भारतको समर्थनपछि विदेशमा रहेका नेपाली र तिनका आफन्त चिन्तामा, उनीहरूमाथि आक्रमण भएमा कसले लिने जिम्मा ? — OSNepal

भारतको समर्थनपछि विदेशमा रहेका नेपाली र तिनका आफन्त चिन्तामा, उनीहरूमाथि आक्रमण भएमा कसले लिने जिम्मा ?

Kesh Karki (USA) May 10, 2025 0

सुनौलो भविष्यको सपना बोकेर नेपालीहरू विभिन्न मुलुक पुगेका छन् । हुनेखानेहरू शिक्षाका लागि विकसित मुलुक गएका छन् भने निम्न आर्थिक हैसियत भएका खाडी मुलुक छिरेका छन् । तर, बारम्बार भइरहने युद्धका कारण यहाँ रहेका परिवारहरू निकै चिन्तित छन् । इजरायल र प्यालेस्टाइनबीचको युद्धमा धेरै नेपालीको ज्यान गएको छ ।

केही परिवार अझै पनि आफ्ना सन्तानको पर्खाइमा छन् । हाल दुई छिमेकी भारत र पाकिस्तान युद्धमा होमिएका छन् । दुवै मुलुक एक अर्कालाई सिध्याउन लागिपरेका छन् । दुईबीच तनाव बढिरहँदा नेपालले भारतको पक्ष लिएको छ । राजनीतिक पार्टीहरूले पनि भारतकै समर्थनमा आवाज उठाइरहेका छन् ।

नेपाल एउटा तटस्थ राष्ट्र हो । युद्धमा सधैं मौन बस्ने नेपालले यसपटक मुख खोल्यो । नेपालले भारतको पक्ष लिनेबित्तिकै विभिन्न मुलुकमा रहेका नेपालीहरू तनावमा परेका छन् । बुढापाकाहरू भन्छन्, “हुलमुलमा ज्यान जोगाउनू, अनिकालमा बीऊ ।” प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले यति सामान्य कुरा बुझेनन् ।

पाकिस्तानमा सयौं संख्यामा नेपाली छन् । पाकिस्तानमाथिको आक्रमणपछि त्यहाँ रहेका नेपालीहरूले आफूहरूलाई फर्काइदिन आग्रह गरिरहेका छन् । तर, तत्काल उनीहरूलाई फर्काउन सक्ने अवस्था छैन । आफ्ना नागरिक भएको थाहा हुँदाहुँदै सरकारले मुख खोल्नु हुन्छ ? आफ्नो कदमले नेपाली नागरिक खतरामा पर्न सक्छन् भन्ने सोच्नु पर्दैन ?

पाकिस्तान मात्र होइन, इस्लाम धर्म मान्ने मुलुकहरूमा समेत नेपालीहरूलाई खतरा भएको छ । साउदी अरेबिया, कुवेत, कतार, मलेसिया, दुबई इस्लामिक देशहरू हुन् । ती देशमा ठूलो संख्यामा नेपाली काम गर्न गएका छन् । सरकार र राजनीतिक दलहरूले आफ्नो फाइदाका लागि जनतालाई प्रयोग गरेको प्रष्टै देखिएको छ ।

भोलि उनीहरूले नेपालीमाथि हमला गरे भने त्यसको जिम्मा कसले लिन्छ ? त्यतिबेला सरकार र राजनीतिक दलहरूले त्यसको जिम्मा लिनुपर्छ । कतिपय विषयमा मौन बस्न नै राम्रो हुन्छ । तर, सरकारलाई घोषणा गर्न हतार भयो । इस्लामिक देशमा ठूलो संख्यामा नेपाली रहेको थाहा हुँदाहुँदै सरकारले चालेको कदमको परिणाम अब जनताले भोग्नुपर्ने भएको छ ।

मुसलमानहरू पनि रोजगारी र शिक्षाका लागि विभिन्न मुलुक गएका छन् । मुसलमानलाई इस्लाम र आफ्नो देश सबैभन्दा प्यारो हुन्छ । नेपालले भारतलाई समर्थन गरेपछि उनीहरूले अब नेपालीलाई छोड्छन् ? इस्लामिक देशमा मात्र होइन, अन्य देशमा रहेका नेपालीहरू पनि जोखिममा छन् ।

पाकिस्तानले नेपालको केही पनि बिगारेको छैन । न पाकिस्तान हाम्रो सीमासँग जोडिएको छिमेकी हो । भारत हाम्रो छिमेकी भए पनि उसले कहिल्यै हामीलाई राम्रो नजरले हेरेन, न राम्रो व्यवहार ग¥यो । भारत रिसाएको बित्तिकै हामीमाथि नाकाबन्दी लगाइदिन्छ ।

२०४५ सालमा भारतले नेपालमा नाकाबन्दी गरेपछि जनताले धेरै दुःख पाए । तत्कालीन प्रधानमन्त्री मरिचमानले “म भारतसँग झुक्दिन” भनेर चीनबाट सामान आयात गरेर नेपालीलाई खुवाए । तर, एक सुको पनि मूल्य बढाएनन् । २०७२ सालमा भएको नाकाबन्दी त अझै पनि हाम्रो मस्तिष्कमा ताजा छ ।

असोज ३ गते संविधान बनेपछि चित्त दुखाएको भारतले हामीमाथि नाकाबन्दी लगायो । त्यतिबेला नेपालीहरूले सहेको दुःखको वर्णन गर्न पनि सकिँदैन । संविधान बनाउनु हाम्रो अधिकार हो । हामीले संविधान बनाउँदा भारतलाई के को टाउको दुःखाइ ? त्यतिबेला भारतको विरोध गरेर केपी शर्मा ओली चर्चामा आए ।

अहिले उनकै सरकारले भारतको समर्थन गरिरहेको छ । आफ्नो फाइदाका लागि नेताहरूले के सम्म गर्छन् ? यो एउटा उदाहरण नै पर्याप्त छ । भारतको कब्जामा नेपालको धेरै भूभाग छ । लिपुलेक, लिम्पियाधुरा, कालापानी, टनकपुर, सिक्किम, दार्जिलिङ भारतको कब्जामा छन् ।

त्यहाँ अझै पनि नेपाली नै बोलिन्छ । भारतले धमाधम नेपालको सिमाना कब्जा गरिरहेको छ । खोलानाला भारतकै कब्जामा छन् । भारतीय सेना र प्रहरीहरूले अनुमतिबिना नेपाल छिर्छन् । केही भएपछि भारतले नेपाललाई धम्क्याउन थालिहाल्छ । अनि अझै पनि नेपालका राजनीतिक दल भारतको समर्थनमा ?

फेरि पनि सरकारमा जान पाइन्छ कि भनी माओवादीले भारतलाई समर्थन गरेको विषयमा दुईमत छैन । अन्य राजनीतिक पार्टीहरू पनि भारतबाटै सञ्चालन भइरहेका छन् । उनीहरूले आफ्नो मातृभूमिभन्दा माथि भारतलाई राखेका छन् । सरकारले आफ्नो भूभाग फिर्ता माग्ने कि हामी पनि भारतको पक्षमा छौं भन्ने ?

वास्तवमा भन्ने हो भने काँग्रेस, एमाले, माओवादीले कहिल्यै पनि देश र जनताको बारेमा सोचेनन् । यिनै कारण नेपाल भारतको दासी बनेको हो । भारतलाई खुसी पार्न नेपालको भूभाग भारतलाई दिए । अनि सरकारमा जान्छन्, नेपालको कलकारखाना बन्द गरेर भारतलाई व्यापारको बाटो खोलिदिन्छन् ।

नेता नाममा यस्ता ‘दलाल’ का कारण मुलुक तहसनहस बनेको छ । उनीहरूलाई आफ्नो जनताभन्दा पद प्यारो छ । भोलि दुई मुलुकबीचको हमलामा नेपालीको ज्यान गयो भने जनताले यिनीहरूलाई छोड्दैनन् । शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, केपी शर्मा ओली, बाबुराम भट्टराईलगायत कसैलाई पनि जनताले देशमा बस्न दिने छैनन् ।

यिनीहरू भारतका कार्यकर्ता हुन् भन्ने कुरा अब घामजस्तै छर्लङ्ग भइसकेको छ । भनिन्छ नि, “झुठ जति ढाकछोप गरे पनि एक दिन निस्किन्छ ।” यत्रो वर्ष भारतको विरोध गरेर पदमा पुगेका नेताहरूको असली रूप देखिएको छ । जनताले बुझिसकेका छन्—यिनीहरू नाम मात्रका नेपाली नेता हुन् ।

हुन त विगतको साइनो अझै पनि बिर्सिएको छैन होला । हिजो भूमिगतको पालामा भारतमै लुकेकाहरूले यति छिटो त्यो सम्बन्ध बिर्से भनेर मान्न गाह्रो छ । नेपालको राजनीतिमा भारतको निकै हस्तक्षेप छ । भारतले नेपाललाई आफ्नो देशको टुक्राजस्तै व्यवहार गरिरहेको छ । अहिलेसम्म जनता चुप लागे, अब लाग्ने छैनन् ।

हामीले हाम्रो देश र जनताको विषयमा आफैंले निर्णय गर्न पाउनुपर्छ । भारतको स्वीकृतिबिना यहाँ एउटा निर्णय पनि गर्न पाइँदैन । यस्तो अवस्थामा देश कसरी चल्छ ? अंग्रेजहरूले समेत शासन गर्न नसकेको देशमाथि भारतले अदृश्य शासन गरिरहेको छ । नेपालीलाई स्वतन्त्र नेपाल चाहिएको छ ।

बाबुराम भट्टराईले प्रधानमन्त्री हुँदा भनेका थिए, “प्रधानमन्त्री म छु, तर सरकार चलाउने अर्कै छन् ।” यसको अर्थ टिभी नेपालमा छ, रिमोट चाहिँ भारतको हातमा छ भन्ने हो । छिमेकी भएर के गर्नु, भारतले कहिल्यै नेपाललाई समृद्ध बनोस् भन्ने चाहना गरेन । भारतकै कारण नेपाल आत्मनिर्भर हुन सकेन ।

भारतले जे भन्यो, नेताहरूले त्यसै गर्दै गए । अहिले भारतले नेपाललाई आफ्नो बजार बनाएको छ । भारतले नाकाबन्दी गरिदियो भने नेपालीहरू भोकभोकै मर्नुपर्ने स्थिति आउँछ । जनताले भारतको विरोध गर्न थालिसकेका छन् । किनभने जनताले भारतको चालबाजी बुझिसकेका छन् ।

आफूलाई अप्ठेरो परेको बेला साथ खोज्ने अनि अन्य बेला फर्किएर पनि नहेर्ने भारतबाट सरकारले आफ्नो भूभाग फिर्ता ल्याउनुपर्छ । भारतको विरोध गरेर काँग्रेस र एमालेले पञ्चायती व्यवस्था हटाएर बहुदलीय व्यवस्था ल्याए । त्यस क्रममा धेरै नेपालीको ज्यान गयो । माओवादीले पनि त्यही गर्‍यो ।

भारतको विरोधमा २०५२ फागुन १ गते हतियार उठायो । १० वर्षे जनयुद्धमा १७ हजार नेपालीले ज्यान गुमाए । काँग्रेस–एमाले वा माओवादीका नेताहरूले भारतबाटै हतियार ल्याए, उनीहरू भने त्यतै लुके । त्यसैले अहिले उनीहरूले भारतकै साथ दिइरहेका छन् । पहिले भारतले हाम्रो भूमि कब्जा गर्‍यो, नेपाललाई व्यापार गर्ने थलो बनायो, अहिले नेपालीको ज्यान खतरामा पार्दैछ ।

जनताले तिरेको कर, रेमिट्यान्स, २७ खर्ब वैदेशिक ऋण खप्ने यी तीन प्रमुख दल हुन् । देशको भूभाग छिमेकीलाई बेच्ने पनि यिनीहरू नै हुन् । अब जनताले आफ्नो आँखामा बाँधिएको पट्टी खोल्नुपर्छ । यिनीहरूको विरोध गर्नुपर्छ ।

– अनुसा थापा, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर