काठमाडौँ । सर्वनाशको साङ्गीतिक नामले परिचित गायक तथा र्यापर सरोज मगरले नयाँ र्याप गीत ‘के भाको’ सार्वजनिक गरेका छन् । मंगलवार साँझ राजधानीको जमलस्थित विश्वज्योति मलभित्र रहेको राजा लाउन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत उनले गीतसहितको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
सर्वनाशको आफ्नै युट्युब च्यानल ‘सर्वनाश म्युजिक’ मार्फत सार्वजनिक गरिएको उक्त गीतमा डी-चेनले गायन र र्यापमा साथ दिएका छन् भने संगीत कलज्ञ रेकर्ड्सले तयार पारेको हो । बाँसुरी वादनमा विकेश लामाको विशेष योगदान रहेको छ, जसले गीतलाई थप भावनात्मक र गहिरो बनाएको छ ।
गीत सार्वजनिक गर्दै गायक सर्वनाशले अडियो र भिडियो दुवै पक्षमा निकै मेहनत गरिएको बताए । “र्यापमा केही विशेष गर्ने कोसिस गरेका छौँ, यो गीत हाम्रो भावना हो,” उनले भने, “हामीले सुखदुःख, वेदना र विचार यस्तै र्याप गीतमार्फत प्रस्तुत गर्ने गर्छौँ । हाम्रो गीत सुनेर दर्शकले हामीलाई चिन्न र बुझ्न सक्नुपर्छ ।”
गीत अनुसार नै भिडियो तयार पारिएको बताउँदै उनले भिडियोलाई जुमनले छायाङ्कन, सम्पादन र निर्देशन गरेको जानकारी दिए । ट्रेक्स प्रोडक्सनले निर्माण गरेको भिडियोमा मुना योञ्जन र कञ्चन श्रेष्ठ फिचरिङ छन् ।
गीत सार्वजनिक कार्यक्रममा वरिष्ठ र्यापर हाकिम गुरुङले टिमलाई बधाई दिँदै भने, “पछिल्लो पुस्ताले र्यापलाई सौखसँगै व्यवसायीकरण गर्दैछन्, जसले नेपाली र्यापको भविष्य उज्यालो बनाउँछ । र्याप आफ्ना भावना र समाजको यथार्थ प्रस्तुत गर्ने सशक्त माध्यम हो ।”
कार्यक्रममा चलचित्र पत्रकार सङ्घका पूर्व उपाध्यक्ष कुवेर डंगोल, निर्माता तथा अभिनेता किरण नेपाली लगायतको उपस्थिति थियो । निर्माता नेपालीले र्यापरको कथामा आधारित फिल्म निर्माणको योजना भए पनि विविध कारणले त्यो हाल रोकिएको बताए । “भिटेन मुख्य भूमिकामा अभिनय गर्दै थिए, तर प्राविधिक कारणले रोकियो । भविष्यमा परिमार्जनसहित पुनः निर्माण गर्ने योजना छ,” उनले भने ।
र्यापर सर्वनाशका ‘आउँ बस’, ‘कान्छी नानी’, ‘जादुपन’, ‘जिन्दगीको यात्रा’, ‘हामी अल्लारे ठिटो’, ‘समय’, ‘सर्वनाशको सुरुआत’ लगायतका गीतहरू यसअघि नै लोकप्रिय भइसकेका छन् । ‘के भाको’ उनको नयाँ सृजनामार्फत दर्शक/श्रोतामाझ आफूलाई अझ प्रष्ट ढंगले प्रस्तुत गर्ने प्रयास हो ।