चौथो नेपाल ग्रामीण चलचित्र महोत्सवमा अफिसियल सेलेक्शन भएका चलचित्रलाई प्रमाणपत्र वितरण — OSNepal

चौथो नेपाल ग्रामीण चलचित्र महोत्सवमा अफिसियल सेलेक्शन भएका चलचित्रलाई प्रमाणपत्र वितरण

Kesh Karki (USA) April 16, 2025 0

तस्विर : टंक केसी

काठमाडौँ। आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र भन्ने मूल नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा यही वैशाख ४ गतेदेखि ६ गतेसम्म हुने ‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’मा अफिसियल सेलेक्सन भएका चलचित्रलाई सर्टिफिकेट प्रदान गरिएको छ। नेपाल पर्यटन बोर्ड, काठमाडौँमा बुधवार प्री-इभेन्ट कार्यक्रम आयोजना गरेर प्रमाणपत्र प्रदान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी रहेका थिए। प्री-इभेन्ट कार्यक्रममा ग्रामीण चलचित्र महोत्सवको स्मारिका विमोचन पनि गरिएको थियो। कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, वरिष्ठ पत्रकार शान्तीप्रिय, चलचित्र पत्रकार संघ नेपालको उपाध्यक्ष कुवेर गिरि लगायत थुप्रै चलचित्रकर्मी तथा पत्रकारको उपस्थिति रहेको थियो।

यस महोत्सवमा गाउँको कथावस्तुमा आधारित चलचित्र समेटिएको सेलीब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए। नेपाल ग्रामीण चलचित्र महोत्सव विगत ४ वर्षदेखि नेपालको सिनेमा घर नभएका जिल्लाहरूमा गाउँले परिवेशमा निर्माण गरिएका शर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई सहभागी गराएर गाउँ–गाउँका दर्शकहरू सामु अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड समेत प्रदान गर्दै आएको उनले बताए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिसीले “नेपाल ग्रामीण चलचित्र महोत्सवको नाम नै विशेष रहेको र नेपाली सिनेमा हेर्न रुचि राख्ने दर्शकहरूलाई उनीहरूकै ठाउँमा पुगेर सिनेमा देखाउने भएकाले यो महोत्सवको विशेष महत्व रहेको” बताए।

पहिलो वर्ष गोरखाको लाप्राकमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा हजारौं दर्शकको उपस्थिति रहेको थियो। दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा कार्यक्रम सम्पन्न भएको थियो। तेस्रो वर्ष रामेछाप नगरपालिकामा कार्यक्रम गरिएको थियो भने यस पटक गोसाइँकुण्ड गाउँपालिका धुन्चे, रसुवामा गरिने सापकोटाले बताए। महोत्सवका संयोजक कमल एक्चै मगर रहेका छन्। महोत्सवमा चलचित्र निर्देशक ऋषि लामिछानेको संयोजकत्वमा जुरी समिति रहेको छ। जुरीमा रक्षा सिंह राणा र शैलेश श्रेष्ठ रहेका छन्। चौथो नेपाल ग्रामीण चलचित्र महोत्सवसँगै गोसाइँकुण्ड गाउँपालिका धुन्चे, रसुवामा गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता पनि सञ्चालन हुँदैछ। यस पटक महोत्सवको समापनमा सांगीतिक कार्यक्रम समेत हुनेछ।

चौथो नेपाल ग्रामीण चलचित्र महोत्सवमा छनोट भएका चलचित्रहरू:

फिचर फिल्म

  • बोक्सीको घर : सुलक्षण भारती
  • पुजार सार्की : दिनेश राउत
  • ज्वाईं साब : बसन्त निरौला
  • अन्जिला : मिलन चाम्स
  • द्रौपदी : ऋषिराज आचार्य
  • फिरफिरे फिरीरी : नविन भट्ट

शर्ट फिल्म

  • विजेता : दिनेश लामा
  • एक जोर जुत्ता : मोहन अभिलासी
  • घटेरो : पुरुषोत्तम बस्नेत
  • म कमरेड : निर्मल पौडेल
  • शल्यक्रिया : विवेक नगरी
  • मनको घर : राज गुरुङ
  • आमा : परिच्छेद सेन
  • देविया : शंकर धिताल
  • प्याकुली : नितिन चन्द
  • जुनेली : देवेन्द्र पाण्डे

डकुमेन्ट्री फिल्म

  • माता : अरुण कुमार प्रधान
  • माझी : शबिर श्रेष्ठ
  • गर्ल्स रि-राइटिङ डेस्टिनी : लव प्याकुरेल
  • गल्कोट : आकाश थापा मगर

भाषिक फिल्म

  • लोजिमा : सागर सुब्बा
  • आप्लेंग्ला लाम्सा : अजय स्याङ्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर