काठमाडौं — गायिका तथा संगीतकार बबिना भट्टराईको नयाँ गजल ‘मन देखि गरेको माया कदर भएन’ सार्वजनिक भएको छ। चर्चित गजलकार सरोज ‘संगम’ रावलका शब्दमा आधारित गजललाई बबिनाले आफ्नै स्वर र संगीतमा सजाएकी छन्। उक्त गजलको भिडियो बबिनाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
भावनात्मक गजलमा प्रेममा समर्पण, अपेक्षा र विछोडपछि उत्पन्न हुने पीडादायी अनुभूतिहरूलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। ‘मन देखि गरेको माया कदर भएन, त्यसपछि त माया गर्ने रहर भएन’ जस्ता गहिरा शेरहरूले दर्शक तथा श्रोतालाई छुने भावपूर्ण सन्देश बोकेको छ।
गजलमा हारमोनियम र तबलाको संयोजन किरण कँडेलले गरेका छन् भने ढोलकमा सुनिल अर्याल, कीबोर्डमा उपेन्द्र लिम्बु, तबलामा दीपक सापकोटा र गिटारमा जय बी.के.ले साथ दिएका छन्। गजलको एरेञ्ज, ध्वनि सम्पादन तथा मास्टरिङ शम्भु कुमार तण्डुकारले प्रज्ञा स्टुडियोमा गरेका हुन्।
भिडियोको निर्देशन तथा छायांकन ए.जे. अजुले गरेका हुन् भने सम्पादन तथा कलर अनिल विष्ट प्युठानीले गरेका छन्। बबिना स्वयं स्टेजमा प्रस्तुत भई गजल गाइरहेको दृश्यलाई समेटिएको भिडियोले गजल महफिलको अनुभूति दिलाउने दर्शकहरूको प्रतिक्रिया प्राप्त भएको छ। भिडियोमा श्रृंगार पक्षको संयोजन यमुना पाण्डेले गरेकी छन्।
१६ वर्षभन्दा लामो संगीत यात्रामा बबिना भट्टराईले सुगम संगीतदेखि भक्तिमार्गसम्मका विविध गीतमा आफ्नो सशक्त उपस्थिति जनाउँदै आएकी छन्। उनले ‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी’ बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेकी थिइन्।
भक्तिमार्गमा समर्पित बबिनाका विभिन्न भजनहरू श्री भजन्स् नामक आध्यात्मिक युट्युब च्यानलमा उपलब्ध छन्। ‘जय जय शम्भु’, ‘मनमा बसाएर राम’, ‘हरे कृष्ण महामन्त्र’, ‘अच्युतम् केशवम्’, ‘हनुमान चालिसा’ लगायतका भजनहरू उनले हालसम्म सार्वजनिक गरिसकेकी छन्।
संगीतलाई आध्यात्मिक साधना र सांस्कृतिक सम्प्रेषणको माध्यम बनाउँदै अघि बढिरहेकी बबिना भट्टराईले आफ्ना आगामी भजनहरू पनि ‘श्री भजन्स्’ च्यानलमार्फत सार्वजनिक गर्ने जानकारी दिएकी छन्। व्यवसायिक गीतहरू भने उनका व्यक्तिगत युट्युब च्यानल Babina Bhattarai बाट सार्वजनिक भइरहेका छन्।
मनदेखि गरिएको साँचो मायाको अस्वीकार र त्यसपछिको भावनात्मक सङ्घर्ष प्रस्तुत गर्ने उक्त गजलले नेपाली सुगम संगीतमा अर्को गहिरो आयाम थपेको छ।