भारत–पाकिस्तान युद्धको असरः नेपालमा ह्वात्तै बढ्यो खाद्यान्नको मूल्य, भोकमरीको खतरा ! — OSNepal

भारत–पाकिस्तान युद्धको असरः नेपालमा ह्वात्तै बढ्यो खाद्यान्नको मूल्य, भोकमरीको खतरा !

Kesh Karki (USA) May 10, 2025 0

पाकिस्तान र भारतबीच युद्ध सुरु भएसँगै नेपालमा खाद्यान्नको मूल्य ह्वात्तै बढेको छ । व्यापारीहरूले १५ देखि २० प्रतिशतसम्म मूल्य बढाएका छन् । खाद्यान्नसँगै पेट्रोलियम पदार्थ, ग्यासलगायत सामग्रीको अभाव हुने चर्चा व्यापक रूपमा फैलिएको छ । पेट्रोल, डिजेल नहुँदा त्यसबाट चल्ने सवारीसाधन सडकमै थन्किनेछ ।

मानिसहरूले २० लाखदेखि करोडौं खर्चेर पेट्रोल, डिजेलबाट सञ्चालित गाडी किनेका छन् । नेपालमा पेट्रोलियम पदार्थ भारतबाटै आयात हुने गर्दछ । तर, पाकिस्तान–भारत युद्धको सुरुआतसँगै अब भारतबाट पेट्रोलियम पदार्थ नआउने निश्चितजस्तै देखिएको छ । किनकि भारतमै अहिले खाद्यान्न, पेट्रोल, डिजेल, ग्यास आदिको अभाव हुन थालेको छ ।

यसले गर्दा करोडौं खर्चेर किनेका गाडीहरू घर वा सडकमा थन्किनुबाहेक विकल्प नहुने देखिन्छ । अर्कोतर्फ, खेतीयोग्य जमिन मासेर घर र बाटो बनाइयो । उब्जनी भइरहेका जमिनहरूमा डोजर चलाएर प्लटिङ गरी आना ६० लाखदेखि करोडौंसम्ममा बिक्री गरियो । जब कि पाँच दशकअघि त्यही जमिन रोपनीको दुई हजारमा बिक्थ्यो । स्मरण रहोस्, एक रोपनीमा १६ आना हुन्छ ।

उपत्यकासहित देशभरका खेतीयोग्य जमिनमा घर र बाटो बनाइएका छन् । बाँकी रहेका जमिन पनि बाँझो छन् । अहिलेसम्म त भारतबाट आयात गरिएको खाद्यान्न खाएर हामी नेपाली बाँचिरहेका थियौं । अब भारतले खाद्यान्न निर्यातमै रोक लगाउने संकेत देखिएको छ, जसको प्रत्यक्ष असर नेपालमा पर्न गइरहेको छ । भारतले खाद्यान्न नपठाएपछि यहाँ भोकमरी सुरु हुने निश्चितप्रायः देखिन्छ ।

अब नेपाल सरकारले जनतालाई कसरी पाल्ने ? भन्ने प्रश्न उठेको छ । एकातिर रोजगारी र पैसा छैन, अर्कोतर्फ महँगी र खाद्यान्नको अभाव छ । मुलुकमा भोकमरी मात्र होइन, लुटपाट, हत्या र आत्महत्या अत्यधिक बढ्ने अवस्था आउन सक्छ । किनभने भोकले मानिसलाई जे पनि गराउन सक्छ । भनिन्छ नि, भोकाएको बाघले आफ्नै सन्तानसमेत खान सक्छ ।

नेपालमा पनि त्यस्तै हुने संकेत देखिन्छ । खाना नपाएपछि मानिसले आफ्नो वंश नाश गर्नसमेत समय नलगाउन सक्छन् । अब जनतालाई घरजग्गा, गाडी र सेयर चाहिँदैन, खाद्यान्न मात्र चाहिन्छ । घरबिना बाँच्न सकिन्छ, सडकमा सुतेर भए पनि । गाडीको सट्टा हिँडेर गन्तव्य पुग्न सकिन्छ । सेयर त बेकामकै भयो । तर, खानाबिना मानिस बाँच्न सक्दैन ।

जीवजन्तु होस् या मानव, कोही पनि खानाबिना बाँच्न सक्दैन । अनि मानव शरीरका निम्ति अत्यन्त आवश्यक खाना नै नभए के होला ? भोकभोकै मर्नुबाहेक विकल्प देखिँदैन । सरकार भारतको गुलाम बनिसकेको छ । भारतको फाइदाका निम्ति हिजो खेतीयोग्य जमिन मास्न दियो, अनावश्यक गाडी आयात गर्न दियो । भारतले त आफ्ना जनतालाई पुग्ने खाद्यान्नलगायत सामग्री जोगाएर राखेको छ । अब नेपाल सरकारले के गर्छ ?

हुन त सरकारमा बसेकाहरूको अझै पनि आँखा खुलेको छैन । भारतले आफ्ना स्वार्थका निम्ति नेपालीको रगत बगाउन खोज्दा पनि सरकार मौन छ । राजनीतिक दलहरू विरोध गर्नुको सट्टा उल्टै भारतको समर्थन गरिरहेका छन् । जसले गर्दा नेपाल पनि अब पाकिस्तानको निशानामा पर्न सक्छ । भारत अत्यन्त स्वार्थी राष्ट्र हो ।

हिजो आफ्नो व्यापार बढाउन नेपालको खेतीयोग्य जमिनमा घर र बाटो बनाउन लगायो । राम्ररी चलिरहेका कलकारखाना, उद्योग बन्द गरायो । आफ्नो उत्पादन हामीलाई महँगोमा बेचेर नाफा कमायो । विषादी हालिएका ती खाद्यान्न खाएर कतिपयले ज्यानै गुमाए भने अधिकांश दीर्घरोगी बनेका छन् । यत्तिमात्र होइन, भारतले हाम्रो थुप्रै भूभाग मिचेको छ ।

हाम्रो भूभागमाथि राज गर्दै आएको छ भने अहिले पनि सीमा मिच्ने क्रम जारी छ । भारत यसै ठूलो भएको होइन, अरुको भूभाग कब्जा गरेर ठूलो भएको हो । अहिले सरकारले भारतको साथ दिइरहेको छ । यो नेपाल र नेपालीका लागि खतरायुक्त सावित हुन सक्छ । किनकि पाकिस्तानको भूभाग कब्जा गर्न खोज्ने भारतले भोलि नेपालको भूभाग कब्जा नगर्ला भन्ने के ग्यारेन्टी छ ?

भारत–पाकिस्तान युद्धको प्रभाव नेपालमा देखिन थालिसकेको छ । जनता हुन् वा बैंक, वित्तीय संस्थाको लगानी तीन क्षेत्रमा केन्द्रित छ—घरजग्गा, गाडी र सेयर । अनि युद्धको बेला खान नपाउँदा कसले यी वस्तु किन्ने ? यी बिक्री नहुनासाथ टाट पल्टिने निश्चित छ । सहकारी संस्थाहरूको लगानी पनि यिनै क्षेत्रमा थियो । कोरोना महामारीपछि आएको मन्दीले घरजग्गा, गाडी र सेयर कारोबार सुस्त हुँदा सहकारी भागेका थिए ।

सहकारीमा बचत गरेका निक्षेपकर्ता मर्नु न बाँच्नु अवस्थामा छन् । एउटै व्यक्तिको पाँच हजारदेखि १२ करोड रुपैयाँसम्म सहकारीमा फसेको छ । हजारौं सहकारीमा खर्बौं रकम डुबेको छ । अब बैंकहरूको पालो आएको छ । बैंक टाट पल्टिनेबित्तिकै सहकारीभन्दा दोब्बर–तेब्बर जनता डुब्नेछन् । त्यसैले, अहिले चलाख व्यक्तिहरूले बैंकमा जम्मा गरेको रकम निकाल्न थालेका छन् ।

जनता त डुबेपनि केही हदसम्म चल्छ, तर सरकार डुबेमा के होला ? कुनै पनि देश तब बलियो हुन्छ, जब त्यहाँको सरकार आर्थिक रूपमा मजबुत हुन्छ । हाम्रो त सरकार नै टाट पल्टिने अवस्थामा पुगेको छ । राजस्व उठ्न छोडिसकेको छ । सरकारले राजस्वको प्रमुख स्रोत बनाएको घरजग्गा, गाडी र सेयर कारोबार केही वर्षदेखि सुस्त बनेको छ ।

अहिले त सरकार विदेशी ऋणको भरमा देश चलाइरहेको छ । विदेशीसँग हात थापेर ल्याएको पैसाले सरकारी कर्मचारी र जनप्रतिनिधिलाई तलब भत्ता दिइरहेको अवस्था छ । तर, अब विदेशीले समेत ऋण दिने सम्भावना न्यून देखिन्छ । किनकि नेपालको आर्थिक अवस्था अधिकांश मुलुकले थाहा पाइसकेका छन् । हाल विदेशी ऋण २७ खर्ब नाघिसकेको छ ।

त्यसको साँवाब्याज तिर्न पनि अहिले सरकारसँग पैसा छैन । देशभित्रै पनि सरकार ऋणको पासोमा छ । निर्माण व्यवसायीको ४५ अर्ब, दूध र उखु किसानको सात अर्ब, कोरोना बीमाको २४ अर्ब भुक्तानी दिन सकिएको छैन । भुक्तानी दिइओस् पनि कसरी, जब राज्यको ढुकुटीमा पैसा नै छैन । अब सरकारले बैंकको पैसा चलाउँछ भन्ने धेरैको अनुमान छ ।

यसैले, बैंकमा भएको आफ्नो रकम धमाधम निकालिरहेका छन्, जनता । देश सुध्रिने होइन, अब झन् बिग्रिँदै जाने देखिन्छ । भारत–पाकिस्तान तनावले अरू केही नभए पनि नेपालको आँखा भने पक्कै खोलिदिनेछ । अब सरकार र जनताले खेतीयोग्य जमिनको महत्त्व बुझ्नेछन् । तर, त्यो बेला धेरै ढिलो भइसकेको हुनेछ । दशकअघि मकैको ढोड, छालि, दाउराले खाना पकाइन्थ्यो ।

जमिनमा घर होइन, खेतीपाती गरिन्थ्यो । त्यतिबेला अहिलेजस्तो आकर्षक घर थिएनन्, गाडी थिएन । तर, नेपाल र नेपाली आत्मनिर्भर थिए । खाद्यान्नका लागि कसैको भर पर्नु पर्दैनथ्यो । अहिले त गुन्द्रुकसमेत विदेशबाट आयात गरिन्छ । अनि आकर्षक घरको के फाइदा ? जबकी भोक लाग्दा खान अन्न नै चाहिन्छ । नेता र सरकार आफ्ना जनता र देशप्रति बफादार नभई भारतले जे भन्यो, त्यही गर्दा देश संकटमा परेको हो ।

– रुषा थापा, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर