‘भ्रष्टाचार विरुद्धका कविता’ पुस्तक लोकार्पण, पाँच सर्जकलाई ४ लाख रुपैयाँ राशिसहित सम्मान — OSNepal

‘भ्रष्टाचार विरुद्धका कविता’ पुस्तक लोकार्पण, पाँच सर्जकलाई ४ लाख रुपैयाँ राशिसहित सम्मान

Kesh Karki (USA) May 08, 2025 0

काठमाडौं । हेम–सरिता पाठक फाउन्डेसनद्वारा भ्रष्टाचारविरुद्ध सिर्जनात्मक योगदान दिने पाँच सर्जकलाई ४ लाख रुपैयाँ नगद राशिसहित सम्मान गरिएको छ। प्रज्ञा भवनमा शनिबार आयोजित विशेष समारोहमा ‘भ्रष्टाचार विरुद्धका कविता’ पुस्तकको लोकार्पण पनि गरियो।

फाउन्डेसनकी अध्यक्ष जेनी पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरेका थिए।

२ लाख रुपैयाँ राशिको ‘टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार’ पत्रकार मातृका दाहाल र दीपा दाहाललाई संयुक्त रूपमा प्रदान गरिएको छ। खोज पत्रकारितामार्फत सत्ता संरचनामा गहिरो रूपमा जरा गाडेको भ्रष्टाचार उजागर गर्न गरेको योगदानका लागि उनीहरू सम्मानित भएका हुन्।

त्यसैगरी, १ लाख रुपैयाँ राशिको ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ गीतकार गोपालप्रसाद थपलिया र संगीतकार तथा गायक शिशिर योगीलाई प्रदान गरिएको छ। उनीहरूले “जनतालाई रुवायो” गीतमार्फत समाजमा व्याप्त भ्रष्टाचारविरुद्ध जनचेतना फैलाएको मूल्यांकन गरिएको थियो।

१ लाख रुपैयाँ राशिको अन्तर्राष्ट्रिय कविता पुरस्कार कवि तोया भट्टलाई प्रदान गरिएको छ। कार्यक्रममा उत्कृष्ट २५ कविहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो।

उक्त पुरस्कार प्रमुख अतिथि डा. अमरेशकुमार सिंह, फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक र अध्यक्ष जेनी पाठकले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।

कार्यक्रममा पूर्व सांसद नवराज सिलवाल, बाग्मती प्रदेशका पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठ, राप्रपा महामन्त्री शरदराज पाठक, पूर्व आइजिपी सर्वेन्द्र खनाल, गायक प्रेमराजा महत, सामाजिक अभियन्ता टेकराज पौडेल, कलाकार लय संग्रौला लगायत विशिष्ट व्यक्तित्वहरूले मन्तव्य राखेका थिए।

फाउन्डेसनका महासचिव राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य र पुरस्कृत सर्जकहरूको योगदानबारे प्रकाश पारेका थिए। कार्यक्रममा कवि तोया भट्ट र सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङेले भ्रष्टाचारविरुद्ध कविता वाचन गरे।

सांगीतिक प्रस्तुति अन्तर्गत नारायण रायमाझी, वी. बी. अनुरागी, कृष्ण कडेल र नवीन पौडेलले भ्रष्टाचारविरुद्धका गीत प्रस्तुत गरे भने ओमकारेश्वर भजन समूहले भजनमार्फत सन्देश प्रवाह गर्‍यो।

कार्यक्रमको सहजीकरण चर्चित पत्रकार तथा कवि ठाकुर बेलवासेले गरेका थिए। कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल, पूर्व रक्षा सचिव देवेन्द्र सिटौला, फाउन्डेसनकी संरक्षक सरिता पाठक, पूर्व डिआइजी रमेश खरेल, गीतकार शोभित उप्रेती, समाजसेवी राम सिवाकोटी, रमेश दाहाललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

हेम–सरिता पाठक फाउन्डेसन

१३०८ आइएसएलइ कोभ डीआर, अर्लिङ्टन, टेक्सास ७६००५

सम्पर्क नं.: ५१२८९७०५ (अमेरिका) / ९८५१०५९३५४ (नेपाल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर