काठमाडौं — नेपाली चलचित्र क्षेत्रमा नयाँ क्राइम थ्रिलर सिनेमाको तयारी सुरु भएको छ। निर्माता राजेन्द्र ढकाल (राहुल)ले ‘मैना’ नामक नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्। राजधानीमा एक औपचारिक कार्यक्रमका बीच चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले सिनेमाबारे जानकारी गराएको हो।
सार्वजनिक गरिएको थिम पोस्टरले चलचित्र क्राइम थ्रिलर विधामा निर्माण हुने संकेत दिएको छ। शान्त समाजभित्र अचानक हुने उथलपुथल र रहस्यमयी घटनालाई केन्द्रमा राखी चलचित्रको कथा अगाडि बढ्ने बताइएको छ।
‘मैना’ चलचित्रमार्फत चन्द्र कुमार भट्टराईले निर्देशनमा डेब्यु गर्दै छन्। उनले यसअघि समर लभ, मारूनी, राजा रानी, सेतो बाघ लगायत चर्चित सिनेमामा मुख्य सहायक निर्देशकका रूपमा काम गरिसकेका छन्।
चलचित्रको कथा गोविन्द मल्लले लेखेका हुन् भने सुस्मिता फिल्मसको ब्यानरमा निर्माण हुने यो सिनेमामा राजेन्द्र ढकाल (राहुल) र विनिता शर्माको लगानी रहनेछ। सहनिर्माताका रूपमा रेनु शर्मा र सुस्मा खतिवडाले सहकार्य गर्दै छन्।
निर्माण टोलीका अनुसार चलचित्रको छायांकन आगामी भदौ महिनाबाट सुरु गरिनेछ। कलाकारहरूको टुंगो अझै नलागेको भए पनि निर्देशक भट्टराईले केही समयपछि कलाकारको नाम सार्वजनिक गरिने जानकारी दिएका छन्। चलचित्रको शीर्षक अनुसार मुख्य भूमिकामा महिला कलाकार रहने अनुमान गरिएको छ, तर निर्माणपक्षले यसबारे पुष्टि गरिसकेको छैन।
चलचित्रको प्रदर्शन मिति पनि हालसम्म तय नभएको र आगामी दिनमा औपचारिक घोषणा गरिने निर्देशक भट्टराईले जानकारी दिएका छन्।