आजभोलि यस्तै छ चलन,
विकृति छ घरदेखि दलान।
जता पनि आजभोलि के भएको उल्का,
जस्को पाप उस्कै फाप, पानीजस्तै फुल्का।
नेपाल र नेपालीको भलो गर्न भनी
भाषण गर्न अघि सार्ने नेताहरू पनि,
मान पद पाएपछि मुन्टो लुकाउने,
विकासको कुरा गर्दै जनता छकाउने।
यो पार्टी र ऊ पार्टीले भन्दाभन्दै दिन,
हामीहरू बन्दै गयौँ गरीब दिनहीन।।१।।
पद पाए विकासको मूल फुटाउने भन्छन्,
पदबाट हटेपछि सक्दो विरोध गर्छन्।
बिरालो र मुसोको खेल नेताहरू गर्ने,
कहिले होला नेपाललाई विकासले भर्ने?
कारखाना उद्योगले चन्दा दिँदै ठिक्क,
सधैँभरी मूल्य बढ्छ, जनताहरू दिक्क।
विदेशबाट ऋण लियो विकास गर्न भनी,
नेताहरू जम्मा गर्छन्, मौका यही हो भनी।।२।।
जनताको मारामार, पार्टी पार्टी भनी,
विकासको सच्चा काम छैन कतै पनि।
घरघर झगडा छ पार्टी–पार्टी बीच,
युद्ध क्षेत्र बन्न गयो गाउँघर नि त।
ठूलो स्वर बोल्न सके सबै कुरा हुन्छ,
सच्चा काम सच्चा कुरा विषयजस्तै बन्छ।।३।।
दूध बेची रक्सी खाने बेला यहाँ आयो,
हल्ला–खल्ला गर्न सक्ने ठूलो नेता भयो।
अरूलाई गाली–गलौज, आफू असल भन्ने,
आफू मात्र जान्ने, सुन्ने, आफू सफल जान्ने।
छेडछाड, दाउ–पेंच गर्ने मात्र नेता,
सबैलाई धन कमाउने लागि रे छ बेथा।
जनताको हित होइन, हित नेताकै छ,
बूढो गोरु व्याउने बेला नेतालाई नै भा’छ।।४।।
बाघचाल खेलझैँ छ मन्त्रिपरिषद् यहाँ,
जस्ले सक्छ कमाउने, बेला झैँ छ यहाँ।
सिपालु छन् नोट दिई भोट लिन नेता,
भोट पाए नोट कमाउने, परिश्रम के छ?
जनतालाई झुक्याउन सिपालु छन् नेता,
जागिरझैँ ठान्न थाले अबदेखि यता।
राम्रा क्वार्टर, नयाँ मोटर, नेतालाई चाहिने,
विकासको बजेट बोकी विदेशतिर धाउने।
गरीबीको उन्मूलनमा मागी ऋण ल्याउने,
जन्मैदेखि ऋणको भार नेपालीले पाउने।।५।।
खान–लाउन दैँ–दैँ प¥यो, अब कसो गर्ने?
विदेशीको ऋण तिर्ने कि अब त्यसै मर्ने?
दिगो विकास केही छैन, मनपरी तन्त्र,
जतासुकै खास–खुस, धन कमाउने मन्त्र।
एउटा पार्टी मन्त्रिमण्डल गठन गर्छ यहाँ,
सबै नयाँ नीति ल्याउने, विकास गर्न महँ।
नीति नियम बन्दा–बन्दै सरकार पतन हुन्छ,
अर्को पार्टी सरकार हुँदा अर्कै नियम बन्छ।
व्यवहार चलाउन दैँ–दैँ पर्न गयो,
नेपालीको दिन हरे! अझ दुःखी भयो।
प्रोत्साहन उद्योगमा चाहे जति छैन,
उद्योगीले काम गर्न ढुक्क पाउने होइन।
उद्योगीको दिन बित्छ चन्दा दिँदै यहाँ,
नत्र भने उद्योग नै पुथ्यो कहाँ–कहाँ?
नाफालाई दोब्बर पार्ने उद्योगीको दाउ,
भाउ वृद्धि गराएर लाउने जुँगा ताउ।।६।।
नेताहरू उद्योगीलाई चन्दा माग्न धाउने,
भाउ वृद्धि नगरे त पैसा कहाँ पाउने?
जनताको चिन्ता छैन, बढी आफ्नै चिन्ता,
बन्दै गए आक्रोशित नेतादेखि जनता।
नेताहरू बोल्छन् मात्र मीठामीठा कुरा,
मुखले मात्र काम गर्ने, छैन केही पूरा।
जनताको हित निम्ति केही हुने छैन,
घ्याम्पे भुँडी बोक्ने नेता कहिले पुग्ने छैन।
चुनावमा भोट माग्न गाउँ–गाउँ धाउने,
विकासको हल्ला फिँजाई जनता झुक्याउने।।७।।
चुनावमा जिते भने शहरको किरो,
चुनावमा हारे भने दुई नम्बरी हिरो।
ढ्वाङ फुक्छन् नेताहरू विकास गर्ने भनी,
विदेशीको ऋणमा गर्छन् मोजमस्ती पनि।
सावा ब्याज नेपालीलाई जन्मेदेखि ऋण,
भ्रष्टाचार ऋणमा हुन्छ, नियम छैन किन?
खेती गर्ने किसानको वेथा अर्कै फेरि,
किसानको ढाड सेकाउँछ मल बिउले फेरि।
पाइँदैन समयमा मल विउ यहाँ,
किसानले बस्नुपर्छ व्यापारीको हातमा।
विदेशबाट मल ल्याउँदा किसानको नाउँ,
खाउ–खाउ तस्कर हो, हामी सबैलाई खाऊ।।८।।
नेता, डाक्टर, इन्जिनियर सबलाई पाल्ने किसान,
किसानलाई बनाउँछन् सबै मिली निशान।
मल, विउ, औषधीले ढाड भाँचिसक्यो,
किसान पनि औधी हुँदा काम गर्दै थाक्यो।
जसका हातमा ठूला छैन ऊ जे.टी.ए. बन्ने,
काम छैन, तातो–छारो मुखले मात्रै भन्ने।
कागजमा फर्माउने विकासको कुरा,
हेर्दा भने कतै छैन काम यहाँ पूरा।
नेपालीको बानी भयो कुरा मात्रै गर्ने,
काम भने कत्ति छैन, भुँडी मात्रै भर्ने।।९।।
(कवि हरिकृष्ण सिलवाल, नमोबुद्ध नगरपालिका, वडा नं ४, काभ्रे निवासी हुनुहुन्छ। उहाँका प्रकाशित कृतिहरूमा ‘मेरो कल्पना’ (वि.सं. २०२८), ‘मनैभरि माया’ गीतिसङ्ग्रह (२०५८), र ‘तिमी र साथी’ बालकविता सङ्ग्रह (२०७३) रहेका छन्। उहाँका लेख/रचनाहरू विभिन्न पत्र–पत्रिकाहरूमा प्रकाशित भएका छन्। लेखनका अतिरिक्त उहाँले ४० वर्षसम्म शिक्षण पेशा गरी हाल अवकाश प्राप्त जीवन बिताइरहनुभएको छ।)
– सम्पादक