सुशासन कायम गर्ने मुख्यमन्त्री शाहको प्रतिबद्धता — OSNepal

सुशासन कायम गर्ने मुख्यमन्त्री शाहको प्रतिबद्धता

LC (KTM) May 08, 2025 0

सुदूरपश्चिम, २५ वैशाख : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने सवालमा कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा आयोजना गरेको प्रदेश तथा स्थानीय तह अन्तरसम्बन्ध सुदृढीकरणसम्बन्धी अन्तरक्रिया तथा नीति, कार्यक्रम बजेटसम्बन्धी छलफल कार्यक्रममा मुख्यमन्त्री शाहले भ्रष्टाचार नियन्त्रण र सुशासनका बारेमा अझैँ पनि धेरै नीतिनियम बनाउन जरुरी रहेको बताउनुभयो ।

मुख्यमन्त्री शाहले स्थानीय तह र प्रदेश सरकार आपसमा सहकार्य तथा सहअस्तित्वलाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभामा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का मानबहादुर धामी, नेकपा (एकीकृत समाजावादी) का दीर्घबहादुर सोडारी, सत्तापक्ष नेकपा (एमाले) का राजेन्द्रसिंह रावल र नेपाली कांग्रेसका विक्रमसिंह धामीले आ–आफ्नो धारणा राख्नुभयो । उहाँहरुले विभिन्न पालिका तहका प्रमुख एवं प्रतिनिधिले योजनाको छनोट र कार्यान्वयनमा स्पष्ट नीति बनाउन आवश्यक रहेको सुझाव दिनुभयो ।

सहभागीहरुले योजना कार्यान्वयनमा लैजाँदा समन्वय गर्ने पाटोलाई प्रभावकारी बनाउनुपर्ने, ठेक्का प्रक्रिया सरलीकरण गरी नीतिगत सुधार गर्नुपर्ने, काम गरेको छोटो अवधिमै प्रदेशका सचिव र प्रशासकीय अधिकृतको सरुवा गर्ने चलन हटाउनुपर्ने, प्रदेश नीति तथा योजना आयोगलाई थप जिम्मेवारी दिनुपर्नेलगायत सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर