तनहुँ। तनहुँका साहित्यकार केशवराज आमोदीले पौराणिक परिवेशमा आधारित ‘मत्स्यगन्धा महाकाव्य’ रचना गरेका छन्। व्यास नगरपालिकाको सांस्कृतिक र ऐतिहासिक परिवेशलाई समेट्दै रचित उक्त महाकाव्यमा चार वेद र १८ पुराणका रचयिता भगवान व्याससँग सम्बन्धित पौराणिक कथालाई समेटिएको छ।
साहित्यकार आमोदीका अनुसार महाकाव्यमा व्यास क्षेत्रको सांस्कृतिक समृद्धि, स्थानीय जनजीवन र पौराणिक प्रसंगहरूको संयोजन गरिएको छ। महाकाव्यको औपचारिक लोकार्पण यही वैशाख २६ गते, शुक्रबार दिउँसो १ बजे व्यास नगरपालिकाको सभाहलमा हुने तय भएको छ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने प्रमुख अतिथि रहनेछन् भने लोकार्पण कार्यक्रम गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा सम्पन्न हुनेछ। प्रतिष्ठानका अध्यक्ष गौकुमारी न्यौपानेको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको बैठकले महाकाव्य विमोचन दमौलीमा गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव अमरराज नहर्कीले जानकारी दिएका छन्।
महाकाव्यकार आमोदी तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित सुखौरा गाउँमा जन्म भई हाल चितवनको रत्ननगर–१३, माधवपुरमा स्थायी बसोबास गर्दै साहित्य साधनामा सक्रिय रहँदै आएका छन्।
उक्त महाकाव्यलाई नेपाली साहित्यको नवीन पौराणिक कृति मान्दै आगामी पुस्तालाई प्रेरणादायी बन्ने विश्वास व्यक्त गरिएको छ।