प्रधानमन्त्रीको कार्यक्रम सुनसान : जनतामा बढ्दो असन्तोषको संकेत — OSNepal

प्रधानमन्त्रीको कार्यक्रम सुनसान : जनतामा बढ्दो असन्तोषको संकेत

Kesh Karki (USA) April 13, 2025 0

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेश सभा सम्बोधन गर्न त्यता पुगे। प्रदेश सभा सम्बोधनपछि उनी हेलिकप्टरबाटै सिराहा पुगे। त्यहाँ जनसभा राखिएको थियो। तर, त्यो जनसभा जनसभाजस्तो थिएन। प्रधानमन्त्री बोल्ने क्रममा एउटै मान्छेसमेत कार्यक्रममा सहभागी भएनन्।

जबकि उनको स्वागतका लागि भने मोटरसाइकल र्‍याली निकालिएको थियो। सिराहा कार्यक्रममा सहभागी हुनका निम्ति एमालेले प्रतिव्यक्ति एक हजार रुपैयाँ बाँड्नुका साथै मासु-भात खुवाएको बताइन्छ। पैसा पाउने भएपछि मानिसहरू कार्यक्रममा सहभागी त भए, तर मासु-भात खानेबित्तिकै घरतिर दौडिए।

प्रधानमन्त्री ओली स्टेजमा बोलिरहँदा कार्यक्रम स्थल भने सुनसान भइसकेको थियो। मधेशका जनता अशिक्षित छन् भन्ने गरिन्छ। यद्यपि, यो घटनाले मधेशका जनता धेरै शिक्षित रहेको स्पष्ट भएको छ। उनीहरूलाई राजनीतिक दलहरूले देश कहाँ पुर्‍याए भनेर थाहा भएकै कारण प्रधानमन्त्री ओलीको कार्यक्रम बहिष्कार गरेका हुन्।

राजनीतिक दलहरूले देशलाई कहाँ पुर्‍याए? हाम्रै आँखाअगाडि छर्लङ्ग छ। जनतामा निराशा बढ्दो छ। दल, नेताप्रति वितृष्णा, घृणा बढिरहेको छ। मधेशमा भएको यो घटना त सुरुआत मात्रै हो। देशभरका जनताले प्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरूलाई बहिष्कार गर्ने छन्। उनीहरूको कार्यक्रममा सहभागी हुने छैनन्।

ओली, देउवा, प्रचण्ड, नेपाल नेता होइनन्, दलाल हुन्। जुनसुकै पार्टी भए पनि आफ्नै स्वार्थमा रमाउने। कसैलाई देश र जनताको चिन्ता छैन। सत्तामा पुग्न पाइन्छ कि पाइँदैन? भ्रष्टाचार गर्न पाइन्छ कि पाइँदैन? भन्ने मात्र चिन्ता। अहिले जनताले बुझिसकेका छन् कि कुनै पनि दल र नेता असल, इमानदार छैनन्। नेता भनेको त्यागी हुनुपर्छ।

हामीकहाँ चाहिँ ठ्याक्कै उल्टो। लुट्न पाए वा राज्यको ढुकुटी दोहन गर्न पाए मख्ख। आखिर देश बचोस्, नबचोस् आफ्नो हात भने खाली हुनुभएन। यिनै नेता भनाउँदाहरूले नेपाली भूभाग चीन र भारतलाई बेचेर खाए। विदेशीसँग २७ खर्ब ऋण ल्याएर पचाए। जनताले तिरेको कर र विदेशबाट पठाएको रेमिट्यान्ससमेत स्वाहा पारिदिए।

सहकारीमा सोझासाझा जनताले राखेको खर्बौं रकम, निर्माण व्यवसायीको ४५ अर्ब, दूध र उखु किसानको सात अर्ब तथा कोरोना बीमाको २४ अर्ब रुपैयाँ पनि यिनीहरूले नै खाएका हुन्। यतिले मात्र कहाँ पुग्थ्यो र, देशभरका सरकारी, सार्वजनिक, गुठी, मठमन्दिर, तालतलैया, पोखरी आदिको जग्गा पनि पचाए। अहिले बजारमा व्यापक चर्चा छ, मधेशका जनताले प्रधानमन्त्री ओलीलाई बहिष्कार गरे। मधेशमा गरिबी छ, अशिक्षित धेरै छन्।

त्यहाँ मीटरब्याजजस्ता धेरै समस्या छन्। तैपनि उनीहरूले प्रधानमन्त्री ओलीको कार्यक्रम बहिष्कार गरे। हुन त यसको सुरुआत राजधानीबाट हुनुपर्ने थियो। किनकि काठमाडौं उपत्यकामा अन्य जिल्लाको तुलनामा धेरै शिक्षित व्यक्तिहरूको बसोबास छ। शिक्षित मानिसलाई देशको अवस्था राम्ररी थाहा हुन्छ।

त्यसैले, दलहरूको कार्यक्रम बहिष्कार उपत्यकाबाट हुनुपर्ने थियो। तर, उपत्यकामा बसोबास गर्ने शिक्षितहरूलाई किताबी ज्ञान मात्र थाहा भयो, व्यवहारिकता भएन। उनीहरू अझै पनि राजनीतिक दलको कार्यक्रममा सहभागी भइरहेका छन्। दलको कार्यक्रममा फूलमाला बोकेर पुग्छन्। जबकि देश र जनतालाई यो अवस्थामा पुर्‍याउने यिनै नेता हुन् भनेर छर्लङ्ग छ।

अब भनौं राजधानीका जनता शिक्षित कि मधेशका? त्यसो त दलहरूले आफ्नो कार्यक्रममा सहभागी हुन पैसा बाँड्ने गरेको आरोप लाग्दै आएको छ। थोरै पैसाको लोभमा मानिसहरू दलको कार्यक्रममा सहभागी भइरहेका छन्। देशमा बेरोजगारी छ। गरिबी छ। बिहान बेलुकाको टार टार्न सर्वसाधारणलाई धौधौ परेको छ।

यसैको फाइदा उठाएर दलहरूले सोझासाझा जनतालाई एक हजारदेखि दुई हजार रुपैयाँ दिई मासु-भात खुवाउने प्रलोभन देखाएर कार्यक्रममा ल्याउने गर्छन्। यद्यपि, अब भने जनताको आँखा खुल्न थालेको देखिन्छ। बरु उनीहरू पैसा फिर्ता दिन तयार हुन्छन् तर दलहरूको झुट्टा भाषण सुन्नेवाला छैनन्।

दलहरूको सदस्यता त्याग अभियान चलाउनुपर्छ। जनता लोभलालचमा नलागी पार्टीको सदस्यता त्याग्नुपर्छ। किनकि पार्टीभन्दा ठूलो देश हो। नेताहरूले देश बेचिसके। अनि हामी जनता अझै पनि लोभलालचमा फस्ने हो भने भविष्यमा ठूलो क्षति व्यहोर्नुपर्ने छ। श्रीलंका, बंगलादेशको अवस्था हामी सबैले देखिसकेका छौं। नेपाललाई यो हुनबाट जोगाऔं।

नेताहरूको कार्यक्रम बहिष्कार गरौं। दलहरूलाई बहिष्कार गरौं। यतिले पनि दलहरूमा चेतना नआए देशबाटै लखेट्न पनि जनता तयार हुनुपर्छ। किनकि देशभन्दा ठूलो अरू केही होइन। आज यही नेता भनाउँदाहरूले देश सिध्याए। हामी जनता चाहिँ अझै पनि पार्टी-पार्टी भनिरहेका छौं। सर्वसाधारणको आँखा खुल्न आवश्यक भइसकेको छ।

विदेशीसँग ऋण ल्याएर मोजमस्ती गरिरहेका छन्, दल र नेता। अहिले २७ खर्ब रहेको विदेशी ऋण दुई वर्षपछि ५२ खर्ब पुग्नेछ। व्यापारी कर छल्छन्। सरकार कारबाही गर्दैन। जबकि जनताले एक रुपैयाँ कर छलेमा पनि कारबाहीको भागीदार हुनुपर्छ। यहाँ सानालाई ऐन, ठूलालाई चैन भएको छ। त्यसैले, अब जनता सचेत हुनुपर्छ।

जनता सार्वभौम हुन्। जनताले चाहेमा जे पनि गर्न सक्छन्। मुलुकमा विभिन्न समयमा भएको राजनीतिक परिवर्तन जनताकै संघर्षबाट भएको हो। लोकतन्त्र र गणतन्त्र पनि १७ हजार नेपाली जनता शहीद बनेपछि स्थापित भएको हो। अहिले यही व्यवस्थामा दल र नेताहरू मोजमस्ती गरिरहेका छन्। जनताको रगत बगेर आएको व्यवस्थाले नेताहरूलाई आराम दिइरहेको छ।

यतिमात्र होइन, नेताहरूले लोकतन्त्र, गणतन्त्रको गलत फाइदा उठाए। जसका कारण आज देशै नरहने अवस्थामा आइपुगिसकेको छ। यदि बेलैमा फेरि जनता नतात्ने हो भने निकट भविष्यमा विश्वसामु नेपाल भन्ने देशसमेत नरहन सक्छ। भनिन्छ, अन्याय गर्नु तर अत्याचार नगर्नु। नेताहरूले देश विकास गर्ने नाममा जनताको रगत–पसिना चुसे।

त्यतिले नपुगेर देशै धितो राखेर विदेशीसँग ऋण लिए। विदेशी वा आन्तरिक ऋण तिर्न सरकारसँग आम्दानीको स्रोत छैन। कर्मचारी, जनप्रतिनिधिलाई तलब-भत्ता दिनैपर्छ। सामाजिक सुरक्षा भत्ता दिनैपर्छ। अहिले सरकारी साधारण खर्चसमेत सरकार विदेशीसँग ऋण लिएर धानिरहेको छ। विकास त परको कुरा हो, सरकारी खर्च पनि धान्न नसक्ने अवस्थामा सरकार छ।

यस्तो अवस्थामा नेताहरू भने देश विकास गर्छौं भन्दै जनतालाई भ्रममा पारिरहेका छन्। जनता झुट्टा भाषणको विश्वासमा पर्नुहुन्न। कार्यकर्ताबाट माथि उठ्नुपर्छ। पार्टी ठूलो कि देश? जनताले छुट्याउन सक्नुपर्छ। जनतामा चेतना आएको दिन नेताहरूको यो देशमा बास हुने छैन। मधेशबाट त यसको सुरुआत भइसकेको छ। अब अन्य जिल्लाका जनताले कहिलेदेखि गर्छन्? उनीहरूलाई देशको कति माया छ? हेर्न बाँकी छ।

– रुषा थापा, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर