काठमाडौं – नेपाली चलचित्र ‘शिवांश: च्याप्टर १’ को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ। निर्माण टिमले बुधबार फस्टलुक सार्वजनिक गर्दै चलचित्रको घोषणा गरेको हो।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो चलचित्रको निर्देशन सन्तोष कुमार आत्रेयले गर्नेछन्। यो चलचित्र उनको डेब्यु निर्देशकीय कृति हुनेछ।
चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा देखिनेछन्। साथै, विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा र टिका निरौलासहितको कलाकार टोली पनि रहनेछ।
चलचित्रको कथा अञ्जान केसीले लेखेका हुन्, जो यसका निर्माता समेत हुन्। सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् भने पटकथा बारत लिम्बुले तयार पारेका हुन्।
फस्टलुक पोस्टरमा अभिनेता प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएको अवस्थामा देखिएका छन्, जसबाट उनी विरोधीको नियन्त्रणमा परेका छन् भन्ने संकेत मिल्छ। आगो लागेको गाउँको दृश्यले चलचित्र शक्ति संघर्षको कथामा आधारित भएको झल्को दिन्छ।
चलचित्रमा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको छ। गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतीकको योगदान छ भने स्वरमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको आवाज रहनेछ।
द्वन्द्व निर्देशन मिलन श्रेष्ठ, नृत्य निर्देशन विक्रम चोहान, सिनेमाटोग्राफी सरद महतो, स्क्रिप्ट डक्टर सुलक्षण भारती, कार्यकारी निर्माता सम्भू थापा, भीएफएक्स डाइरेक्टर विराज खड्का, भीएफएक्स प्रोड्युसर आदेश सुब्बा, कस्ट्युम डिजाइनर कमल मिश्र, मेकअप आर्टिस्ट तुलसा लिम्बू, आर्ट डिरेक्टर प्रतीक चौधरी, पोस्टर फोटोग्राफर युवाहाङ राई र प्रोडक्सन म्यानेजर मिलन मानन्धर रहेका छन्।
‘शिवांश: च्याप्टर १’ आउँदो असोज २४ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रको पोस्ट-प्रोडक्सन चलचित्र चौतारीले गर्नेछ भने वितरणको जिम्मा डिजिटल सिनेमा नेपाल (डीसीएन)ले लिएको छ।