काठमाडौं, वैशाख ३ — दशरथ रंगशालामा सोमबार सम्पन्न नेल नेपाल सुपर लिग २०२५ अन्तर्गतको १९औं खेलमा पोखरा थन्डर्स एफसीले बुटवल लुम्बिनी एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै शानदार जित दर्ता गरेको छ। २ हजार ३५० दर्शकको उपस्थितिमा सम्पन्न खेलको पहिलो हाफको १०औं मिनेटमै आयुष घलानले आकर्षक गोल गर्दै पोखरालाई अग्रता दिलाए। दोस्रो हाफको ५९औं मिनेटमा विलियम बियासीले अर्को गोल थपेपछि पोखराको जित सुनिश्चित भयो।
उत्कृष्ट प्रदर्शनका लागि पोखराका आयुष घलान ‘प्लेयर अफ द म्याच’ घोषित भए भने बुटवल लुम्बिनी एफसीका मनिष डाँगी ‘एनर्जेटिक प्लेयर अफ द म्याच’ बने। पोखरा थन्डर्सका प्रमुख प्रशिक्षक सुमन श्रेष्ठको निर्देशनमा टिमले समन्वययुक्त र आक्रामक शैलीमा खेल प्रस्तुत गर्यो। उता, बुटवल लुम्बिनीले पनि केही अवसर सिर्जना गरे तापिनि गोल गर्न सकेन। वर्षायुक्त मौसमबीच ठूलो संख्यामा उपस्थित समर्थकको उत्साहजनक साथले खेलको रौनक थपिदिएको थियो।