सनातन धर्मलाई जगेर्ना गर्न लागेका छौँः मुख्यमन्त्री शाह — OSNepal

सनातन धर्मलाई जगेर्ना गर्न लागेका छौँः मुख्यमन्त्री शाह

LC (KTM) March 06, 2025 0

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सनातन धर्मलाई जगेर्ना गर्ने सन्दर्भमा सबै लागेको बताउनुभएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजले धनगढीमा आयोजना गरेको ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ को उद्घाटन समारोहमा सुदूरपश्चिममा रहेका देव भूमिलाई सबैले चिन्नु र चिनाउनुपर्ने जरूरी रहेकोसमेत बताउनुभयो ।

मुख्यमन्त्री शाहले प्रदेश सरकारका तर्फबाट पनि धर्म, संस्कृतिको जगेर्ना, राम्रा परम्पराको रक्षा र बन्धुत्वलाई जोगाउने सन्दर्भमा कुनै कसर बाँकी नरहेन प्रतिबद्धता व्यक्त गर्नुभयो । यसमा प्रदेशवासी सबैको सहयोग र साथको अपेक्षा गरिएको उहाँको भनाइ थियो ।

“सुदूरपश्चिम प्रदेशमा भएका विभिन्न धार्मिक केन्द्र, धार्मिक क्षेत्रको संरक्षण र संवर्द्धन, हाम्रा परम्परा र असल मूल्य मान्यताको संरक्षणका लागि हामीले विभिन्न कार्यक्रम गरिरहेका छौँ । हाम्रा वैदिक सनातल धर्मलाई जगेर्ना गर्ने सन्दर्भमा सबैले एकजुट भएर लाग्नुपर्ने आवश्यकता छ”, मुख्यमन्त्री शाहले भन्नुभयो ।

आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेले भाषा, साहित्य, संस्कृति, पुरातत्व र वाङ्मयको क्षेत्रमा देशकै सर्वोच्च पुरस्कारका लागि अक्षयकोष स्थापना र सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको बताउनुभयो ।

उहाँले ऐतिहासिक विरासत बोकेको र विभिन्न शक्तिपीठहरूको पावन भूमी सुदूरपश्चिमेली समाजमा धर्म, संस्कृति र अध्यात्ममार्फत नवीन सन्देश दिन महायज्ञ सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको प्रमुख वाचिकाका रूपमा भागवत मञ्जरी पूज्या राधिका दासी रहनुभएको छ । उहाँबाट भावगत कथा वाचन हुने आयोजकले जनाएको छ । महायज्ञबाट साहित्य क्षेत्रमा अगाडि बढ्नु भएका व्यक्तित्वहरूलाई अझ बढी हौसला, प्रेरणा र आउने पिँढीले पनि यसबाट केही शिक्षा प्राप्त गर्ने दासीले बताउनुभयो ।

महायज्ञको उद्घाटन समारोहअघि आज बिहान मेची र महाकालीको जल मिसाएर गङ्गाजलसहित कलश यात्रा गरिएको थियो । महायज्ञमा दैनिक बिहान योग शिविर, विशिष्ट व्यक्तिहरूद्वारा विद्वत् प्रवचन, नित्यपूजा, दैनिक पाठपरायण, जपलगायत कार्यक्रम हुने छन् ।

यस्तै, प्रत्येक दिन दिउँसो दासीबाट कथा वाचन तथा प्रवचन हुनेछ । साँझ ७ देखि ९ बजेसम्म महात्म्य तथा सांस्कृतिक झाँकी, कविता, गजल, डेउडा र भजनकीर्तन हुनेछ । महायज्ञमा करिब रु ५० लाख खर्च हुने अनुमान गरिएको छ । महायज्ञ यही फागुन २७ गतेसम्म सञ्चालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर