कोशी प्रदेशसभामा विधेयक पारित — OSNepal

कोशी प्रदेशसभामा विधेयक पारित

LC (KTM) March 09, 2025 0

विराटनगर, २५ फागुनः कोशी प्रदेशसभामा आजको बैठकले ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ ।

उक्त विधेयकमा संशोधनका प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता नभएको र प्रदेशसभा सदस्यले दफावार छलफलमा पनि भाग नलिएपछि सो विधेयकलाई पारित गरियोस् भनी आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रस्ताव सदनमा पेस गर्नुभएको थियो ।

सो प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

विशेष समय

प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले सही ढङ्गले जनतालाई सेवा प्रवाह गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले सङ्घीय सरकारले दिने अनुदानमा भारी रकम कटौती भएकोमा प्रदेश सरकार आफ्ना अधिकार खोज्न असफल भएको बताउँदै पुँजीगत र चालु खर्चको फेहरिस्त हेर्दा प्रदेश सरकार निकै कमजोर अवस्थामा देखिएको टिप्पणी गर्नुभयो ।

नेता आङ्बोले राजनीतिक स्थिरता कायम गर्न, संविधान संशोधन गर्न र मुलुकको आर्थिक अवस्था सुधार गर्न बनेको दुई दलको गठबन्धन पनि आफ्ना काममा असफल भएको चर्चा गर्दै मुलुकको अर्थ सङ्कुचन भएकाले नै वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

विशेष समयमै नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले २०५९ साल फागुन २४ गते सङ्खुवासभामा मालपोत, कृषि विकास बैङ्क र नापी शाखामा तत्कालीन जनयुद्धमा रहेका माओवादीबाट भएका आगलागीका कारण बैङ्कमा धित्तोका रुपमा राखेको जनताका जग्गाका सबै प्रमाण जलेर खरानी भएको अवस्थामा अहिलेसम्म पनि पीडितहरुले जग्गा प्रमाणपत्र पुर्जा नपाउनु दुःखको कुरा हो भत्रुभयो ।

उहाँले ३० हजार हेक्टर जग्गाभन्दा बढीका प्रमाणपत्र जलेर खरानी हुनु र २०७६ सालबाट सुरु भएको नापीअनुसार छ हजार जग्गा मात्र नाप नक्सा हुनुले अझ २० वर्ष लाग्ने काम सुशासन होइन जिकिर गर्नुभयो । सम्पत्ति भएर पनि सम्पत्तिबाट बेदखल ती परिवारलाई जतिसक्दो चाँडो धनी प्रमाणपुर्जा दिन सरकारको सचेतक लिङ्थेपले ध्यानाकर्षण गराउनुभयो ।

शून्य समय
शून्य समयमा कोशी प्रदेशसभाका सदस्य गणेशप्रसाद उप्रेती, मीना श्रेष्ठ, किशोरचन्द्र दुलाल, राधाकृष्ण खनाल, गीतादेवी रेग्मी, सुनिताकुमारी गुरुङ, प्रेमराज थाम्सुङ र होमबहादुर थापाले प्रदेशका जल्दाबल्दा विषयमा बोल्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक यही फागुन २७ गते अपराह्न २ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर