पोखरा । पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा आज १२ जनाको सामूहिक व्रतबन्ध गरिएको छ भने शनिबार रक्तदान कार्यक्रम हुने भएको छ । आजको व्रतबन्धमा सहभागी सबैलाई सम्मानसमेत गरिएको छ ।
यस्तै, महायज्ञमा विधिपूर्वक हवन पनि आजैबाट सुरु गरिएको छ । महायज्ञको यज्ञमण्डपमा निर्माण गरिएको एक सय हवन कुण्डमा हवन सुरु गरिएको हो ।
बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश गराउने, ७ बजेर १९ मिनेटमा अग्निमा समिधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी हवन सुरु भएको हो । हवन कार्य जेठ २६ गतेसम्म चल्नेछ ।
यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार १ सय वटा हवन कुण्डमा ३/३ जना ब्राह्मणले कोटीहोममा दिनदिनै भगवती गायत्री मन्त्र विधिबाट हवन गर्नेछन् ।
कोटीहोममा १०८ भागवत महापुराण पाठ परायण, ४ वेद पाठ परायण, सप्त चण्डी, अति रुद्री, मन्त्र जप लगायतका कार्य ब्राह्मणहरूले गर्नेछन् ।
हवन कुण्डको मूल मण्डपमा महायज्ञका संकल्पकर्ता बाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीका बुबा मणिराम भण्डारी र आमा जानका भण्डारी रहनेछन् । अन्य मण्डपमा ३/३ जना ब्राह्मणले नृत्य हवन गर्नेछन् ।
यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार हवन बिहान ८ बजेबाट सुरु भई ११ बजे सम्म चल्नेछ भने ११ बजे देखि १ बजेर १५ मिनेटसम्म विश्राम भई पुनः ४ बजेसम्म हवन कार्य हुनेछ ।
जेठ २६ गते सोमबार कोटीहोम महायज्ञको विधिवत् पूर्णाहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्यक्रम छ ।
उक्त हवन कुण्डमा इच्छुक व्यक्ति कर्ता बस्न सक्ने व्यवस्था पनि रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । उनका अनुसार हवन कुण्डमा कर्ता बस्नका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको व्यवस्था गरिएको छ । हवन कुण्डमा बस्दा ब्राह्मणदेखि चाहिने सम्पूर्ण सामग्री आयोजकले नै व्यवस्था गर्नेछ ।
यसैगरी, शनिबारदेखि खुला भजन चुट्का प्रतियोगिता सुरु हुने भएको छ । उक्त भजन प्रतियोगितामा देशभरबाट करिब तीन सयको समूहले प्रतिस्पर्धा गर्ने खुला भजन चुट्का प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने समूहलाई ३ लाख ५५ हजार ५ सय ५५, द्वितीय हुने समूहलाई २ लाख ५५ हजार ५ सय ५५, तृतीय हुने समूहलाई १ लाख ५५ हजार ५ सय ५५ तथा सान्त्वना हुने दुई समूहलाई ६५/६५ हजार पुरस्कार रहेको उनले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार ५ सय २५ रुपैयाँका दरले पुरस्कार रहेको छ ।
वैशाख १९ गते शनिबारका लागि पालो परेका सम्पूर्ण प्रतियोगीलाई प्रतियोगितामा सहभागी भइदिन उनले आग्रह गरे ।
हवन कुण्डको मूल मण्डपमा ब्राह्मणको पूजा विधिबाट महायज्ञका संकल्पकर्ता बाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजी तथा उनका बुबा मणिराम भण्डारी र आमा जानका भण्डारीले विधिवत् रूपमा अग्नि मन्थन, अग्निमा समिधा दान र अग्नि कुण्डमा आहुति प्रदान गरी हवन सुरु गरिएको हो ।
कोटीहोममा आजदेखि भारतका चर्चित युवा दार्शनिक एवं कथावाचक प्रशान्त कृष्ण परांकुशले रामकथा वाचन सुरु गरेका छन् । शुक्रबार पोखरा आइपुगेका उनले आजदेखि रामायण कथा वाचन सुरु गरेका हुन् । उनले नौ दिनसम्म रामायण कथा वाचन गर्ने आयोजक मानव सेवा फाउन्डेशन तथा कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
परांकुशले वैशाख २७ गतेसम्म पोखरामा रहेर रामायण कथा वाचन गर्ने जानकारी दिए । रामायण कथा पोखरेली भक्तलाई सुनाउन उत्साहित भएको उनले बताए । चित्र राम्रो नभई चरित्र राम्रो बनाउनुपर्ने भन्दै उनले कसैले कसैको नराम्रो सोच्न नहुने बताएका छन् ।
साथै, कथावाचिका सुप्रिया क्रिशोरीले नित्य कथा वाचन गरिरहेकी छन् ।
१५औं दिनको कोटीहोममा नेपाल पत्रकार महासंघ जापान शाखाका सदस्य सगुन लम्साल, विश्व हिन्दू महासंघ भजन समूहका अध्यक्ष, आचार्य १००८ मोहानन्द गुरुजी महाराज, नेपाली सेनाका सेनानी रेशम कोइराला, पोखरा ७ वडाध्यक्ष राममोहन आचार्यसहित सदस्य तथा पोखरा ५ जनप्रतिनिधिहरू र पूर्व निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती सहभागी थिए ।
उक्त अवसरमा भारतका महाकुम्भ मेलाका संकल्पकर्ता नीरञ्जनी पीठाधीश्वर १००८ आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीजीले हरिहर मन्दिर अवलोकन गरेका छन् ।
कार्यक्रममा आचार्य १००८ मोहानन्द गुरु महाराजले धर्मलाई सबैले अपनाउनुपर्नेमा जोड दिए ।
प्रचारप्रसार संयोजक ढकालका अनुसार शुक्रबार पनि करिब १० हजार ५ सय भक्तजन सहभागी थिए । कोटीहोममा हालसम्म १ लाख १० हजारभन्दा बढी भक्तजन सहभागी भएको आयोजकको दाबी छ ।
भक्तजनको सहभागिता बढ्दै गएको र अर्थ संकलन कार्य पनि बढिरहेको बताइएको छ । महायज्ञमा हालसम्म सबैभन्दा धेरै मुस्ताङको घरपझोंग गाउँपालिकाका मोहन सिंह लालचनले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दान गरेका छन् ।
बिहीबार पोखरा बिरौटाका दिनेश कार्कीका परिवारजनले ५१ हजार १ सय ११ रुपैयाँ दान गरेका थिए ।
यस्तै, पोखरा १४ का नीरबहादुर कुँवरले ५५ हजार १ सय, पोखरा १७ का दिनेश कार्की र उनका परिवारजनले ५१ हजार १ सय ५१, पोखरा ९ की परिगिता दिजु (ओम शान्ति) बाट ५१ हजार, पोखरा ५ का ध्रुव थापाबाट ५० हजार ५ सय २१ र पोखरा ११ का शिव तिलिजा पुनले ३५ हजार ५ रुपैयाँ कोटीहोममा सहयोग गरेका छन् ।
कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ ।
कोटीहोममा श्रीमद्भागवत कथा, रामकथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमद्देवी भागवत कथा वाचन हुनुको साथै लाखौँको विवाह, व्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सयभन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण गरी अर्बौं रामनाम लेखिने र एक करोड शिवलिङ्ग स्थापना गरी एक करोड बेलपत्रद्वारा पूजन गरिने जनाइएको छ ।
सो अवसरमा ११ हजार कलश पूजन र व्रतबन्ध भएको छ भने राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक संघसंस्थाको सम्मेलन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजारभन्दा बढी स्रष्टा सम्मान, शालिग्राम पूजन, चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलाञ्चल र धान्याञ्चल पर्वतको निर्माण, धार्मिक क्षेत्रसँग सम्बन्धित वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम गरिने भएको छ ।