काठमाडौं – निम्न वर्गीय परिवारको संघर्ष, सपना र यथार्थ समेटिएको टेलिश्रृंखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक गरिएको छ। मालिका मिडिया एण्ड रिसर्च प्रा.लि. द्वारा निर्माण गरिएको यो श्रृंखला बैशाख ५ गते शुक्रबार साँझ ६:१५ बजेदेखि मुकेश हमाल अफिसियल युट्युब च्यानलमार्फत नियमित रूपमा प्रसारण हुने भएको हो।
शृंखलामा गाउँबाट सहर पसेका आम नागरिकका कथा प्रस्तुत गरिएको छ। रोजगारीको खोजीमा सहर आएका मानिसहरूको संघर्ष, काम पाउँदा पनि उचित पारिश्रमिक नपाउनु, रहरले कहर निम्त्याएको यथार्थ– यिनै विषयवस्तुलाई कथा बनाएर श्रृंखला प्रस्तुत गरिएको छ।
श्रृंखलाको लेखन तथा निर्देशन मुकेश हमाल र अमृत काउचाले संयुक्त रूपमा गरेका छन्।
मुकेश हमाल ‘सकस’, ‘उल्टो सुल्टो’, ‘मेरी बासै’ जस्ता चर्चित टेलिश्रृंखलामा अभिनय गरिसकेका कलाकार हुन्। उनले सर्वनाम नाटक घरमा वि.सं. २०७४ सालमा नाट्य अभिनय सिकेका थिए।
अर्का निर्देशक अमृत काउचा रुपन्देहीका हुन् र सर्वनाम नाटक घरमा वि.सं. २०७३ मा अभिनय सीप आर्जन गरेका थिए। उनी लघु चलचित्र निर्माण र अभिनयमा समेत सक्रिय छन्।
करीब ३० मिनेट लामो ‘रहरहरु’ टेलिश्रृंखलामा कलाकारहरू मुकेश हमाल, भूमिका थारु, अमृत काउचा, विकास घलान, धिरज थापा मगर, सुदिश थापा मगर, नरेन भट्टराई, दीपक फुयाल र दीक्षा ठकुरीको अभिनय रहेको छ।
‘रहरहरु’ टेलिश्रृंखलाले सामाजिक यथार्थ, गरिबी र श्रमिक जीवनका चुला–चुलीका विषयहरूलाई समेट्दै दर्शकसँग आत्मीयता बनाउने अपेक्षा गरिएको छ।