काठमाडौं, वैशाख १० – गैरआवासीय नेपाली संघ (एनआरएनए) को बहुप्रतिक्षित एकता महाधिवेशन यही वैशाख २० देखि २२ गतेसम्म (मे ३–५, २०२५) काठमाडौंमा हुने भएको छ। महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद्) को निर्वाचनका लागि आवश्यक तयारीहरू अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जानकारी दिएको छ।
प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार, “निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी भइरहेको छ। उच्चस्तरीय समितिबाट मतदाता (डेलिगेट) को अन्तिम सूची प्राप्त भएपछि निर्वाचनको कार्यतालिका प्रकाशित गरिनेछ।” उनले संघको विधान तथा उच्चस्तरीय समितिले पारित गरेको कार्यविधिको पूर्ण पालना गर्दै पारदर्शी र कानुनी ढंगले निर्वाचन सम्पन्न गरिने स्पष्ट पारे।
सर्वोच्च अदालतको परमादेशअनुसार एकता महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता घिमिरे प्रमुख आयुक्तका रूपमा रहेका छन् भने अधिवक्ता आशिष उप्रेती र सेवा निवृत्त मेजर डमर घले सदस्य रहेका छन्।
महाधिवेशनमा सहभागिता जनाउन प्रतिनिधिहरू काठमाडौं आइपुग्ने क्रम जारी रहेको समितिले जनाएको छ। यसअघि सोमबार एक पत्रकार सम्मेलनमार्फत उच्चस्तरीय समितिले महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको थियो।