कारागार भवन भत्किएपछि सुरक्षा चुनौती बढ्यो — OSNepal

कारागार भवन भत्किएपछि सुरक्षा चुनौती बढ्यो

Kesh Karki (USA) August 04, 2021 0

जोमसोमस्थित जिल्ला कारागार मुस्ताङको भवनको पर्खाल बुधबार भत्किएको छ ।

अत्यधिक बर्षातका कारण जीर्ण अवस्थामा रहेका कारागार भवनको पर्खाल भत्किएपछि कैदीबन्दी र सुरक्षाकर्मीको व्यवस्थापन तथा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न समस्या भएको कारागारका निमित्त प्रमुख भुवन केसीले जानकारी दिनुभयो । कारागार भवनको तीनवटा कोठाको पर्खाल भत्किएपछि सुरक्षा चुनौती बढेको उहाँको भनाइ छ ।

“सुरक्षाकर्मीलाई वैकल्पिक दुईकोठे जस्ताले छाएको भवनमा व्यवस्थापन गरिएको छ”, उहाँले भन्नुभयो, “कैदीबन्दीलाई कहाँ लगेर राख्ने भन्ने विषयमा छलफल भइरहेको छ ।” जीर्ण अवस्थाको भवनका अन्य कोठामा पनि क्षति पुगेको छ । ढुङ्गा र माटोले बनेको एकतले नौ कोठे भवनको सख्खर माटोले छाएको छानो अत्यधिक बर्सातले चुहिएर पर्खाल चर्किएको थियो । दुई कोठामा कैदीबन्दी, छवटा कोठामा सुरक्षाकर्मी र एक कोठामा कारागार प्रमुखको निवास थियो । भवनमा प्रयोग भएका काठ मक्किएको, चुहिने र जीर्ण भएकाले अप्रिय घटनाको जोखिम छ ।

दश जना अटाउने क्षमता रहेको सो कारागारमा हाल ११ जना कैदीबन्दी छन् । यसअघि बढीमा २६ जनासम्म कैदी–बन्दी राखिएको थियो । २० जना सुरक्षाकर्मीको दरबन्दीमध्ये १० र सात जना प्रशासनिक कर्मचारीको दरबन्दी भएकोमा चार जना कार्यरत छन् ।

करिब चार रोपनी क्षेत्रफलमा फैलिएको तत्कालीन सहायक अञ्चलाधीशको निवास रहेको भवनमा विसं २०३७ मा कारागार राखिएको थियो । प्रजिअ श्रीनाथ पौडेलसहित सुरक्षा अधिकारी र जनप्रतिनिधिको टोलीले भत्किएको कारागार भवनको आज दिउँसो निरीक्षण गरेर कैदीबन्दीको व्यवस्थापनका लागि पहल थालेको छ ।

पछिल्लो समय मुस्ताङमा तापक्रम बढ्ने, अत्यधिक मात्रामा वर्षा र बेमौसममा हिमपात हुन थालेपछि माटोले बनेका परम्परागत पुराना घर चुहिने, भत्किने र जीर्ण बनेका छन् । कारागारको भौतिक संरचनाको जिर्ण र जोखिम अवस्थाका बारेमा पटक÷पटक ध्यानाकर्षण गराए पनि नयाँ भवन निर्माणका लागि चासो देखाएका छैनन् ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर