भारतको पहलगाममा सुदीप न्यौपानेको हत्या विरुद्ध जनकपुरधाममा प्रदर्शन, पाकिस्तानी सेना प्रमुखको पुतला दहन — OSNepal

भारतको पहलगाममा सुदीप न्यौपानेको हत्या विरुद्ध जनकपुरधाममा प्रदर्शन, पाकिस्तानी सेना प्रमुखको पुतला दहन

Kesh Karki (USA) April 30, 2025 0

जनकपुरधाम । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा परेर नेपाली नागरिक सुदीप न्यौपानेको मृत्यु भएपछि जनकपुरधाममा त्यसको विरोधमा आक्रोशपूर्ण प्रदर्शन गरिएको छ। नेपाल–भारत खुला सीमा संवाद समूहको आयोजनामा मंगलबार जनकचोकमा पाकिस्तानी सेना प्रमुख आसिफ मुनिरको पुतला दहन गर्दै विरोध कार्यक्रम सम्पन्न गरिएको हो।

आक्रमणमा परेर सुदीपसहित २७ जनाको ज्यान गएको घटनाले जनकपुरवासीलाई आक्रोशित बनाएको थियो। ‘आतंकवाद मुर्दाबाद’, ‘सुदीपलाई न्याय दे’, ‘पाकिस्तान होशियार’ लगायतका नारासहित हजारौं नागरिक जनकचोकदेखि जानकी मन्दिरसम्म परिक्रमा गर्दै प्रदर्शनमा सहभागी भएका थिए।

विरोध सभामा पाकिस्तानका सेना प्रमुख मुनिरद्वारा आतंकवादीहरूप्रति सहानुभूति जनाएको भनिएको अभिव्यक्तिको समेत तीव्र विरोध गरिएको थियो। कार्यक्रममा नेपाल–भारत खुला सीमा संवाद समूहका प्रदेश सह–अध्यक्ष दीपक यादवको अध्यक्षता तथा संस्थाका अध्यक्ष डा. राजीव झाको प्रमुख आतिथ्य रहेको थियो।

उक्त कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता अनिल महासेठ, अभियानी चुरे संघर्ष समितिका प्रतिनिधि, स्थानीय अगुवा, जनप्रतिनिधि तथा पूर्वजिसस उपप्रमुख दीपक झा, जनकपुरधाम उपमहानगरपालिका–३ का वडाध्यक्ष दीपेन्द्र साह, नेता चन्देश्वर साह, सुनिल यादव, कृष्ण कुमार साह लगायतको उपस्थिति थियो।

हिन्दू तथा मुस्लिम समुदायका युवाहरूले एकताको सन्देश दिँदै स्वस्फूर्त रूपमा कार्यक्रममा सहभागिता जनाएका थिए। कार्यक्रम संयोजकले यो घटनालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने र पीडितका लागि न्याय सुनिश्चित गर्न संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल–भारत खुला सीमा संवाद समूहले सीमा सुरक्षालाई बलियो बनाउनेतर्फ जनदबाब सिर्जना गर्दै आगामी दिनहरूमा पनि निरन्तर अभियान चलाउने घोषणा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर