काठमाडौं — संगीतकार तथा गायक राजनराज शिवाकोटी र लोकप्रिय गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘खोली तिरैमा’ सार्वजनिक गरिएको छ। बेलायतमा बसोबास गर्दै आएका गीतकार विनोद सुवेदीको शब्द रहेको यस गीतले ग्रामीण परिवेश र प्रेमको भाव प्रस्तुत गर्दछ।
गीतको भिडियोमा कलाकार रमेश विश्वकर्मा र करिश्मा केसीको अभिनय देख्न सकिन्छ। यो भिडियोमार्फत करिश्माले आफ्नो अभिनय यात्रा सुरु गरेकी हुन् भने रमेशले यसअघि थुप्रै म्युजिक भिडियोमा काम गरिसकेका छन्।
दोलालघाटको रमणीय दृश्यमा छायांकन गरिएको भिडियोमा राजु बस्नेतको निर्देशन तथा सम्पादन रहेको छ। भिडियोलाई आभेश बज्राचार्यले छायांकन गरेका हुन् भने केबिका खत्रीको कोरियोग्राफी र कृष्णमान तामाङको कला निर्देशन रहेको छ।
उक्त भिडियो गीतकार विनोद सुवेदीको अफिसियल युट्युब च्यानल ‘विनोद सुवेदी’ मार्फत सार्वजनिक गरिएको हो। गीत र भिडियो दुवै पक्षले श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने विश्वास गरिएको छ।