मन्दीले उडायो शोषक र सामन्तीको होश, अरूलाई ठगेको परिमाण अब आफैंले भोग्दै ! — OSNepal

मन्दीले उडायो शोषक र सामन्तीको होश, अरूलाई ठगेको परिमाण अब आफैंले भोग्दै !

Kesh Karki (USA) May 08, 2025 0

खाद्य तथा किराना पसलेहरू भन्छन्, “पहिले बोरामा चामल लैजानेहरू अहिले किलोमा लैजान थालेका छन्। तैपनि सस्तो चामल खोज्छन्।” दूध, माछा र मासु पसलेहरू पनि भन्छन्, “पहिले किलोमा किन्नेहरू अहिले आधा किलोमै सीमित भएका छन्।” फलफूल र तरकारीको हकमा भने जसले सस्तो दिन्छ, त्यहीँबाट किन्ने गरिएको छ। त्यसका लागि घण्टौंसम्म बजार घुमफिर गरिन्छ।

भाटभटेनी, सुपरमार्केट, बिगमार्टहरूमा ग्राहक नै देखिँदैनन्। यसको कारण सामान महँगो हुनु वा गुणस्तरहीन, कुहिएको सामान बेचिनु हुनसक्छ। बजार गहिरो मन्दीमा छ। आम सर्वसाधारणको आर्थिक अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ। अहिले ज्याला मजदुरीसमेत पाउन मुस्किल भएको मानिसहरू बताउँछन्। निजी संस्था, फर्म, कम्पनी वा घरायसी काम गर्नेहरूले तीन महिना देखि वर्षौंसम्मको तलब नपाएको गुनासो गरेका छन्।

घरायसी काम गर्नेहरू मासिक तीन हजारदेखि पाँच हजार रुपैयाँ तलबमा काम गर्न बाध्य छन्। तर, तैपनि तलब नपाउनु दुःखद् अवस्था हो। निजी कम्पनी, संघ–संस्था, फर्महरूमा अहिले पनि मासिक सात हजारदेखि पन्ध्र हजार रुपैयाँ तलबमा मानिसहरू काम गरिरहेका छन्। जबकी सरकारले तोकेको न्यूनतम तलब १७ हजार तीन सय रुपैयाँ हो।

सरकारले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र काम लगाउन पाउने भनेको छ। तर, निजी कम्पनीहरूले बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म काम लगाउँछन्। सार्वजनिक बिदामा पनि छुट्टी दिइँदैन। उल्टै बिरामी भएर छुट्टी लिँदा तलब नै काटिन्छ। पछिल्लो समय कपडा पसल तथा ब्यूटी पार्लरहरू सुनसान छन्। कुनै ग्राहक देखिँदैन।

घरजग्गा, गाडी र सेयर खरिदबारे कुरा गर्नेहरू भेटिँदैनन्। नयाँ पसल खोल्ने वा व्यापार–व्यवसायमा लगानी गर्ने इच्छाशक्ति हराएको छ। सञ्चालनमा रहेका पसलहरू समेत बन्द गर्नुपर्ने अवस्था आएको छ। काठमाडौं उपत्यकासहित देशभर अधिकांश घरहरू खाली छन्। डेरामा बस्नेहरूले भाडा तिर्न नसक्ने अवस्था आएको व्यापारीहरूले बताएका छन्।

उपत्यकामा घर हुनेले पनि अब किलोमा चामल लैजान थालेका छन्। कारण, घर खाली हुनु वा डेरावालहरूले भाडा तिर्न नसक्नु हो। अहिले युवाशक्ति विदेश पलायन भएको छ भने उमेर ढल्केका वृद्धवृद्धा गाउँ फर्किएका छन्। उपत्यकाका घरधनीहरूको आम्दानीको स्रोत घरभाडा हो। तर, घर नै खाली भएपछि उनीहरू गम्भीर चिन्तामा परेका छन्।

घरको इँटा र फलाम त खान मिल्दैन, अन्न त चाहिन्छ। ७४ जिल्लाका जनता उपत्यकामा बस्छन्। आफ्ना गाउँका घर र मतानमा ताल्चा लगाई खेतबारी बाँझो छाडेर उनीहरू उपत्यकामा सेवासुविधाको खोजीमा आएका हुन्। यसको फाइदा भूमाफिया र दलालहरूले उठाए।

मानव चाप बढेसँगै जग्गाको मूल्य आकासियो। कुनै समय रोपनीको पाँच हजारमा पनि बिक्री नभएको जमिन आनाकै लाखदेखि करोडमा बिक्न थाल्यो। माओवादी जनयुद्धले गाउँका जनता शहर पस्न बाध्य बनायो। गाउँ कब्जा भएपछि मानिसहरू विस्थापित भए।

एउटै बुबाका दुई छोरामध्ये एकले माओवादीसँग मिलेर गाउँका जनता लखेट्यो, अर्कोले शहर पस्दै जग्गा दलाली सुरु गर्‍यो। जनयुद्धमा १७ हजारभन्दा बढी नागरिकले ज्यान गुमाए। गाउँको उब्जाउ जमिन छाडेर शहर पसिएका जनताले महँगोमा जग्गा किनेर घर बनाए।

०४६–०४७ सालतिर काठमाडौंमा ५० देखि २०० रुपैयाँमा कोठा पाइन्थ्यो। सटर भाडा ५००–१००० सम्म थियो। अहिले एउटा कोठा ५ हजारदेखि २० हजार, सटर २५ हजारदेखि १९ लाख, फ्ल्याट ३० हजारदेखि ३ लाखसम्म पुगिसकेको छ।

खाली सटर त २०–६० लाखसम्ममा बिक्री गरिन्छ। ३५ वर्षअगाडिको बिक्री नभएको जमिन आज आनाकै ६०–७० लाखमा भनिन्छ। यो मूल्यवृद्धिमा भूमाफिया र दलालीको ठूलो भूमिका छ। बैंकले १०० रुपैयाँमा निष्कासन गरेको सेयर दलालले ३–५ हजारमा सर्वसाधारणलाई बेचे। अहिले त्यो सेयर २६ सयमा झरेको छ। तैपनि ठगिने क्रम रोकिएको छैन।

पहिले उपत्यकामा सयौं रोपनी जग्गा हुने मानिससँग आज चार आना जग्गा पनि छैन। त्यसमा पनि घर बनाइसकेका छन्। ती जग्गा बेचेर मोजमस्ती गरे। सोचे, घर भाडामा लगाएर आराम गरिन्छ। त्यही घरबाट अधिकांशको जीविकोपार्जन थियो।

तर, अहिले घर खाली छन्। न भाडामा बस्ने भेटिन्छन्, न बिक्री हुन्छ। ऋण लिएको घर आज भार बन्दै गएको छ। जसरी खेतीयोग्य जमिन मासेर घर बनाइयो, आज त्यो न त लगानी फिर्ता दिने स्थितिमा छ, न त उपयोगी रहन सकेको छ। अहिले थुप्रै घरधनी सोच्न बाध्य छन्—‘घर नबनाएको भए खेत–बारी राखेर कम्तिमा खेती त गर्न सकिन्थ्यो।’

‘पाप धुरीबाट कराउँछ’ भन्ने उखान अहिले घरधनीहरूकै सन्दर्भमा लागू भएको छ। हिजो डेरावालबाट चर्को भाडा उठाउने, राज्यलाई कर नतिर्ने घरधनीहरूले आज मन्दीको मार खेपिरहेका छन्। न त भाडा पाइन्छ, न त घर बिक्री नै हुन्छ। घर बनाउँदा लिएको बैंक ऋण अझै तिर्न बाँकी छ।

यस्तै बेला माओवादी अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते भएका छन्। बजारमा यसैको चर्चा छ—“१७ हजार मान्छे मारेको पाप प्रचण्डलाई लाग्यो।” उनलाई सयौं सुरक्षाकर्मीले सुरक्षा दिँदा पनि लड्नबाट रोक्न सकेनन्। यही हो, “पाप धुरीबाट कराउँछ” भन्ने उदाहरण।

शोषक र सामन्ती सोच्नेहरूले सधैं अरूलाई ठगिरहन पाइन्छ भनेर सोचेका थिए। तर, दिनपछि रात आउँछ, गर्मीपछि जाडो। प्रकृति सधैं एउटै हुँदैन। त्यसैले सधैं अपराध र ठगी चल्छ भनेर सोच्नु मुर्खता हो।

सूर्यलाई हातले छेक्न सकिँदैन, त्यसैगरी अन्याय र पापको फल ढिलोचाँडो भोग्नैपर्छ।

रुषा थापा

भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर