवस्तुमा सहकार्यमा गरेर अघि बढ्न तयार छौँ । अरु पार्टीसँग मिल्ने र एकता गर्ने स्थिति अहिले छैन,” नेपालले भन्नुभयो ।