वीरगञ्ज, २७ वैशाख – खानेपानी मन्त्री प्रदीप यादवले देशभरका खानेपानी आयोजना उच्च प्राथमिकतामा राखी आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त रकम विनियोजन गरिने बताएका छन्। वीरगञ्ज महानगरपालिका–१६ स्थित नगवामा ओभरहेड ट्याङ्कीको शिलान्यास गर्दै मन्त्री यादवले सबै नागरिकलाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउनु सरकारको प्राथमिक लक्ष्य भएको स्पष्ट पारे।
“नागरिकलाई शुद्ध सुरक्षित खानेपानी वितरण गर्नु मेरो प्रमुख लक्ष हो,” मन्त्री यादवले भने, “खानेपानीको पहुँच वृद्धि गर्दै स्थानीय तह र उपभोक्ताको सहलगानीमा आयोजना एकीकृत रुपमा सञ्चालन हुनेछ।”
मन्त्री यादवका अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ मा खानेपानी तथा सरसफाइ क्षेत्रमा लगानी वृद्धि गरी दिगो विकासको लक्ष्य हासिल गरिनेछ। उनले सबै भू–भागका नागरिकलाई गुणस्तरीय खानेपानी पुर्याउन मन्त्रालय पूर्ण रुपमा क्रियाशील रहेको बताए।
शिलान्यास गरिएको नगवा ओभरहेड ट्याङ्की आयोजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। मन्त्री यादवले नियमित अनुगमन गरेर समयमै निर्माण सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे।
“मेरो निर्वाचन क्षेत्रका जनतालाई लाभ पुग्ने ऐतिहासिक आयोजना शिलान्यास गर्न पाउँदा गर्व लागेको छ,” मन्त्रीले भने, “पानी पनि गास, बास, कपडाजस्तै आधारभूत हक हो र आज हामी त्यो हक सुरक्षित गर्न एक कदम अघि बढेका छौं।”
खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकालका अनुसार आयोजनाबाट वडा नं १५ र १६ का करिब ३ हजार ५ सय घरधुरी लाभान्वित हुनेछन्। उनले आयोजनापछि क्षेत्रका नागरिकलाई सहज, शुद्ध र पर्याप्त पानी आपूर्ति हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंह, वडा नं १६ की सदस्य लवङ्गी देवी, वीरगञ्ज–१५ का अध्यक्ष रमेश यादव, वडा नं १६ का सदस्य प्रमोद यादव, जसपा जिल्ला अध्यक्ष तथा बहुदरमाई नगर प्रमुख सिंघासन साह तेली, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, जसपा केन्द्रीय सदस्य जन्नत अंसारी, पुरषोत्तम लाल झा लगायतको उपस्थिति रहेको थियो।