पूर्वअर्थमन्त्री वर्षमान पुनको नेतृत्वमा रोल्पाको लिवाङदेखि जलजलासम्मको पदयात्रा — OSNepal

पूर्वअर्थमन्त्री वर्षमान पुनको नेतृत्वमा रोल्पाको लिवाङदेखि जलजलासम्मको पदयात्रा

LC (KTM) October 30, 2024 0

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तको नेतृत्वमा रोल्पाको लिवाङदेखि प्रसिद्ध पर्यटकीय स्थल जलजलासम्मको पदयात्रा सुरु गरिएको छ । उत्कृष्ट पर्यटकीय गन्तव्य जलजला क्षेत्रको प्रवद्र्धनका लागि ‘घुम्न जाऔँ जलजला’ भन्ने नारासहित आवासीय पदयात्रा सुरु गरिएको हो । सोमबार सदरमुकाम लिवाङबाट हिँडेको करिब ५० जनाको टोली सोही राति ओखरेनीमा बास बसेर मङ्गलबार अपराह्न जलजलाको टाकुरमा पुगेको छ ।

टोलीमा नेता पुनसहित पूर्वसभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुन, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र घर्ती थापासहित १० वटा पालिकाका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समिति रोल्पाकी प्रमुख सीता आचार्य, उपप्रमुख कर्मलाल परियार, प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भरत लामा, उद्योग वाणिज्य सङ्घ रोल्पाका अध्यक्ष केशव आचार्यसहित व्यवसायी, सञ्चारकर्मी, साहित्यकार, कलाकार सहभागी छन् ।

पदयात्राको व्यवस्थापन रोल्पा नगरपालिकाका साथै थवाङ र सुनछहरी गाउँपालिकाले गर्ने वर्षमान पुनको सचिवालयले जनाएको छ ।

पूर्वअर्थमन्त्री पुनले जलजलालाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तथा स्थानीय उत्पादन वृद्धि, बजार विस्तार र प्रचार–प्रसार गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको बताउनुभयो ।
आफूहरुको पहलमा सरकारले गत वर्ष जलजलालाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा समावेश गरेको भन्दै उहाँले स्वदेशी र विदेशी पर्यटकीय गन्तव्यका रुपमा जलजलालाई स्थापित गर्न आवश्यक पूर्वाधार निर्माणका कामहरु अघि बढिरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “सांस्कृतिक सम्पदाको सम्बद्र्धन, स्थानीय उत्पादन वृद्धि, बजार व्यवस्थापन र पर्यटकीय क्षेत्रका रुपमा जलजलाको विकासका लागि पदयात्राले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेको छु ।”
आज साँझ जलजलामा विशेष सांस्कृतिक साँझ आयोजना गरिएको छ । कार्यक्रममा गीत र नृत्य प्रस्तुतिका साथै कविता, गजल र हाइकु वाचन गरिएको छ ।

पदयात्राको पहिलो दिन सोमबार साँझ ओखरेनीमा पनि त्यस्तै कार्यक्रम भएको थियो । पदयात्रा बुधबार थबाङ पुगेर समापन हुने जनाइएको छ ।

जलजला पहाड समुन्द्र सतहबाट करिब तीन हजार छ सय मिटरको उचाइमा अवस्थित छ । जलजला थवाङ नगरपालिका, सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिकाको सङ्गमस्थलका रुपमा रहेको छ ।
जलजला पुग्नेलाई अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरी, नीलगिरि र पुथाजस्ता हिमालको मनोरम दृष्यले लोभ्याउने गरेको छ । यहाँबाट जिल्लाको अधिकांश भू–भाग देख्न सकिन्छ ।

जलजला लोपोन्मुख रेड पान्डाको बासस्थानका रुपमा पनि परिचित छ । जलजलामा चितुवा, भालु, बँदेल, हरिण, घोरल, थार र रतुवाजस्ता जङ्गली जनावरका साथै डाँफे, मुनाल, कालिज, प्यूरासहित सयौं प्रकारका चराचुरुङ्गी पाइन्छ । यस्तै १४ प्रजातिका लालीगुराँस फुलेर हिउँदमा जलजला दुलही झैं सिँगारिएको हुन्छ । लोपोन्मुख सेतो लालीगुराँस पनि यहाँ पाइन्छ ।जलजला पाँचऔले, जटामसी, चिराइतो, सुनगाभा, सुगन्धवाल, दालचिनी, सुनाखरी, पदमचाल, बोजो, कचुर, पुदिना, टिमुरजस्ता बहुमूल्य जडीबुटीको प्राकृतिक भण्डार पनि हो ।

कुल ४७ हेक्टर क्षेत्रफलमा फैलिएको जलजलामा घाँसे मैदान पनि छ । जलजलालाई यसअघि ‘गामा’ भनिन्थ्यो । मगर खाम भाषामा गामाको अर्थ ‘अग्लो लेकको बुकी पाटन’ भन्ने हुन्छ । आजभोलि ‘गोङ’ पनि भन्ने गरिएको छ ।

जलजलामा भामा गुफा र बराह मन्दिर आकर्षकका रुपमा छ । यहाँ बराहका तीनवटा मन्दिर छन् । ती मन्दिरलाई कैलु बराह, बजु बराह र सहदे बराहका नामले चिन्ने गरिएको छ । जसलाई बराहको उत्पत्तीस्थलसमेत मानिन्छ । मगर खामभाषाबाट जलजलालाई गोङ भनिन्छ ।

सल्यान, दाङ, प्यूठान, र सुर्खेत छिमेकी जिल्लाबाट मानिसहरु धार्मिक उद्देश्यले त्यहाँ पुग्ने गर्दछन् । वैशाख पूर्णिमा, जेठ पूर्णिमा र श्रावण पूर्णिमा गरी वर्षमा तीनपटक बराहमा मेला लाग्ने गर्दछ । मनोकाङ्क्षा पूरा हुने, परिवार शान्ति र सन्तान प्राप्ति हुने विश्वासमा ती मेलामा भेडा र कुखुराको बली दिने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर