काठमाडौँ, विष्णु गिरी ‘निश्चल’ — बुढ्यौलीमा प्रवेश गरेसँगै मानिसको शरीर कमजोर बन्दै जान्छ, रोग प्रतिरोधात्मक क्षमता घट्छ र दैनन्दिन कार्यका लागि पनि सहयोगीको आवश्यकता पर्न थाल्छ। यस्तो अवस्थामा हेरचाह गर्ने भरपर्दो व्यक्ति पाउनु चुनौतीपूर्ण हुन्छ, विशेषतः विदेशमा रहेका सन्तान वा व्यस्त परिवार भएका वृद्धवृद्धाका लागि। यिनै अभावलाई सम्बोधन गर्दै, काठमाडौंको सुकेधारामा पाँच वर्षअघि स्थापना भएको एजिङ लाइफ केयर होम अहिले आशाको केन्द्र बनेको छ।
राजेन्द्र सिंह नेगीको नेतृत्वमा स्थापित यो सेवा केन्द्र निजी हो, तर पूर्णतः निःस्वार्थ रूपमा सञ्चालन भइरहेको छ। बैतडीका नेगीले आफ्नो व्यक्तिगत स्रोत र श्रमको भरमा यो केयर होम सञ्चालन गरिरहेका छन्, जसमा करिब तीन दर्जन वृद्धवृद्धा तथा गम्भीर बिरामीहरूलाई परिवारको माया र सम्मानसहित सेवा दिइँदै आएको छ।
केयर होममा अल्जाइमर, डिमेन्सिया, प्यारालाइसिस, पार्किन्सन, ब्रेन स्ट्रोक, ब्रेन हेमरेज जस्ता गम्भीर समस्या भएका बिरामीहरू राखिन्छन्। उनीहरूलाई विशेष डाइट, निःशुल्क फिजियोथेरापी, साइकोलोजिकल काउन्सिलिङ लगायतका सेवा प्रदान गरिन्छ। बिरामीको मानसिक स्वास्थ्यमा समेत समान ध्यान दिइन्छ।
बिपन्न तथा अति पीडित परिवारका बिरामीहरूका लागि निःशुल्क खानपिन र सम्पूर्ण उपचारको व्यवस्था गरिएको छ। अझ विशेष कुरा के छ भने, यस सेवाको लागि कुनै बाह्य सहयोग, दान वा अनुदान स्वीकार गरिएको छैन। सञ्चालक नेगीले “सेवा नै धर्म हो” भन्ने सिद्धान्तलाई व्यवहारमा उतार्दै आफ्नो श्रम र स्रोतको बलमा सेवा दिइरहेका छन्।
राजेन्द्र नेगीको अथक सेवाले समाजमा करुणा, आशा र सहानुभूतिका बीउ रोपेको छ। उनी भन्छन्, “जहाँ सेवामा स्वार्थ रहँदैन, त्यहाँ भगवान् स्वयं बिरामीको हात समाएर बस्नुहुन्छ।”
एजिङ लाइफ केयर होम केवल उपचार केन्द्र मात्र नभई मानवताको आदर्श मन्दिर बनेको छ। त्यहाँ सेवा लिएका ज्येष्ठ नागरिक आफूलाई उपेक्षित नभई समाजको सम्मानित अंग महसुस गर्छन्।
राजेन्द्र नेगीको प्रेरणादायी कार्यले नयाँ जीवन, नयाँ ऊर्जा दिनुका साथै सेवा भावनामा समर्पित बन्न सबैलाई उत्प्रेरणा दिएको छ। यदि समाजमा यस्ता सेवा मन भएका व्यक्ति बढ्दै गए, हाम्रो समाज साँचिकै उज्यालो यात्रामा अघि बढ्ने छ।
सम्पर्क: मो. 9851025231
(एजिङ लाइफ केयर होम, सुकेधारा, काठमाडौं)