न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा आयोजना गरिएको फस्ट टप शप काठमाडौं ८८४८ म्युजिक एण्ड फिल्म अवार्ड २०२५ युएसएमा गायक रामजी खाँड र गायिका सुनिता दुलाल उत्कृष्ट गायक/गायिका घोषित भए। गायक खाँडले ‘बन्दिपुरे सोल्टिनी’ गीतबाट अवार्ड चुमे भने गायिका दुलालले ‘नबोल अरुसँग’ गीतबाट अवार्ड चुम्न सफल भइन्।
लाइफटाइम अचिभमेन्ट अवार्डबाट संगीतरत्न शम्भूजित बासकोटा र पपसम्राट ओमविक्रम विष्ट सम्मानित भए। संगीत क्षेत्रमा पाँच दशकसम्म निरन्तर योगदान दिएको भन्दै एक हजार डलरसहित उक्त अवार्ड प्रदान गरिएको आयोजकमध्येका एक गायक राजेश हमालले जानकारी दिए।
अवार्डको आयोजकहरूमा रेवेल इभेन्ट्सका तर्फबाट राजेश हमाल, इट्ना कार्की, निश्चल वाइबा, बुद्ध ट्याक्स एकाउन्टिङ्गका पशुपति श्रेष्ठ, सतीसाल इन्टरनेसनल एलएलसीका लकेश श्रेष्ठ र सजना महर्जन रहेका थिए। कार्यक्रम अमेरिकी तथा नेपाली राष्ट्रगानबाट सुरु गरिएको थियो।
उक्त कार्यक्रममा दीपेशकिशोर भट्टराई, मदनसिंह नेपाली, मोहन भुसाल, रीमा गुरुङ होडा, मालिका कार्की, सन्तोष लामा, अनिश (ओकली) र सशी रावलले गायन प्रस्तुति दिएका थिए।
निर्देशक शंकर घिमिरेले चलचित्र ‘तेल भिसा’का लागि उत्कृष्ट निर्देशकको अवार्ड पाए। सोही चलचित्रबाट अभिनेत्री ऋचा घिमिरे सहायक अभिनेत्री घोषित भइन् भने अन्जय खड्काले उत्कृष्ट सम्पादनको अवार्ड चुमे। नायिका निति शाह ‘ज्वाईँ साहेब’का लागि उत्कृष्ट नव–अभिनेत्री बनिन् भने चलचित्र ‘ह्वस्व दीर्घ’बाट प्रशान्त ताम्राकार उत्कृष्ट खलपात्र घोषित भए। अवार्ड महानायक राजेश हमालको हातबाट प्रदान गरिएको थियो।
चलचित्र ‘पूर्णबहादुर सारङ्गी’ ब्लकबस्टर चलचित्र घोषित हुँदै चार विधामा अवार्ड जित्न सफल भयो। अभिनेता विजय बराल उत्कृष्ट अभिनेता घोषित भए। उक्त चलचित्रको ‘रैयाँ चाँदी’ गीतबाट संगीतकार आशिष अविरल उत्कृष्ट पार्श्वगायक र प्रशान्त शिवाकोटी उत्कृष्ट संगीतकार बने।
चलचित्र ‘छक्कापञ्जा ५’ बाट केदार घिमिरे उत्कृष्ट हास्यकलाकार, ‘बेहुली फ्रॉम मेघौली’बाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भइन्। चलचित्र ‘महाजात्रा’बाट पुरुषोत्तम प्रधान उत्कृष्ट छायाँकार र चलचित्र ‘शाम्भाला’ उत्कृष्ट चलचित्र घोषित भयो।
नवनायकको अवार्ड चलचित्र ‘बाह्रगाउँ’बाट समीर भट्टले पाए भने गायिका समीक्षा अधिकारी चलचित्र ‘बोक्सीको घर’बाट उत्कृष्ट पार्श्वगायिका बनिन्। चलचित्र ‘पूजार सार्की’बाट आर्यन सिग्देल सह–अभिनेता घोषित भए भने दयाहाङ राई पपुलर अभिनेता अफ दि इयर र ‘रुकुमैकोट’ पपुलर चलचित्र गीत बन्यो।
संगीत विधामा ‘इतिहास तिम्रो मेरो’बाट आश्रा कुँवर र नितेशजंग कुँवर उत्कृष्ट युगल गायन अवार्ड विजेता बने। ‘बार्दली’ गीतबाट सुशान्त केसी उत्कृष्ट गायक, ‘नाम के हो भन’ गीतबाट तिर्सना गुरुङ उत्कृष्ट गायिका घोषित भइन्।
‘कश्मिरी पछ्यौरी’बाट बाबुकृष्ण परियार सर्वोत्कृष्ट लोकदोहोरी गायक, ‘मायालाई पानको पात’ गीतबाट खेम सेन्चुरी र दिपिका बयम्बु उत्कृष्ट युगल लोकदोहोरी गायन विजेता बने।
‘आगो लाइदिन्छु’ गीतबाट राहुल शाह पपुलर म्युजिक भिडियो कोरियोग्राफर, दुर्गेश थापाको ‘दुश्मन हेरेको हेरै’ वर्षको पपुलर गीत, ‘चिलमा’ गीतबाट जीवब उत्कृष्ट र्यापर बने।
पपुलर म्युजिक भिडियो ‘बार्दली’ बन्यो भने उत्कृष्ट म्युजिक भिडियो निर्देशक ‘कुनै दिन’ बाट सुब्रतराज आचार्य भए। शान्तिश्री परियारले ‘गोर्खे खुकुरी’ गीतबाट उत्कृष्ट लोकदोहोरी गायिका, अकेशा विष्ट (तिमीलाई) पपुलर म्युजिक भिडियो मोडल, कृष्ण भण्डारी (एक्लै भएँ नि) पपुलर भिडियो सम्पादक, रुपेश थापा (दुश्मन हेरेको हेरै) पपुलर छायाँकार बने।
विशेष योगदान अवार्ड नवराज श्रेष्ठ, जुब्ली शेर्पा र कस्टम डिजाइनर शम्भू पुरीलाई प्रदान गरियो भने गीतकार रविकिरण अधिकारीलाई जुरी अवार्ड प्रदान गरियो।
सम्मानित हुनेहरूमा गायक प्रकाश गुरुङ, संगीतकार मदन सिंह नेपाली, गायक प्रकाश श्रेष्ठ, निर्देशक नारायण पुरी, अभिनेता सुशील क्षेत्री, अभिनेत्री पूजा चन्द, गायक राम श्रेष्ठ, गायिका बीमा कुमारी दुरा, फोटोग्राफर राजिव श्रेष्ठ, गायिका सपना परियार, संगीतकार राजेन्द्र कर्ण र न्हुच्छे डंगोल रहेका थिए।
विदेशमा रहेका नेपाली संगीतका गोल्डेन स्टारहरू राजु लामा (एन्जल ब्याण्ड), दीपेश किशोर भट्टराई, जेम्स प्रधान, सञ्जीव प्रधान, रीमा गुरुङ होडा, हरी कर्माचार्य, तिलक बम मल्ल, अनिश ओकली र मोहन भुसाललाई पनि सम्मान गरिएको थियो।
अवार्डको टाइटल स्पोन्सर टपशप काठमाडौं रहेको थियो। टपशपको तर्फबाट सुवास श्रेष्ठ र तेम्बा एन. लामा उपस्थित थिए। सह–प्रायोजकमा समिप इन्टरटेनमेन्ट, प्रवद्र्धक एक्स रियालिटी (सिर्जना पौडेल), प्रायोजक द थ्रीडी क्रिस्टल रहेका थिए।
इभेन्ट्स पार्टनरहरूमा एसेन्स स्माइल्स, मामा भान्जा ग्रुप, सुबी इन्टरटेनमेन्ट, यात्री र सुनौलो इभेन्ट रहेका थिए। इभेन्ट्स संयोजकमा जेम्स प्रधान र सूर्य सिंखडा थिए भने सल्लाहकारमा कृष्ण मल्ल, रविन्द्र खड्का र छेवाङ शेर्पा रहेका थिए। निर्णायक मण्डलमा पत्रकार भरत शाक्य, वरिष्ठ ड्रमर देव राना र चलचित्रकर्मी राजेश महर्जन सहभागी थिए।