स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नेपालको मौलिक विधिबाट चलेको वैद्यखानालाई सवै मिलेर जोगाउनुपर्ने बताउनुभएको छ । संहदरबार वैद्यखाना विकास समितिले धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसका साथै समितिको ३० औ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले निरन्तर घाटामा रहेको वैद्यखानालाई सवै मिलेर जोगाउनुपर्ने बताउनुभएको हो । उहाले १५० वटा औषधी उत्पादन गर्ने संस्थाले अहिले १४ वटा औषधीमात्रै उत्पादन गर्नु उचित नभएको धारणा राख्नुभयो ।
वैद्यखानामा कच्चा पदार्थ समयमा नै उपलव्ध गराउन नसक्ने ठेकेदार कम्पनीलाई चेतावनी दिने र काम गर्न नसके कारवाही गरेर नयाँ काम गर्ने व्यक्ति राख्नुपर्ने अवस्था आउन सक्ने उहाले बताउनुभयो ।
मन्त्री पौडेलले वैद्यखानालाई सहज रुपमा अघि बढाउन समिति गठन गर्नुपरे आफु तयार रहेको उल्लेख गर्नुभयो । उहाले संस्था आफैले कमाई नगर्ने हो भने निवृत भएपछि प्राप्त गर्ने सुविधा उपलव्ध गराउन नसक्ने स्पष्ट पार्नुभयो । बैद्यखानाले प्रयाप्त रुपमा औषधी उत्पादन गर्न सके आयुर्वेद औषधी आयात बन्द गर्ने उहाले बताउनुभयो ।