ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ — OSNepal

ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

LC (KTM) May 10, 2025 0

गण्डकी, २७ वैशाखः नवौँ संस्करणको पोखरा स्पोट्र्स अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन एवं सुटिङ प्रशिक्षक भगवती खत्री केसीलाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा शुक्रबार पोखरामा आयोजित अवार्ड वितरण समारोहमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले उहाँलाई अवार्ड हस्तान्तरण गर्नुभयो ।

यसअघि अवार्ड छनोट समितिले उक्त अवार्डका लागि केसीको नाम सिफारिस गरेको थियो । नेपाल सुटिङ सङ्घका उपाध्यक्ष केसीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भई विभिन्न पदक हात पारिसक्नुभएको छ । बागलुङकी उहाँ सन् २००० मा सिड्नीमा भएको २७औँ ओलम्पिक खेलमा नेपालका तर्फबाट भाग लिई राष्ट्रिय कीर्तिमान राखनुभएको थियो ।

उहाँले इन्डोनेसियामा सन् १९९५ मा सम्पन्न आठौँ एसियन सुटिङ च्याम्पियनसिप, सन् १९९५ मा भारतको मद्रासमा भएको सातौँ साफ गेम, सन् १९९७ मा भारतको न्यू दिल्लीमा सम्पन्न दोस्रो साफ सुटिङ च्याम्पियनसिप, थाइल्यान्डको बैंककमा सन् १९९८ मा सम्पन्न १३औँ एसियन गेम, काठमाडौँमा सन् १९९९ मा सम्पन्न आठौँ साफ गेम, पाकिस्तानमा सन् २००० मा सम्पन्न नवौँ साउथ एसियन सुटिङ च्याम्पियनसिप, कोलम्बोमा सन् २००६ मा सम्पन्न १०औँ साउथ एसियन गेममा सहभागिता जनाउनुभएको थियो ।

केसीले नवौँ राष्ट्रिय महिला सुटिङ प्रतियोगिता प्रथम, शुभजन्मोत्सव आठौँ सुटिङ प्रतियोगिता २०५१ मा प्रथम, १२औँ राष्ट्रिय सुटिङ प्रतियोगिता २०५३ मा प्रथम, प्रथम खुला सुटिङ प्रतियोगिता २०५१ मा प्रथम, चौथौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०५५ मा प्रथम र पाँचौ राष्ट्रिय प्रतियोगिता दोस्रो स्थान हासिल गर्नुभएको थियो । २०५७ मा गोरखा दक्षिण बाहुबाट सम्मानित उहाँलाई सरकारले २०६३ उत्कृष्ट खेलाडी घोषित गरेको थियो ।

अवार्ड पाउँदा आफूले खेलका लागि बिताएको विगतप्रति गौरवको महसुस भएको उहाँले बताउनुभयो । केसीले खेलकुदमार्फत देशलाई चिनाउन आफूले सक्दो भूमिका निर्वाह गरेको बताउनुभयो । उचित प्रशिक्षण र वातावरण पाएमा नेपाली खेलाडीले सुटिङमा अन्तरराष्ट्रिय पदक जित्न सक्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर