झुमा लिम्बूको २५ वर्षे सांगीतिक यात्रामा ‘जार’ विशेष: “मैले चाहेझैं काम गर्न पाएँ” — OSNepal

झुमा लिम्बूको २५ वर्षे सांगीतिक यात्रामा ‘जार’ विशेष: “मैले चाहेझैं काम गर्न पाएँ”

Kesh Karki (USA) May 08, 2025 0

काठमाडौं । गायिका तथा संगीतकार झुमा लिम्बूले आफ्नो २५ वर्षे सांगीतिक यात्रामा पहिलोपटक आफूले मनले चाहेझैं काम गर्न पाएको अनुभव चलचित्र ‘जार’ मार्फत गर्न पाएको बताएकी छन् ।

चलचित्र ‘जार’ मा संगीत निर्देशन तथा गायन गरेकी लिम्बूले आफूले विगतमा सधैंजसो साँगीतिक स्वतन्त्रताको कमी महसुस गरे पनि यस पटक भने जुन ढंगको संगीत गर्न चाहन्थिन्, त्यसैअनुसार काम गर्न पाएकी हुन् । “म्युजिक गर्दै जाँदा, काम गर्दै जाँदा ठिक मैले भनेको जस्तो काम गर्न पाएको प्लेटफर्म हो, चलचित्र हो जार,” झुमाले भनिन्, “जारमा अलिअलि चाहिँ काम गर्ने ठाउँ पाएँ भन्ने लाग्छ।”

‘जार’ मा लिम्बू समुदायको सांगीतिक र सांस्कृतिक लय झल्किने गीत–संगीत समावेश गरिएको छ । चलचित्रका पात्रहरू लिम्बू गाउँमा पुग्ने प्रसङ्गसँगै झुमा लिम्बूले समुदायको मौलिक संगीतको समावेशीकरण गरेकी छन्, जसको प्रिमियरपछि दर्शक तथा समीक्षकले खुलेर प्रशंसा गरेका छन्।

१८०० को दशकको ऐतिहासिक वास्तविक घटनामा आधारित चलचित्र ‘जार’ यही शुक्रबार (वैशाख २६ गते)बाट देशभर प्रदर्शनमा आउँदैछ । इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमालाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन् ।

सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा मुख्य भूमिकामा रहेको ‘जार’ लाई फेरि टेल पिक्चर्सले निर्माण गरेको हो भने छायांकन सिक्किममा गरिएको छ । कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सिनेमामा सरवानन इलावार्सुको छायांकन, अखिलेश राईको सम्पादन, र गंगा थापा र झुमा लिम्बूको संगीत छ।

सामाजिक विषयवस्तुमा आधारित भए पनि सिनेमालाई “कम्प्लिट प्याकेज” को रूपमा दर्शकसामु प्रस्तुत गरिएको निर्देशक फुर्वा छिरिङ लामाको भनाइ छ । चलचित्र नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शन हुने निर्माण टिमले जनाएको छ। नेपालमा यसलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ।

झुमा लिम्बूको संगीत र पात्रको यात्रासँग गाँसिएको गीतले ‘जार’ लाई अझ गहिरो बनाएको धेरै दर्शकले प्रिमियरमा महसुस गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर