वि.सं. २०२२ सालमा सुन प्रतितोला ८० रुपैयाँ थियो। २०८१ चैत २९ गते सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँ पुगेको छ। छ दशकको बीचमा सुनको मूल्य हजारौं गुणाले बढेको छ, जबकी सुनको तौल जति हो, त्यत्तिकै हो।
केही दिनअघि सुन तोलाको एक लाख ७८ हजार रुपैयाँ थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दर बढाएपछि सुन प्रतितोला एक लाख ७८ हजार रुपैयाँबाट घटेर एक लाख ७३ हजार रुपैयाँमा झरेको थियो।
सबैले भन्थे, अब सुन तोलाको एक लाख तल झर्छ। तर, अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई एक सय २५ प्रतिशत भन्सार लगाउँदै नेपालसहित अन्य देशलाई भने ९० दिनका निम्ति भन्सार हटाए। ट्रम्पले भन्सार स्थगित गर्नासाथ एक लाख ७३ हजारमा झरिसकेको सुन अहिले बढेर एक लाख ८५ हजार रुपैयाँमा पुगेको छ।
अहिले बजारमा हल्ला छ, सुन प्रतितोला दुई लाख रुपैयाँ नाघ्छ। तर, तीन महिनापछि ट्रम्पले पुनः भन्सार लगाउनासाथ सुनको मूल्य ह्वात्तै घट्नेछ। दुई लाखमा सुन किन्नेहरू चुलुम्मै हुनेछन्। त्यतिबेला एक लाख रुपैयाँ प्रतितोलामा समेत सुन बिक्दैन। सुनको मूल्य अन्तर्राष्ट्रिय मूल्यअनुसार निर्धारण हुन्छ। हामीकहाँ भने दलालको पछि लागेर सोचविचार नगरी लगानी गर्ने प्रवृत्ति कायमै छ।
दलालले जे जे भन्यो, त्यसमा विश्वास गर्छन् सर्वसाधारण। आफूसँग भएको सम्पूर्ण रकम दलालीको पछि लागेर लगानी गर्छन् अनि डुबेपछि आत्महत्या गर्नुबाहेक विकल्प रहँदैन। सुन त एउटा उदाहरण मात्रै हो। घरजग्गा, गाडी, सेयरजस्ता जोखिमपूर्ण क्षेत्रमा बिचौलिया, दलालीकै पछि लागेर आफ्नो भएभरको लगानी गर्दा मानिसहरू घर न घाटको अवस्थामा पुगेका छन्।
यद्यपि, अहिले पनि जनतामा चेतना आएको छैन। अझै पनि दलालीहरूको विश्वासमा परिरहेका छन्, फसिरहेका छन्। खै कहिले खुल्ने होला, सर्वसाधारणको आँखा? २०३२–३४ सालतिर काठमाडौं उपत्यकामै जग्गा रोपनीको एक हजार रुपैयाँमा समेत बिक्दैनथ्यो। उपत्यका त्यतिखेर खण्डहर थिएन, खेतबारी मात्रै थियो। घर कमै हुन्थ्यो।
घर भएपनि अहिलेजस्तो पक्की होइन, माटो र खरको हुन्थ्यो। पछिल्लो पाँच–छ दशकमा उपत्यका धेरै नै परिवर्तन भएको छ। अचेल माटोको घर कतै देखिँदैन। ठूलाठूला पक्की घर, त्यसमा पनि आकर्षक देखाउन सिसाको प्रयोग गरिएको हुन्छ। उपत्यका घरहरूको शहर बनेको छ। जता आँखा घुमाएपनि घर मात्र देखिन्छ। खाली जमिन देख्न मुस्किल परिसक्यो।
त्यसो त पाँच वर्षअघि उपत्यकामा आनाकै ६० लाखदेखि करोडौं मूल्यमा जग्गा बिक्री भएको पाइन्छ। एक रोपनी जग्गामा १६ आना हुन्छ। अनि पाँच–छ दशककै बीचमा जग्गाको मूल्य हजारौं गुणाले कसरी बढ्यो? जबकी न जग्गाको लम्बाइ बढेको छ, न चौडाइ नै। मानिसहरूले बुझेनन् कि यसको पछाडि दलालीको हात छ।
उल्टै जग्गाको मूल्य लगातार बढेको देखेर लगानी गर्न हानाथाप गरियो। अहिले त्यसैको परिणाम भोगिरहेका छन्। ०७८ सालमा आनाको ठाउँअनुसार ५० लाखदेखि १४ करोड रुपैयाँमा किनियो। त्यसयता घरजग्गामा आएको मन्दीका कारण चर्को मूल्यमा किन्नेहरू मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन्। त्यही जग्गा किनेको आधा मूल्यमा दिन्छु भन्दा समेत बिक्री भइरहेको छैन।
गाडी र सेयरमा पनि यही नै हो। बैंकले एक सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर दलालीले ३५ सयदेखि पाँच हजार रुपैयाँसम्म पुर्याए। छिमेकी मुलुक भारत र चीनले एक लाख रुपैयाँमा गाडी बेच्यो। नेपालका अटो शोरुमहरूले त्यही गाडी यहाँ २५ लाखदेखि करोडसम्ममा बेचे। घरजग्गा, गाडी र सेयरमा लगानी गर्नेमा व्यक्ति मात्र छैनन्, बैंक, वित्तीय संस्था पनि छन्।
सहकारी यही क्षेत्रमा लगानी गर्दा भाग्यो। बैंकको पनि यिनै तीन क्षेत्रमा लगानी रहेको प्रष्टै छ। त्यसैले, अब बैंक पनि टाट पल्टिने अवस्थामा पुग्नेछ। जलविद्युत् आयोजना तथा हाइड्रोपावर कम्पनीहरू लगातार घाटामा छन्। यस्तो अवस्थामा सेयरको मूल्य कसरी बढ्ला? तैपनि दलालीहरूले जनतालाई फसाइरहेका छन्। नेपाली कांग्रेसका नेता स्व. गणेशमान सिंहले भन्थे, “नेपाली जनता भेडा हुन्।”
यो तितो सत्य हो। साँच्चिकै हामी नेपाली भेडा नै रहेछौं। यो पुष्टि भइरहेको छ। फसिन्छ, डुबिन्छ भनेर थाहा हुँदाहुँदै जानीजानी त्यही लगानी गर्नुलाई बौद्धिकता भन्नु कि मूर्खता? आफैं विचार गरौं। ०७२ सालको महाभूकम्पले पुर्याएको जनधनको क्षति अझै पनि हाम्रो आँखा अगाडि छर्लङ्ग छ। त्यतिबेला ठूल्ठूला घर भूकम्पले ढलेको हाम्रा आँखाले देखे।
यति मात्र होइन, विभिन्न समयमा आएको बाढीपहिरोले ठूल्ठूला घर ढलेको अझै बिर्सन सकेका छैनौं। तैपनि, हामीले अग्ला घर बनाउन छोडेका छैनौं। भाडामा लगाउन ठूला घर बनाउने क्रम जारी छ। अनि भूकम्प आएपछि भाडा आउनु त परको कुरा हो, त्यही घर ढलेर किचेर मानिसको ज्यान जाने गर्छ। अर्को कुरा, पछिल्लो समय अधिकांश मानिस रोगको सिकार बनेका छन्। त्यसमा पनि उनीहरुकै गल्ती छ।
काम नगर्ने, बसिबसी खाने प्रवृत्तिका कारण अहिले मानिसलाई आफ्नै ज्यान बोझ भएको छ। घर बनाउने, भाडामा लगाउने अनि खाने। यही हो, पछिल्लो समय अधिकांश मानिसहरूको कामधन्दा। आफ्नै घरको कामसमेत गर्न सक्दैनन्, उनीहरू। जबकी पहिला गाउँमा हुँदा बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म मानिसहरू खेतबारीमै व्यस्त हुन्थे।
काम गर्थे। त्यति काम गरेर पनि मिठो होइन, स्वास्थ्यकर खाना खान्थे। तर, अहिले त मानिसहरू काम नगर्ने, अनि चिल्लो, तिरो, मिठो खानुपर्ने। जसका कारण सुगरदेखि प्रेसर, थाइराइडसम्मको समस्या देखिएको छ। जनता होस् या सरकार – अल्छी छन्। काम नगरी खानु मात्र पर्ने। सरकार भन्छ, रेमिट्यान्स बढ्यो, अर्थतन्त्रमा सुधार आयो।
अर्थतन्त्रमा सुधार आएको भए किन निर्माण व्यवसायी, दूध, उखु किसान र अस्पतालहरूको बक्यौता भुक्तानी नदिएको? विदेशी ऋण २७ खर्ब किन लिएको छ? यो स्पष्ट पारियोस्। सरकार जनतालाई भ्रममा पारेर सत्ता टिकाउने खेलमा मात्र सीमित छ। देश रहोस् नरहोस् तर सत्ता चाहिँ रहनुपर्यो। अहिले अर्थतन्त्र रेमिट्यान्सले धानिरहेको छ। नेपालीले विदेशमा रगत पसिना बगाएर काम गरी स्वदेशमा पैसा पठाइदिएको छ, त रेमिट्यान्स बढ्यो नि।
यदि विदेश गएका नेपालीहरूले पनि यहाँजस्तो अल्छी गरेर वा हात बाँधेर बस्ने हो भने कसरी रेमिट्यान्स बढ्छ? देशमा राजस्व उठ्न छोडिसकेको छ। सरकारलाई राजस्व उठाउनतर्फ कुनै चासो छैन। रेमिट्यान्सले नै देश धानिरहेको अवस्था छ। विदेशमा रहेका नेपालीले रेमिट्यान्स नपठाएको भए नेपाल पहिल्यै टाट पल्टिन्थ्यो। यहाँ जनता र सरकार नै ठीक छैनन्।
जनताको ध्यान एकअर्कालाई ठग्नतिर छ भने सरकार जनतालाई झुक्याउन। घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा जनता डुबिसके। तापनि अझै उनीहरूको आँखा खुलेको छैन। अब जनतामा चेतना आओस्। नत्र अहिले भएको धेरथोर सम्पत्तिसमेत गुमाउनुपर्ने छ। लगानी गर्नुपूर्व सोचविचार गरौं।
– रुषा थापा, भक्तपुर