काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म ५०.४५ प्रतिशतले खुद नाफा वृद्धि गर्न सफल भएको छ। कम्पनीले बिहीबार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार सो अवधिमा कम्पनीको खुद नाफा ४६ करोड ५० लाख ६४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३० करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको विद्युत बिक्रीबाट प्राप्त आम्दानी ९२ करोड २७ लाख ६६ हजार रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.०५ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष सो आम्दानी ८७ करोड १ लाख रुपैयाँ थियो। यस्तै, बीमा दाबी अन्तर्गत कम्पनीले ८ करोड ५६ लाख रुपैयाँ प्राप्त गरेको छ। ब्याज खर्च पनि अघिल्लो वर्षको २० करोड ७८ लाख रुपैयाँबाट घटेर १८ करोड १७ लाखमा झरेको छ।
यी वित्तीय सूचकका आधारमा कम्पनीको खुद नाफा उल्लेख्य रूपले वृद्धि भएको देखिन्छ। तेस्रो त्रैमाससम्म कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रुपैयाँ रहेको छ भने रिटेन अर्निङ १ अर्ब १९ करोड रुपैयाँमा पुगेको छ।
कम्पनीको प्रति शेयर आम्दानी (ईपीएस) १७.८७ रुपैयाँ कायम भएको छ भने प्रति शेयर नेटवर्थ १४५ रुपैयाँ ८७ पैसा रहेको छ।
माउन्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाट क्षमताको ताँदीखोला हाइड्रो परियोजना हाल नियमित रूपमा विद्युत उत्पादन गरिरहेका छन्।