काठमाडौँ — खानेपानी मन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव प्रदीप यादवले वीरगञ्जमा पछिल्ला दिनमा देखिएको साम्प्रदायिक तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्ति र सामाजिक सद्भाव कायम राख्न सबै नागरिकमा अपिल गर्नुभएको छ।
मन्त्री यादवले मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै वीरगञ्जको ऐतिहासिक र सांस्कृतिक पहिचानमा आँच आउने कुनै पनि गतिविधिको विरुद्धमा उभिनु आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले वीरगञ्जलाई “सामाजिक सांस्कृतिक सामञ्जस्य र धार्मिक सहिष्णुताको प्रतीक शहर” भन्दै यहाँका बासिन्दाहरूले एकअर्काको पर्व–उत्सवहरूमा मिलिजुली सहभागिता जनाउने गौरवशाली परम्परा रहेको स्मरण गराउनुभयो।
उहाँले भन्नुभयो, “वीरगञ्ज सबैको साझा फुलवारी हो। यहाँ शान्ति, सद्भाव र मेल–मिलाप कायम राख्नु हामी सबैको साझा जिम्मेवारी हो।” पछिल्ला दिनहरूमा देखिएका तोडफोड, आगजनी, उत्तेजक अभिव्यक्ति र सार्वजनिक सम्पत्तिमा आक्रमण गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण गराउँदै मन्त्री यादवले यस्ता गतिविधिमा संलग्न जो कोहीलाई कानुनी कारबाही गरिनुपर्नेमा जोड दिनुभयो।
मन्त्री यादवले आफू व्यक्तिगत रूपमा पर्सा जिल्लाका प्रशासन र सुरक्षाप्रतिकारसँग सम्पर्कमा रहेको जानकारी दिँदै, “विभिन्न समुदायका अगुवाहरूसँग समन्वय र सल्लाह गरि शान्ति स्थापित गर्ने प्रयासमा छु,” भन्नुभएको छ।
उहाँले सामाजिक सञ्जालमार्फत नगरवासीलाई अपिल गर्दै भनेका छन्, “शान्ति र सद्भावका लागि गरिने प्रयत्न हो, हल्ला र प्रचारबाजी भन्दा नेपथ्यबाट गम्भीर प्रयास गर्न जरुरी छ। म नगरवासीलाई विश्वास दिलाउन चाहन्छु, हामी सबैको साझा प्रयासले वीरगञ्ज आफ्नो पुरानै लयमा अवश्य फर्किन्छ।”
सामाजिक सद्भावमा आँच पुर्याउने जुनसुकै गतिविधिलाई कानुन अनुसार नियन्त्रण गर्न स्थानीय प्रशासनसँग आग्रह गर्दै मन्त्री यादवले संयमता, समझदारी र संवादमार्फत तनावको समाधान गर्नुपर्नेमा सबै पक्षको ध्यानाकर्षण गराउनुभएको छ।