काठमाडौँ– लोकतन्त्र दिवसमा राप्रपाका रवि किरण हमालको फरक आवाज : ‘संविधान पुनर्लेखन गर्नुपर्छ’ — OSNepal

काठमाडौँ– लोकतन्त्र दिवसमा राप्रपाका रवि किरण हमालको फरक आवाज : ‘संविधान पुनर्लेखन गर्नुपर्छ’

Kesh Karki (USA) April 25, 2025 0

२०६२/६३ को जनआन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहद्वारा संसद पुनःस्थापना गरिएको यही दिनलाई लोकतन्त्र दिवसको रूपमा चिनिन्छ।

गणतन्त्रवादी दलहरूले लोकतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइरहेका बेला राजसंस्थाको समर्थन गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय कार्यसमिति सदस्य रवि किरण हमालले भने शान्ति दिवसको रूपमा अलग दृष्टिकोण सार्वजनिक गरेका छन्।

हमालले माघ १९ र वैशाख ११ गतेलाई ऐतिहासिक राजनीतिक मोडका दिनको रूपमा व्याख्या गर्दै ती निर्णयहरूकै कारण मुलुकमा शान्तिको ढोका खुलेको दाबी गरेका छन्। उनका अनुसार, माघ १९ को कदमले मुलुक हिंसा, अन्योल र विघटनबाट संवादतर्फ मोडिएको थियो जसको परिणामस्वरूप जनआन्दोलन सम्भव भयो।

तर हमालले शान्तिको नाममा राजनीतिक दलहरूले जबरजस्ती धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता जस्ता जनइच्छाविपरीतका एजेन्डा लागू गरेको आरोपसमेत लगाएका छन्। यसै कारण मुलुक आज अस्थिरता, विघटन र असफलताको चपेटामा परेको उनको भनाइ छ।

उनले अब संविधान पुनर्लेखनको आवश्यकता औंल्याउँदै भनेका छन्, “अबको यात्रा संविधान पुनर्लेखनमार्फत माटो सुहाउँदो, जनभावनामा आधारित, स्थायी राजनीतिक संरचना निर्माणको दिशातर्फ जानुपर्छ।”

उनको यो वक्तव्यले लोकतन्त्र दिवसमा फरक धारणा प्रस्तुत गरेको छ भने राप्रपाले आगामी दिनमा जनमतसंगत वैकल्पिक राजनीतिक व्यवस्था खोज्ने संकेत पनि दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर