सुमेरु पोलिमर्सले थप पुँजी जुटाएर आईपीओ निष्काशन गर्ने , प्रोस्पेरिटी भेञ्चर्ससँग सम्झौता — OSNepal

सुमेरु पोलिमर्सले थप पुँजी जुटाएर आईपीओ निष्काशन गर्ने , प्रोस्पेरिटी भेञ्चर्ससँग सम्झौता

Kesh Karki (USA) May 10, 2025 0

नेपालमै पहिलो पटक पीभीसी, एचडिपिई, सीपीभीसी पाइप तथा फिटिङ्गका सामानहरू उत्पादन गर्ने कम्पनी सुमेरु पोलिमर्स लिमिटेडले आगामी वर्ष सर्वसाधारणमा शेयर निष्काशन गर्ने योजनासहित थप पुँजी जुटाउन आफ्नो कार्य अगाडि बढाएको छ।

वि.सं. २०७४ सालमा प्राइभेट कम्पनीको रूपमा पनौती न.पा. वडा नं. ९, काभ्रेपलाञ्चोकमा करिब ११ रोपनी जग्गामा फ्याक्ट्री स्थापना गरी व्यापारिक उत्पादन गरिरहेको यस कम्पनी चालु आर्थिक वर्षमा पब्लिक कम्पनीमा परिणत भइसकेको छ। हाल रु. १० करोड चुक्ता पुँजी भएको यस कम्पनीले उत्पादन क्षमता वृद्धि संगसंगै जारी पुँजी समेत वृद्धि गरी रु. २७ करोड पुर्‍याई, जारी पुँजीको ३० प्रतिशत अर्थात् रु. ८ करोड १० लाख बराबरको शेयर आगामी आर्थिक वर्षमा सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने योजना राखेको छ।

उद्योग तथा व्यापार क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरूले सञ्चालन गरिरहेको यस कम्पनीले चालु आर्थिक वर्षभित्र नयाँ व्यक्ति तथा संस्थागत लगानीमार्फत रु. ८ करोड ९० लाख थप पुँजी जुटाई संस्थापक समूहको शेयर स्वामित्व रु. १८ करोड ९० लाख पुर्‍याउने तयारीका साथ प्रोस्पेरिटी भेञ्चर्स प्रा.लि.सँग लगानी गर्ने, लगानीका लागि सहजीकरण गरिदिने तथा सार्वजनिक निष्काशनका विषयमा कम्पनीलाई प्रारम्भिक परामर्श दिने कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरेको छ।

उक्त समझदारीपत्रमा सुमेरु पोलिमर्सको तर्फबाट प्रबन्ध सञ्चालक दिवश घिमिरे र प्रोस्पेरिटी भेञ्चर्सका तर्फबाट प्रबन्ध सञ्चालक कमल प्रसाद नेपालले हस्ताक्षर गरेका छन्। सफल उद्यमी एवं व्यवसायिक घरानासँग आवद्ध प्रबन्ध सञ्चालक दिवश घिमिरे कम्पनी स्थापनाको समयदेखि नै प्रमुख प्रवद्र्धक एवं व्यवस्थापकको रूपमा रही कार्य गर्दै आएका छन् भने भेञ्चर्सका प्रबन्ध सञ्चालक कमल प्रसाद नेपाल विगतमा १४ वर्ष बैंकिङ्ग क्षेत्रमा कार्यरत रही पछिल्लो समय १४ वर्षभन्दा बढी एनएमबि क्यापिटल लिमिटेडमा चिफ म्यानेजरदेखि महाप्रबन्धक पदसम्म कार्यरत रहेका थिए। २८ वर्षभन्दा बढी समय बैंकिङ्ग तथा क्यापिटल मार्केटमा कार्य गरेका नेपालसँग धितोपत्रको सार्वजनिक निष्काशनसम्बन्धी कार्यको लामो अनुभव रहेको छ।

पछिल्ला ३ वर्षदेखि लगातार वार्षिक रु. २१ करोडको कारोबार गर्दै आइरहेको यस कम्पनीले थप पुँजी जुटाएपछि उत्पादन वृद्धि तथा बजार क्षेत्रको विस्तार गरी आगामी आर्थिक वर्षमा वार्षिक कारोबार रु. ३० करोड पुर्‍याउने लक्ष्य राखेको छ। हाल कम्पनीको बजार क्षेत्र कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश रहेकोमा आगामी वर्षहरूमा सातै प्रदेशमा आफ्नो बजार क्षेत्र विस्तार गर्ने योजना राखेको छ।

आ.व. २०८०/८१ को वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर नेटवर्थ रु. ११८ रहेको छ भने प्रति शेयर आम्दानी रु. ८.२४ रहेको छ। प्रचलित कम्पनी कानून तथा धितोपत्र सम्बन्धी कानूनमा तोकिएको व्यवस्था बमोजिम यस कम्पनी योग्य भएमा प्रिमियम मूल्यमा समेत सर्वसाधारणमा शेयर निष्काशन गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर