काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य ईश्वर बहादुर रिजाल (ईश्वरी) ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीलाई विचित्र दिन आउने चेतावनी दिएका छन्।
सांसद शाहीले एमाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अत्यन्तै निम्नस्तरको, निकृष्ट र विभेदयुक्त अभिव्यक्ति दिएको भन्दै रिजालले शाहीलाई यस्तो चेतावनी दिएका हुन्।
सांसद शाहीले केही दिनअघि कवितात्मक शैलीमा एमाले अध्यक्ष ओलीविरुद्ध विभेदजन्य आशयसहितका अनेक आरोप लगाएका थिए। त्यसको जवाफ आफूले पनि कवितात्मक शैलीमै फर्काएको नेता रिजालको भनाइ छ। नेता रिजालले आफ्नो र शाहीको ‘कविता युद्ध’लाई फेसबुकमा साझा गर्दै भनेका छन्– ‘गालीगलौजको भाषामा लेखिएको कथित कविताको जवाफ कविताकै माध्यमबाट फर्काएको छु! म मान्छे चिन्छु तर नाम चिन्दिनँ, कृपया कमेन्टमा लेखिदिनुहोला!’
रिजालले आफ्नो कवितामा केपी ओलीलाई क्रान्ति अनि शान्तिका प्रतीक, सत्य र निष्ठाको निशान, दूरदृष्टि, मौलिक सृष्टि र समृद्धिको दर्शन भएको उल्लेख गरेका छन्। घुँडा टेकेर महाराज ओकल्ने र प्रतिगामी पथमा हिँड्ने शाही दासत्वको प्रतीक बनेकाले ‘बा’ को महत्व र नागरिक दर्जा नै नबुझेको उनको भनाइ छ।
नेता रिजालले शाहीलाई परिवर्तनको गति नबुझ्ने ‘घमण्डी र उदण्डी’ को संज्ञा दिएका छन्। ओखरबोटे काण्ड र पिस्करको दमन स्मरण गराउँदै रिजालले शाहीलाई सोधेका छन्– ‘सिन्दूर पुछिनेको र काख रित्तिनेको गणना गर्न सक्छौ?’
यस्तै, उनले संसदीय मर्यादा राखी सीमाभित्र रहन र लोकको शिष्टता स्वीकार गर्न शाहीलाई सुझाव दिएका छन्।
‘संसदीय मर्यादा, राखिकन श्रद्धा,
बस्नु सीमानाभित्र!
लोकको शिष्टता नटेर्ने भएता,
आउँदा दिन विचित्रका।’
रिजालले लेखेका छन्।
यस्तो छ रिजालको कविता–
के भनेका थिए ज्ञानेन्द्र शाहीले?
प्रतिनिधि सभा सदस्य समेत रहेका राप्रपाका प्रवक्ता शाहीले केही दिनअघि कवितात्मक शैलीमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीविरुद्ध सामाजिक सञ्जालमार्फत विभेदयुक्त र लाञ्छनायुक्त अभिव्यक्ति दिएका थिए। उनले एमाले पंक्तिमा ओलीलाई प्रयोग गरिँदै आएको आदरयुक्त शब्द ‘बा’ प्रति व्यङ्ग्य गर्दै ‘सन्तान जन्माउन नसक्ने’ भनेर विभेदयुक्त अभिव्यक्ति दिएका थिए।
उनले आफ्नो कवितात्मक अभिव्यक्तिमा लेखेका थिए–
‘तिमी थुप्रैका बा,
जन्माउन नसक्ने बा,
झड्केलो बा।’
सन्तान नभएकालाई हेप्नु वा त्यसैको आधारमा गाली गर्नु सामाजिक, मानसिक र भावनात्मक कोणबाट विभेदमा पर्छ। नेपालको संविधान र कानुनले सन्तान नभएको आधारमा विभेद गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ।
नेपालको संविधान २०७२ को धारा १८ मा उल्लेख गरिएको समानताको हकअन्तर्गत सबै नागरिक कानुनको दृष्टिमा समान हुने, जात, वर्ण, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य विचार, जन्मस्थान, सम्पत्ति, अपाङ्गता, शारीरिक अवस्थालगायत कुनै पनि आधारमा विभेद गर्न नपाइने उल्लेख छ।
उक्त कसुर प्रमाणित भएमा भेदभाव तथा छुवाछूत सम्बन्धी कसुरअन्तर्गत कारबाही गर्न सकिने व्यवस्था गरिएको छ।
यस्तो छ, शाहीको अभिव्यक्ति–