पोखरा, २८ वैशाख । विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखरामा अनुसन्धान विधिसम्बन्धी पाँच दिवसीय तालिम शुक्रबारदेखि सुरु भएको छ। अनुसन्धान व्यवस्थापन एकाइको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम सञ्चालन गरिएको हो।
तालिमको उद्घाटन समारोहमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारीले उच्च शिक्षामा अनुसन्धान पद्धति र नीति निर्माणमा यसको भूमिकामाथि प्रकाश पार्दै यस्ता कार्यक्रमले शैक्षिक उत्कृष्टता र नवप्रवर्तनमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
उद्घाटन सत्र अनुसन्धान व्यवस्थापन एकाइका संयोजक सह–प्रा. डा. चुडामणि कडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा विद्यापीठका पूर्व प्राचार्य प्रा. श्रीराम बराल, निवर्तमान प्राचार्य प्रा. डा. जगन्नाथ रेग्मी, अंग्रेजी विभाग प्रमुख प्रा. सत्यराज सुवेदी, वर्तमान प्राचार्य सह–प्रा. आनन्दमणि रिजाललगायतले तालिमको सफलताको शुभकामना व्यक्त गरे।
कार्यक्रममा पोखरास्थित पृथ्वीनारायण, कन्या, कालिका लगायत क्याम्पसका प्राध्यापक, विद्यापीठका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन सत्रपछि सम्पन्न कार्यशालाका सत्रहरूमा प्रा. श्रीराम बराल र सह–प्रा. डा. भोलानारायण रेम्मीले अध्यक्षता गरेका थिए। सहजीकरणको जिम्मेवारी पृथ्वीनारायण क्याम्पसका अंग्रेजी शिक्षा विभाग प्रमुख सह–प्रा. डा. नवराज न्यौपाने र पिण्डेश्वर विद्यापीठका व्याकरण विभाग प्रमुख सह–प्रा. डा. भवानीशंकर भट्टराईले सम्हालेका थिए।
आगामी वैशाख ३० गतेसम्म चल्ने तालिममा प्राज्ञिक अनुसन्धान विधिसम्बन्धी १० कार्यपत्र प्रस्तुतिसहित विभिन्न कार्यशालाहरू सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।
कार्यक्रम सदस्य सचिव उप–प्राध्यापक प्रकाश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो भने सहभागीलाई अनुसन्धान व्यवस्थापन एकाइका सदस्य सह–प्रा. डा. योगराज पौडेलले स्वागत गरेका थिए।