गठबन्धनको सरकारमा गाली एमालेलाई, फाइदा काँग्रेसलाई! — OSNepal

गठबन्धनको सरकारमा गाली एमालेलाई, फाइदा काँग्रेसलाई!

Kesh Karki (USA) April 16, 2025 0

अहिले मुलुकका दुई ठूला दल, नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धनमा सरकार रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । तर, सरकारमा दुवै दल सहभागी हुँदा पनि गाली भने एमालेले मात्रै खानु परेको छ । सर्वसाधारणले मात्र होइन, काँग्रेसका नेता–कार्यकर्ताले समेत दोष एमालेमाथि थुपारिरहेका छन् ।

सरकारमा दुवै पार्टीको समान सरोकार छ । काँग्रेसबाट पनि मन्त्रीहरू छन् । तर, सबैले निष्ठापूर्वक आफ्नो जिम्मेवारी पूरा नगर्दा वर्तमान सरकार असफल बनेको हो । काँग्रेसका नेता–कार्यकर्ताले एमालेमाथि हिलो छ्यापेर आफू पानीमाथिको ओभानो बन्न खोजिरहेका छन् । काँग्रेसका मन्त्रीहरू सरकारमा छन् भन्ने कुरा उनीहरूले बिर्सिएजस्तो देखिन्छ ।

अहिलेको सरकार बढी विवादमा परिरहेकोमा काँग्रेसको ठूलो भूमिका छ । पहिलो कुरा : काँग्रेसका मन्त्रीहरूले सिन्कोसमेत भाँचेका छैनन् । एकातिर सरकारप्रति वितृष्णा बढिरहेको छ भने अर्कातिर काँग्रेसबाट ऊर्जामन्त्री बनेका दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन आगोमा पेट्रोल थप्ने काम गरे ।

यस कदमले जनता झनै आक्रान्त बने । प्रधानमन्त्री ओली केही दिनअघि थाइल्याण्ड भ्रमणमा गएका थिए । त्यतिबेला कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी काँग्रेसका नेता तथा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको थियो । उनले मन्त्रिपरिषद्को बैठक बोलाएर शिक्षकहरूको माग सम्बोधन गर्नुपर्ने धारणा राखे ।

शिक्षकलाई सडकमा उतार्ने काँग्रेस र माओवादी भएको कुरामा दुईमत छैन । त्यसैले काँग्रेस र माओवादी शिक्षकको पक्षमा जोडतोडले आवाज उठाइरहेका छन् । काँग्रेस सरकारमा बसेर मह चाटिरहेको छ तर गाली भने एमालेले मात्र खाइरहेको छ । काँग्रेसले अहिले सरकारमा गएर फाइदा उठाइरहेको छ, साथै २०८४ को निर्वाचनका लागि आफ्नो अवरोध हटाउने रणनीति समेत बनाइरहेको छ ।

त्यसैले सरकारलाई अनावश्यक विवादमा फसाइरहेका छन् । कुलमानको अवकाश हुन केही महिना मात्र बाँकी थियो, तर काँग्रेसको दबाबमा परेर उनलाई हटाइयो । एकाध महिनामा घर जानुपर्ने व्यक्तिलाई हटाएर यत्रो गाली एमालेले खाइरहेको छ । एमालेका कार्यकर्ताहरू भन्छन् : कि ओलीले काँग्रेससँगको गठबन्धन तोड्नुपर्छ, कि संसद् विघटन गर्नुपर्छ, कि साना दलहरूसँग मिलेर सरकार गठन गर्नुपर्छ, नत्र सरकार छोड्नुपर्छ ।

खाने बेला बराबर, गाली खाने भने एउटैले मात्र किन ? महत्वपूर्ण मन्त्रालयहरू काँग्रेसकै कब्जामा छन्, तर ती मन्त्रीहरू सरकारलाई असफल बनाउने काममा लागेका स्पष्ट देखिन्छ । ओलीले अहिले कुनै कदम नचाले भने २०८४ को चुनावमा एमाले ‘जिरो’ बन्ने खतरा छ । दिउँसो टुकी बालेर खोज्नुपर्ने अवस्था आउन सक्छ ।

अहिले एमाले सबैको निशानामा परेको छ । एमालेमाथि काम गर्न नसकेको आरोप लागिसकेको छ । सबैले एमालेलाई गाली गरिरहँदा काँग्रेस त्यसबाट अछुतो छैन भन्ने कुरा बिर्सिएको छ । यसरी काँग्रेसले फाइदा उठाइरहेको छ । काँग्रेसले बोल्नै नपरी भित्रभित्रै खेल खेलिरहेको छ तर ओलीले त्यो बुझ्न सकेका छैनन् ।

माओवादी ‘मौकामा चौका’ हान्ने पार्टी हो । माओवादीलाई कसरी सत्तामा जान पाइन्छ ? कसरी भ्रष्टाचार गर्न पाइन्छ ? भन्ने मात्र चासो छ । कहिले काँग्रेससँग त कहिले एमालेसँग मिलेर सत्तामा जान खोज्छ । २०६४ सालमा १२० सिट प्रत्यक्ष जितेको माओवादी २०७९ मा आइपुग्दा ३२ सिटमा सीमित भएको छ ।

अझै पनि आफूहरू देश र जनताको लागि काम गर्न आएका हौं भन्ने भनाइ गर्छन् । माओवादी सत्ता बिना ‘पानी बिना माछा’ जस्तै हो । यदि माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग राजनीति र कूटनीतिक क्षमता भएको भए आज माओवादीको यस्तो हालत हुने थिएन । जनताको नजरमा माओवादी नाङ्गिएको छ ।

तर प्रचण्डले अहिले पनि के कारणले जनताले हामीलाई विश्वास गरेनन् ? हाम्रो गल्ती कहाँ भयो ? भन्ने कुरा खोज्न चाहँदैनन् । उनलाई आफन्तलाई पद बाँड्नमै भ्याइ नभ्याइ छ । नातावाद र कृपावादमा फँस्दा माओवादी अस्तित्व संकटमा परेको छ । ओलीले पछिल्लो समय जुनसुकै कार्यक्रममा एउटै कुरा दोहोर्याउँछन्, ‘मेरो समयावधि यति महिना छ, त्यसपछि म प्रधानमन्त्री पद छोड्छु ।’

तर त्यतिबेलासम्म एमाले नै नरहने हो कि भन्ने डर छ । काँग्रेसले एमालेलाई विफल बनाउने रणनीति बनाइसकेको देखिन्छ, तर ओली तमासा हेरिरहेका छन् । अहिले व्यापक रूपमा ‘केपी चोर, देश छोड’ भन्ने नाराहरू उठिरहेका छन्, तर ओलीले यसलाई हल्का रूपमा लिएका छन् । २०४८ सालयता हेर्ने हो भने दुई दलमध्ये एक सत्तापक्ष र अर्को प्रतिपक्षमा रहन्थे ।

दुई पार्टीको गठबन्धन सरकार पहिलो पटक बनेको हो । त्यसै पहिलोपटकमै काँग्रेस एमालेमाथि हाबी भएको देखिन्छ । विगतको बदला काँग्रेसले अहिले लिइरहेको छ, तर ओलीले त्यो बुझेनन् । अहिले पनि उखान–टुक्का भनेर जादु चलाउने विश्वासमा छन् । तर काँग्रेसको रणनीतिको अगाडि उनको कुनै जादु चलेको छैन ।

ओली प्रधानमन्त्री बनेको १० महिना भइसकेको छ । त्यसअघि प्रचण्ड प्रधानमन्त्री थिए । प्रचण्ड नेतृत्वको सरकारमा पनि काँग्रेस सहभागी थियो । चुनावताका भने काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए । सबै पालैपालो प्रधानमन्त्री बने, तर अहिले काँग्रेस र माओवादी देश बिगारेकै एमालेले हो भन्ने भ्रम फैलाइरहेका छन् ।

तर, ओलीले त्यो भ्रम चिर्न सकेनन् । देश बिगार्न तीनवटै पार्टीको भूमिका छ, तर दोष भने एउटाले मात्र खेपिरहेको छ । काँग्रेस, एमाले, रास्वपा, राप्रपा सबै एमालेलाई कमजोर बनाउने प्रयासमा छन् । रवि लामिछानेलाई आफूलाई सहकारी ठगीको आरोपमा समातेको रिस छ । एमालेले उनलाई दोषी भनेको होइन ।

गल्ती आफैंले गर्ने, अनि अरूमाथि रिस साँध्ने ? राप्रपाका सांसदहरू सदनमा छन्, लोकतन्त्र मान्ने भनेर आएका तर अहिले राजा चाहियो भन्ने आवाज उठाइरहेका छन् । सदन के राजा माग्ने थलो हो ? एमाले ओलीको मात्र पार्टी होइन । यो पार्टी बन्ने क्रममा मनमोहन अधिकारी, मदन भण्डारीदेखि जनतासम्मको योगदान छ ।

तर ओलीका कारण सबैको योगदान ‘वालुवामा पानी’ हुने भयो । बुढापाकाले भन्थे, ‘भुक्ने कुकुरले टोक्दैन, नभुक्नेले टोक्छ ।’ काँग्रेस नेतृ तथा वर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि भुटानी शरणार्थी प्रकरणको आरोप लागेको थियो । आफ्नी श्रीमती पर्ने डरले देउवा हतारहतार बालकोट पुगेका थिए ।

अब ओलीले आरजुमाथि छानबिन गर्न लगाउनुपर्छ । बरु गठबन्धन टुटोस्, तर गल्ती गर्नेले सजाय पाउनै पर्छ । यस्तो कदमले एमालेको बिग्रेको छवि केही हदसम्म सुध्रिन सक्छ । काँग्रेसले चुपचाप बसेर एमालेलाई सकाइसकेको छ । देउवाले आफ्नी श्रीमती जोगाए, सरकारमा बसेर फाइदा उठाए, एमालेलाई पनि पन्छाए ।

उनले कहाँसम्मको रणनीति बनाएका रहेछन्, बल्ल बुझिँदैछ । ओली र एमालेका नेताहरू अझै टुलुटुलु हेरेर बसे भने अब एमाले नै रहने छैन । एमाले काँग्रेसलाई बुझाएर छोडे हुन्छ । माओवादी पत्तासाफ बनाएको प्रचण्ड हो । कहिले काँग्रेस, कहिले एमालेसँग मिलेर पार्टी बुझाउँदा यस्तो दुर्दशा भएको हो ।

ओली र एमालेका नेताहरू ‘गर कि मर’को अवस्थामा छन् । अहिले कुनै ठोस कदम नचालिए भने एमाले काँग्रेसमा विलीन हुने खतरा छ । ओलीले प्रचण्डलाई सरकारमा बोलाए भने उनी आइहाल्छन् । प्रचण्ड आएपछि माधव नेपाल पनि आउँछन् । त्यसपछि मधेसी दल पनि साथ दिन सक्छन् । त्यसैले ओलीलाई काँग्रेसको गुलामी गरिरहन आवश्यक छैन ।

– अनुसा थापा

भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर