काठमाडौं – दक्षिण एसियाली क्षेत्रमा बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता र आपसी अविश्वासले क्षेत्रीय शान्ति, स्थायित्व र विकासमा गम्भीर असर पार्ने खतरा देखिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले गहिरो चासो र चिन्ता व्यक्त गरेको छ।
भारतको जम्मु–कश्मीरस्थित पहलगाममा भएको हिंसात्मक आक्रमणमा नेपाली नागरिकसहित २८ जना पर्यटकको ज्यान गएको घटनाप्रति पार्टीले गम्भीर आपत्ति जनाएको छ। जसपाका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले उक्त आतङ्कवादी तथा मानवता विरोधी घटनाको कडा शब्दमा भर्त्सना गर्दै दक्षिण एसियाली मुलुकहरूलाई आपसी संवाद, कूटनीतिक पहल र सहकार्यबाट समाधान खोज्न आग्रह गरेका छन्।
“आतङ्कवादको कुनै जात, धर्म वा राष्ट्रियता हुँदैन,” भन्दै बस्नेतले आतङ्कवादविरुद्धको साझा संघर्षमा पार्टीको समर्थन र ऐक्यबद्धता रहने स्पष्ट पारेका छन्।
बस्नेतका अनुसार जसपा नेपाल शान्तिपूर्ण सह–अस्तित्व, लोकतान्त्रिक मूल्य र मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ र आगामी दिनहरूमा पनि यिनै मान्यताका आधारमा अघि बढ्ने अठोट लिएको छ।
दक्षिण एसियाली मुलुकहरूबीच बढ्दो तनाव र अविश्वासको यो पृष्ठभूमिमा जसपाले साझा प्रयास र संवादमार्फत क्षेत्रीय शान्ति कायम राख्न सबै पक्षहरूलाई संयमता र जिम्मेवारीका साथ अगाडि बढ्न आह्वान गरेको छ।