बाँचिएका बालस्वरूपहरू — OSNepal

बाँचिएका बालस्वरूपहरू

Kesh Karki (USA) April 22, 2025 0

शिर्षक – बाल संज्ञान

आजको खल्लो दृश्यमा ती रङ्ग नै कहाँ छन् र!

इन्द्रधनुषका गोरेटोमा हिँड्दा त कहिले पातालका गहिराइ नापिँदा,

निश्चल, निष्कपट मुस्कान बोक्दै बालखामा चाखिएको ब्रह्माण्डको स्वाद!

आजको हल्लामा त्यो मौनता नै कहाँ छ र!

चमत्कारी ती शब्द, जसलाई कुनै अर्थ चाहिन्नथ्यो,

केही डर अनि हजारौँ निशब्द सपना बोक्दै,

दीक्षा बिना उब्जिएका ती प्रेमभाव!

आजको सत्यतामा त्यो निष्ठा नै कहाँ छ र!

सुनकेस्री कपाल, कैयौँ चमत्कार सुन्दै,

वायुपंखी अश्व चढी अनेक लोक घुम्दै,

मिथ्या समेत चोख्याउने ती निष्कलंक साथ!

आजका सोधमा गहिराइ नै के छ र!

गतिशीलतासँगै अनेक लहरहरू बटुल्दै,

बातैपिच्छे अनन्त उत्तर खोज्दै,

मूल्याङ्कन होइन, साथ रोज्ने ती प्रश्नहरू!

कति मिठा! कति सुन्दर! कति निश्चल! कति घनीभूत!

बालखामा चाखिएको त्यो ब्रह्माण्डको स्वाद!

– उमङ्ग शाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर