काठमाडौं – “विषयगत कारणहरू वस्तुगत कारणभन्दा अघि बढ्दा जनमानसमा अन्योलता उत्पन्न हुन्छ,” भन्छन् सरोज जोशी। पूर्वराजाको पुनर्बहालीसम्बन्धी पछिल्लो आन्दोलन र नेपालका वर्तमान लोकतान्त्रिक गठबन्धन सरकारबारे व्यक्तिगत टिप्पणी गर्दै जोशीले वर्तमान अवस्थामा विषयगत कारणहरूले जनभावनालाई प्रभावित बनाएको तर्क गरेका छन्।
उनका अनुसार भारतको सत्तारूढ दलका केही नेताहरूले पूर्वराजाको पक्षमा अभिव्यक्ति दिनु, मिडियामा आएका रिपोर्टहरूसँग मेल खान्छ। तर, नेपालमा यसबाहेक पनि सरकारको अक्षमता, भ्रष्टाचार, रोजगारीको अभाव, वैदेशिक पलायन, औद्योगिकीकरणमा असफलता, जीडीपी वृद्धिमा शून्य प्रगति जस्ता कारणले जनतामा गहिरो असन्तुष्टि छ।
जोशी लेख्छन्, “सरकारले कुनै पनि न्यूनतम जनअपेक्षा पुरा गर्न सकेको छैन। फलस्वरूप जनतामा विकल्पको खोजी तीव्र गतिमा बढिरहेको छ। यस्तो अवस्थामा केही स्वदेशी र विदेशी शक्तिहरूले पूर्वराजाको नाममा आन्दोलनलाई प्रयोग गरिरहेको देखिन्छ।”
तर उनले प्रस्ट्याएका छन्, “इतिहासले देखाउँछ – क्रान्तिलाई उल्ट्याउनु असम्भव छ। आज १९६ राष्ट्रमध्ये अधिकांश गणतन्त्र छन्, केही अपवाद बाहेक। नेपाल सायद ती अपवादमा पर्दैन।”
उनको विश्लेषण अनुसार सशस्त्र निकाय, ठूला राजनीतिक दल, माओवादी पार्टी सबै संविधानअनुसारको लोकतान्त्रिक प्रणालीका पक्षमा छन्। त्यसैले केवल ‘राजा फर्काऊ’ भन्ने नारामा मात्र आन्दोलन सफल हुने सम्भावना छैन।
तर उनले अर्को प्रश्न उठाएका छन् – यदि अहिलेको व्यवस्था असफल हुन्छ भने त्यो खालको नयाँ शक्ति कहिले, कसरी उदाउँछ?
जोशी लेख्छन्, “यदि नयाँ शक्ति उदाउने हो भने त्यो उद्योगिकरण, गरिबी उन्मूलन, निःशुल्क शिक्षा, स्वास्थ्य, न्यूनतम जीवनस्तरका ग्यारेन्टीसहित ठोस एजेण्डा लिएर आउनुपर्ने हुन्छ। त्यो बेला मात्र सबै पुराना पार्टीका समर्थकहरू एकीकृत भएर नयाँ विकल्पको पक्षमा उभिन सक्छन्।”
उनको निष्कर्ष छ – अहिले पर्याप्त तथ्य र संकेतहरू छैनन् कि पूर्वराजा पुनःस्थापित हुनेछन्। तर समय र परिस्थिति अनुसार नयाँ नेता र शक्ति अवश्य उदाउनेछ।
– रिपोर्ट : नेपाल विशेष