चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक, भुटानी शरणार्थीको मार्मिक कथा उठान — OSNepal

चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक, भुटानी शरणार्थीको मार्मिक कथा उठान

Kesh Karki (USA) April 16, 2025 0

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा निर्माण टिमले तीन मिनेट लामो ट्रेलर सार्वजनिक गर्दै चलचित्रको कथा र मर्म दर्शकमाझ प्रस्तुत गर्‍यो।

सामाजिक कथावस्तुमा आधारित यो चलचित्र भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीहरूको जीवन संघर्ष र भावनात्मक कथा प्रस्तुत गर्छ। ट्रेलरमा वृद्धावस्थामा पुगेका एक पात्रले जीवनको उत्तरार्धमा अमेरिका छाडेर पुनः भुटान फर्किन खोजेको संघर्षपूर्ण प्रयास देखाइएको छ। जन्मभूमिप्रति गहिरो प्रेम, संस्कारको टकराव, र परदेशी भूमिमा भौतिक सुख भए पनि सांस्कृतिक असन्तुलनले पार्ने प्रभाव चलचित्रको मूल सन्देश हो।

चलचित्रको अंग्रेजी शीर्षक ‘The World’s Happiest Man’ रहेको छ। यसमा वरिष्ठ कलाकार हरिवंश आचार्य प्रमुख भूमिकामा देखिँदा, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, र विमल सुवेदी लगायतका कलाकारको पनि अभिनय छ।

साथै, हलिउड अभिनेता बु्रस डर्नले विशेष भूमिका निर्वाह गरेका छन् भने हलिउडका प्राविधिक टोलीको सहकार्यमा तयार भएको यो पहिलो नेपाली चलचित्र पनि हो।

‘बुलबुल’ फिल्मबाट चर्चा कमाएका निर्देशक विनोद पौडेलको निर्देशनमा तयार भएको ‘भूठान’ वैशाख १२ गते प्रदर्शनमा आउँदैछ। चलचित्रको निर्माण अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी, र किर्तना बाँस्कोटाले गरेका हुन्। कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ रहेका छन्।

चलचित्रको छायांकन सुसन प्रजापतिले गरेका छन् भने सम्पादन अन्जय खड्काले गरेका हुन्। डिकेश खड्गी शाहीको ध्वनी, समवरण केमको संगीत, उज्जवल श्रेष्ठको पब्लिसिटी डिजाइन र अन्जन गजुरेलको कला निर्देशन रहेको छ।

नेपालको अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्म्सको सहकार्यमा ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, र एभरेष्ट इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्र ‘भूठान’ले भुटानी शरणार्थीहरूको मर्मस्पर्शी कथालाई पर्दामा उतार्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर