लिलामको लोभमा लाखौं जनता फस्दै: बैंकको धितो किनेर अब न त निल्न सकिने न ओकल्न सकिने अवस्था — OSNepal

लिलामको लोभमा लाखौं जनता फस्दै: बैंकको धितो किनेर अब न त निल्न सकिने न ओकल्न सकिने अवस्था

Kesh Karki (USA) April 25, 2025 0

सस्तो मूल्यमा पाइयो भन्दै बैंक तथा वित्तीय संस्थाले लिलाम गरेको धितो मानिसहरूले किने। तर, अहिले न निल्न सकिने न ओकल्न सकिने अवस्थामा पुगेका छन्। एकातिर मुद्दा खेप्नु परेको छ, अर्कोतिर सरकारी वा सार्वजनिक जग्गामा बनेकोले झनै पीर परेको छ। ऋणीले कर्जा तिर्न नसकेपछि बैंकले धितो लिलाम गर्छ। कर्जा नतिरेकै कारण बैंकले अधिकांशको धितो लिलाम गरेको हो।

लिलाम गरिएको धितो बेच्नैपर्छ। फेरि कसरी ऋण उठाउने? पछिल्लो समय घरजग्गामा मन्दी रहेको त सबैलाई थाहा छ। त्यसैले, बैंकले सस्तो मूल्यमा धितो बिक्री गर्‍यो। सस्तोमा पाइएपछि मानिसहरूले सोचविचार नगरी ती घरजग्गा किने। अहिले अदालत धाउँदै उनीहरू दिक्क भएका छन्। ऋणीका सन्तानले धितोमाथि हकदाबी गरेपछि अदालत गुहार्नुपरेको हो।

अर्कोतिर अधिकांश घरजग्गा सरकारी, सार्वजनिक, गुठी वा ऐलानी जग्गामा निर्माण भएको पाइएको छ। यसले ती घरजग्गा किन्नेहरू झनै फस्ने देखिन्छन्। बैंकले धितो राख्ने बेलामा त्यो सरकारी वा सार्वजनिक जग्गा हो कि होइन हेर्दैन। अहिले त्यसको परिणाम ती घरजग्गा किन्नेहरूले भोग्नुपरेको छ। अब त घर नै नरहला भन्ने चिन्ता उनीहरूमा छ। किनभने जग्गा सरकारको भएपछि निजी भवन भत्काउनैपर्छ।

बैंकले लिलाम गरेको धितो किन्दा विभिन्न लफडामा परेका मानिसहरू अहिले भन्छन्, ‘सस्तो पाइयो भन्दैमा लिलाम गरिएको धितो किन्नु हुँदैन रहेछ।’ बैंकलाई जसरी भए पनि कमाउनु छ, ठगेर होस् या लुटेर। ऋणीसँग असुल्नुपर्ने सबै असुलेको छ बैंकले। करोडौं मूल्य पर्ने धितो राखेर ५० लाख रुपैयाँ ऋण दिने, त्यसमा पाँच लाख त घुसमै खाने, सेवाशुल्क तीन प्रतिशत अनि ब्याज १४ प्रतिशत भनेर ८० प्रतिशतसम्म असुल्ने।

ऋणीले तीन किस्ता नतिरेपछि करोडौंको धितो ४२ लाखमा खाइदिन्छ। अनि त्यो धितो अर्कोलाई बेचेर फसाउँछ। करोडको धितो ६०–७० लाखमा बेचिन्छ। किनभने बैंकले आफ्नो लगानी ऋणीबाट पहिल्यै सेवाशुल्क, साँवा, ब्याज गरेर लाखौं रकम असुलिसकेको हुन्छ। बैंकबाट पीडित बनेपछि ऋणीले अदालत गुहार्छन्। ऋणीले मुद्दा हालेपछि बैंकले केही गर्दैन। त्यो धितो किन्नेले मात्र सबै जिम्मेवारी र मुद्दा खेप्नुपर्छ।

बैंक, वित्तीय संस्था चोर, ठग हुन्, यिनीहरू बन्द गरिनुपर्छ भनेर जनताले आवाज उठाउँदै आएका छन्। बैंकबाट ऋणी र लगानीकर्ता मात्रै होइन, बचतकर्ता समेत पीडित भएका छन्। बचतकर्ताको खाताबाटै बैंकका कर्मचारीहरूले पैसा चोर्ने गरेका छन्, त्यो पनि लाखौंको संख्यामा। आफ्नो खाताबाट पैसा चोरी हुँदा पनि कतिपय बचतकर्ताले थाहा पाउँदैनन्। कतिपयले थाहा पाए पनि बैंकले उल्टै धम्क्याउँदा मौन बस्छन्। जनता बैंकबाट निकै पीडित भएका छन्। तैपनि सरकार उनीहरूको आवाज सुन्दैन, न बैंकमाथि कारबाही गर्छ, न दर्ता खारेज नै।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू नचिनिने तरिकाले हिँडेको पाइन्छ। कार्यालयभित्र मात्र उनीहरू मास्क खोल्छन्। महिला कर्मचारी सलले मुख ढाकेर हिँड्छन् भने पुरुष कर्मचारीको मुखमा मास्क हुन्छ। बैंकहरूले विज्ञापनको आडमा आफ्नो ठगीधन्दा लुकाउँदै आएका छन्। सञ्चारमाध्यमले विज्ञापन पाएपछि बैंकले जतिसुकै ठगे पनि लेख्दैनन्, त्यसको फाइदा उठाइरहेका छन्।

सञ्चारमाध्यम राज्यको चौथो अंग हो। सञ्चारमाध्यम जनताको आवाज हो। तर, पछिल्लो समय सञ्चारमाध्यम जनताको आवाज कम, ठगहरूको संस्थाजस्तो देखिन्छन्। विज्ञापनको पछि लाग्दा सञ्चारमाध्यमबाट जनताको विश्वास गुम्दै गएको छ। सञ्चारमाध्यम चलाउन विज्ञापन आवश्यक छ, तर विज्ञापनको लोभमा आफ्नो धर्म बिर्सिनु हुँदैन। जनताको पक्षमा कलम चलाउन छोड्नु हुँदैन।

बैंक, वित्तीय संस्थाबाट एक–दुई जना मात्र पीडित भएका छैनन्, लाखौं छन्। सहकारी, लघुवित्त र फाइनान्स बचतकर्ताको पैसा खाएर भागेका छन्। बैंकले भने ऋण लिएर ठगेको छ। करोडपतिलाई सडकपतिमा पुर्‍याएको छ। मर्नु कि बाँच्नु अवस्थामा छन् बैंकबाट ऋण लिनेहरू। बैंकले सबै सम्पत्ति खाएर पनि तीन पुस्तासम्म कालोसूचीमा राखिदिएपछि मानिसहरू आफ्नै सन्तानसहित आत्महत्या गर्नेसम्मको स्थितिमा पुगेका छन्।

पहिला बैंक, वित्तीय संस्थामा जागिरे भएकालाई सम्मानका साथ हेरिन्थ्यो। अहिले त ठग, चोर भन्छन्। आफ्ना छोराछोरी वा परिवारका कोही सदस्य बैंक, वित्तीय संस्थामा जागिरे भए पनि बताउँदैनन्। बैंक, वित्तीय संस्था जनताको नजरबाट नाङ्गिँदै गएको छ। त्यसैले बैंकमा बचत गर्ने र कर्जा लिने दुवैको संख्यामा गिरावट आइरहेको छ।

सहकारी, लघुवित्त र फाइनान्स त डुबिहाले। घरजग्गा, गाडी र सेयरमा यिनीहरूले गरेको लगानी चुलुम्मै भयो। बैंकको पनि लगानी यिनै क्षेत्रमा छ। अब बैंक पनि विस्तारै सहकारीकै अवस्थातिर पुग्दैछ। बैंकले बजार मूल्यअनुसार कर्जा प्रवाह गरेको छ, जसले खतरा देखाएको छ। केही दिनअघि सुन प्रतितोला एक लाख ९७ हजार रुपैयाँ नाघ्यो।

दश वर्षअघि सुन प्रतितोला बढीमा ५० हजार रुपैयाँ थियो। तर, यो मूल्य फेरि दशकअघिकै अवस्थामा फर्किन्छ भन्ने ग्यारेन्टी छैन। सुनमा पनि बैंकको लगानी छ। अहिलेको मूल्य अनुसार बैंकले सुनमा कर्जा प्रवाह गरेको छ। सुनको मूल्य घटेमा व्यक्ति मात्र होइन, बैंकसमेत टाट पल्टिन सक्छ।

घरजग्गा, गाडी र सेयर पाँच वर्षअघि किन्ने होड थियो। अहिले सस्तोमा दिँदा पनि बिक्री हुँदैन। पाँच वर्षअघि करोडौंमा किनिएको घरजग्गा अहिले त्यसको आधा मूल्यमा बेच्छु भन्दा पनि किन्ने कोही छैन।

३२ सयमा किनिएको सेयर अहिले २६ सयमा झरिसकेको छ। गाडी भारत र चीनबाट ल्याएर यहाँ १० लाखदेखि करोडसम्ममा बेचिएको छ। मूल्य दलालीले बढाएका हुन्। दश वर्षअघिसम्म उपत्यकामा रोपनीको सय रुपैयाँमा पनि बिक्री हुन्थेन। अहिले भने त्यसमा डोजर चलेर आनाकै लाखदेखि करोडसम्ममा बिक्री भयो। अहिले फेरि जग्गाको मूल्य घटिरहेको छ, जसले व्यक्तिसँगै बैंकको लगानी पनि डुब्न सक्छ।

बैंक, वित्तीय संस्थाका कारण करोडौं सर्वसाधारण सुकुम्बासी बनेका छन्। ऋणी मात्रै होइन, बचतकर्ता पनि। यसको योजनाकार भनेको सरकार नै हो। किनभने बैंक, वित्तीय संस्था खोल्न सरकारले स्वीकृति दिएको हो। राष्ट्र बैंक र अर्थ मन्त्रालयले बैंक, लघुवित्त र फाइनान्सलाई लाइसेन्स दिएको हो। सहकारी मन्त्रालय र विभागले सहकारी खोल्न अनुमति दिएको हो।

लाइसेन्स दिएपछि नियमन पनि गर्नुपर्थ्यो। तर, लाइसेन्स दिएपछि कर्तव्य पूरा भयो भन्ने सरकारी प्रवृत्तिले नै जनतालाई पीडित बनाएको हो। घरैपिच्छे बैंकबाट पीडित भेटिन्छन्। कसैको बचत खाइएको छ, कसैको धितो। तर, सरकार ठगलाई कारबाही गर्दैन। त्यसैले, जनता सचेत बनौं। बैंकमा बचत गर्नु वा कर्जा लिनुपूर्व राम्ररी सोचौं। सस्तोमा पाइयो भन्दैमा लिलाम गरिएको धितो नकिनौं।

– रुषा थापा, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर