काठमाडौं । नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पहिलो सिर्जनात्मक गीत ‘सम्झना’ सार्वजनिक भएको छ। शब्द, संगीत र स्वर तीनवटै पक्षमा करणको योगदान रहेको यस गीतमा उनलाई रोहित सुन्दासले साथ दिएका छन्।
आइडल विजेता बनेपछिको समयदेखि विभिन्न गीतमा स्वर दिँदै आएका करणले पहिलो पटक आफ्नै सृजनामा आधारित गीत दर्शकसामु ल्याएका हुन्। ‘सम्झना’ सार्वजनिक भएसँगै करणले आफ्ना भावी योजना पनि सार्वजनिक गरेका छन्। उनका अनुसार अबदेखि आफ्नै युट्युब च्यानलमार्फत निरन्तर आफ्ना सिर्जनाहरू दर्शकमाझ ल्याउने योजना रहेको छ।
करणले भने, “अब लगातार आफ्नो युट्युबबाट आफ्नै सिर्जनाहरू सार्वजनिक गर्नेछु। केही नयाँ तयारी पनि भइरहेको छ। मलाई नेपाल आइडलमा जिताउनुभएका दर्शकका लागि भए पनि म आफैले राम्रा गीतहरू बनाउनुपर्ने हुन्छ, र मेरो चाहना पनि त्यही हो।”
गीतको भिडियो वान-टेक शैलीमा निर्माण गरिएको छ, जसको निर्देशन रंग पत्रकार सुजन श्रेष्ठले गरेका हुन्। भिडियोमा करण र रोहितलाई फिचर गरिएको छ। भिडियोको छायांकन पंकज महरा र डीओपी सुशान ठटालले गरेका हुन् भने सम्पादन तथा कलर सुशिल घिमिरेले गरेका हुन्।
‘सम्झना’लाई भावनात्मक र सरल प्रस्तुतिमा दर्शकसमक्ष ल्याइएको छ, जसले करणको साङ्गीतिक यात्रामा नयाँ अध्यायको संकेत गरेको छ।