पोखरा–३ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न, कास्की कांग्रेसले सुझाव संकलनलाई तीव्रता — OSNepal

पोखरा–३ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न, कास्की कांग्रेसले सुझाव संकलनलाई तीव्रता

Kesh Karki (USA) May 10, 2025 0

पोखरा, २८ वैशाख । नेपाल परिवार नियोजन संघ कास्कीको आयोजनामा तथा पोखरा महानगरपालिका वडा नं ३ को सहकार्यमा शनिबार यौन तथा प्रजनन स्वास्थ्य शिविर एवं जनचेतना कार्यक्रम सम्पन्न भएको छ। पोखरा–३ स्थित नदीपूरको बाल मन्दिर माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा ५७ जना स्थानीयवासी लाभान्वित भएका छन्।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश नीति तथा योजना आयोगकी सदस्य दुर्गा लामिछानेले गर्नुभयो। उहाँले स्वास्थ्य र सामाजिक क्षेत्रका लागि उपयोगी हुने गरी योजना निर्माणमा प्राथमिकता दिने बताउँदै जनताको आवश्यकतालाई बुझेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले महिलाहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। कार्यक्रममा पोखरा–३ का वडा अध्यक्ष प्रकाश उदासले आफ्नो वडाले शिक्षा र स्वास्थ्यलाई सधैं प्राथमिकतामा राखेको बताउनुभयो।

शिविरमा नेपाल परिवार नियोजन संघका निवर्तमान महासचिव अर्जुन सिग्देल र वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. कालिका भण्डारीले समेत मन्तव्य राख्नुभएको थियो। कार्यक्रम सभापति नवीन सिग्देलको अध्यक्षता र वरिष्ठ शाखा प्रवन्धक नवराज तिवारीको सञ्चालनमा सम्पन्न भएको हो।

यसैबीच, नेपाली कांग्रेस कास्कीले आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम निर्माणको सन्दर्भमा पोखराको आवश्यकता समेटिने गरी विभिन्न पक्षसँग छलफल गर्दै सुझाव संकलनलाई तीव्र बनाएको छ।

शनिबार पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूसँग विशेष छलफल गरिएको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि वडा सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र उद्योग–व्यवसायीहरूसँग पनि छलफल भइसकेको छ।

सुझाव संकलन कार्यक्रम नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर