काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण तीव्र, दोस्रो चरणको सञ्जाल निर्माण फास्ट ट्रयाकमा — OSNepal

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण तीव्र, दोस्रो चरणको सञ्जाल निर्माण फास्ट ट्रयाकमा

Kesh Karki (USA) May 08, 2025 0

काठमाडौँ, २५ वैशाख : खानेपानीमन्त्री प्रदीप यादवको विशेष निर्देशनपछि मेलम्ची खानेपानी आयोजनाको वितरण सञ्जाल निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ।

मन्त्री यादवको विशेष निर्देशनपछि खानेपानी अभाव झेलिरहेका काठमाडौँ उपत्यकावासी अब शुद्ध र सफा मेलम्चीको पानी पिउन पाउने भएका छन्। सो कार्यका लागि अहिले काठमाडौँ उपत्यकाभरिका नागरिकलाई मेलम्चीको शुद्ध अनि सफा खानेपानी वितरणका लागि सञ्जाल निर्माणको कार्य फास्ट ट्र्याक अन्तर्गत अगाडि बढेको छ।

काठमाडौँ उपत्यकामा रहेका नागरिकका घरघरमा मेलम्चीको पानी पुर्‍याउने मन्त्री यादवको उद्देश्य र लक्ष्यअनुसार आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले ‘काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण)’ अन्तर्गत वितरण सञ्जाल सुधार तथा प्रणाली स्थायीत्व सेवाका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ।

काठमाडौँ उपत्यकावासीसहित चक्रपथ बाहिरका क्षेत्रहरूका नागरिकलाई भरपर्दो र व्यवस्थित खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यसहित चक्रपथ बाहिरका क्षेत्रहरूमा समेत मेलम्चीको खानेपानी वितरणका लागि सञ्जाल निर्माणको फास्ट ट्र्याक अन्तर्गत प्रक्रिया सुरु भएको मन्त्री यादवले बताउनुभयो।

उहाँले भन्नुभयो, “मेलम्चीको पानी चक्रपथ बाहिरका क्षेत्रमा रहेका नागरिकलाई वितरण गर्ने मेरो उद्देश्यअनुसार प्रक्रिया सुरु भएको छ। लामो समयदेखि पानी वितरणका लागि थालेको मेरो प्रयासले बल्ल सार्थकता पाउँदैछ।”

काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत नेपाल सरकारको बजेट र एसियाली विकास बैंकको ऋण सहयोगमा शुरू गर्न लागिएको उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौँ, बूढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर ठिमी नगरपालिकाहरूमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न लागिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का टिकाबहादुर चौधरीले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “मन्त्रीज्यूको लामो मिहिनेतपछि अहिले हामी चक्रपथ बाहिरका क्षेत्रहरूमा समेत मेलम्चीको खानेपानी वितरण सञ्जाल निर्माणको तयारीमा जुटेका छौँ। त्यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको छ।”

आयोजनाको दोस्रो चरणमा भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका विभिन्न क्षेत्रमा गरी १५१ दशमलब ३० किलोमिटर, कीर्तिपुर, काठमाडौँ र चन्द्रागिरी नगरपालिकाका विभिन्न क्षेत्रमा गरी ७५ दशमलब ९८ किलोमिटर, मध्यपुर ठिमी नगरपालिका क्षेत्रमा ३०८ दशमलब १५ किलोमिटर, कपन र जोरपाटी उत्तर क्षेत्रमा गरी २०० दशमलब २३ किलोमिटर र जोरपाटी दक्षिण र पेप्सीकोला क्षेत्रमा १३९ दशमलब ७४ किलोमिटर गरी कूल ८७५ दशमलब ४ किलोमिटर खानेपानी वितरण सञ्जाल निर्माण गर्ने लक्ष्य रहेको आयोजना उपनिर्देशक एवं प्रवक्ता ई. विकेश बधानथाछेले बताउनुभयो।

उहाँका अनुसार, जसअन्तर्गत वितरण सञ्जालका ८२८ दशमलब ९२ किलोमिटर पीई पाइप र ४६ दशमलब ४८ किलोमिटर डिआई पाइप बिच्छ्याइनेछ।

यी क्षेत्रमा खानेपानी वितरण सञ्जाल निर्माण कार्यलाई छिटोछरितो रूपमा अगाडि बढाउनका लागि भक्तपुर, कीर्तिपुर, ठिमी, कपन, जोरपाटी उत्तर तथा जोरपाटी दक्षिण र पेप्सीकोला क्षेत्र गरी विभिन्न पाँच प्याकेजमा वर्गीकरण गरी खानेपानी वितरण सञ्जाल निर्माण गरिने प्रमुख चौधरीले बताउनुभयो।

उहाँका अनुसार, आयोजनाको दोस्रो चरणमा निर्माण गरिने खानेपानी वितरण सञ्जालबाट ती क्षेत्रका करिब ६३ हजार घरधुरी लाभान्वित हुनेछन्। आयोजनाको दोस्रो चरणको निर्माण कार्य, निर्माण शुरू भएको मितिले तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

मन्त्री यादवको प्रयास एवं निर्णयअनुसार काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) को निर्माण कार्य अगाडि बढाउनका लागि पिआइडीले आवश्यक पूर्वतयारीका कार्य सम्पन्न गरी पाँचवटै प्याकेजको निर्माणका लागि बोलपत्र आह्वान गरिसकेको खानेपानी मन्त्रालयका सचिव ई. प्रमिलदेवी शाक्य बज्राचार्यले जानकारी दिनुभयो।

उहाँका अनुसार, आयोजनाको दोस्रो चरणको निर्माण कार्य सम्पन्न भएपछिको एक वर्षसम्म खानेपानी वितरण सञ्जालको प्रणाली स्थिरीकरण र सञ्चालनसहितको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निर्माण व्यवसायीको हुने प्रावधान राखिएको छ।

यसअघि, काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (पहिलो चरण) अन्तर्गत काठमाडौँ उपत्यकामा करिब ३० किलोमिटर प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सञ्जालका करिब ९८० किलोमिटर नयाँ पाइपलाइन समेत गरी कूल एक हजार १० किलोमिटर नयाँ पाइपलाइनको सञ्जाल निर्माण भइसकेको छ।

यसैगरी, आयोजनाको पहिलो चरणमै काठमाडौँ उपत्यकाका विभिन्न नौ स्थानमा १० वटा पानीपोखरी निर्माण र सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रबाट उपत्यकाका विभिन्न स्थानमा रहेका पानीपोखरीहरूमा थोक रूपमा पानी आपूर्ति गर्न थोक वितरण प्रणालीका ७७ किलोमिटर पाइपलाइन बिच्छ्याउने कार्य समेत सम्पन्न भएको छ।

काठमाडौँ उपत्यकावासीलाई भरपर्दो र व्यवस्थित खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यसहित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले पाँच ठूला प्याकेजमा खानेपानी वितरण सञ्जाल सुधार गर्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर